लोड हुँदैछ...

मेनु

जसपा विवाद

कोशीको सांसदमा लिम्बूलाई हटाएर राईलाई ल्याउने तयारी

कोशीको सांसदमा लिम्बूलाई हटाएर राईलाई ल्याउने तयारी

विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बुलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले पदमुक्त गर्ने तयारी गरेको छ । लिम्बूलाई दल विभाजनमा सङ्लग्न भएको र पार्टीको निर्देशन विपरीत कार्य गरेको आरोप लागेको जसपा कोशीका अध्यक्ष दिपक याख्खाले बताए ।

लिम्बू जसपा विभाजन हुँदा अशोक राईको पार्टीमा लागेकी थिइन् । उनले अशोक राई नेतृत्वको समूहले पार्टी फुटाएर नयाँ दल गठन गर्दा सनाखतसमेत गरेकी थिइन् । सर्वोच्च अदालतले पार्टी विभाजनको विवादमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको पक्षमा फैसला सुनाएपछि लिम्बूलाई हटाउन लागिएको हो । गत बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको पूर्ण इजलासले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई नै आधिकारिकता दिने गरी रिट जारी गर्ने निर्णय सुनाएको थियो ।

निर्वाचन आयोगले अशोक राईको समूहलाई नयाँ दलको रूपमा मान्यता दिएको निर्णयलाई चुनौती दिँदै यादवले सर्वोच्चमा रिट दायर गरेका थिए । अदालतको यो फैसलासँगै अब उपेन्द्र यादव नेतृत्वको पार्टीले आफ्ना पुराना संरचना र निर्णयहरूलाई पुनः सक्रिय बनाउनुका साथै अर्को पक्षमा लागेका जनप्रतिनिधिहरूमाथि कानुनी डण्डा चलाउने बाटो खुलेको छ । लिम्बू कोशी प्रदेशसभामा जसपा नेपालको तर्फबाट निर्वाचित एकमात्र सांसद हुन् । अशोक राई नेतृत्वको समूहले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ ।

प्रदेशका अध्यक्ष याख्खाले सांसद लिम्बुलाई अनुशासनको कारबाही गरी हटाउने निश्चित रहेको बताए । ‘हामी अहिले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ कुरेर बसिरहेका छौँ,’ याख्खाले भने, ‘फैसलाको पूर्ण पाठ आउनेबित्तिकै हामी निर्वाचन आयोगमा पत्र पठाउँछौँ । उहाँलाई हटाएपछि आयोगमा बुझाइएको समानुपातिक बन्द सूचीको दोस्रो नम्बरमा रहेका उम्मेदवारलाई सांसदका लागि सिफारिस गर्ने हाम्रो योजना छ ।’

विराटनगरकी कुन्ता राई सांसद बन्ने

प्रदेश अध्यक्ष याख्खाले भनेअनुसार अब विराटनगर–१२ की कुन्ता राई सांसद बन्ने पक्का भएको छ । राई जसपा नेपालकी केन्द्रीय सदस्य हुन् । तत्कालिन एमालेका उपाध्यक्षसमेत रहेको अशोक राईले नेकपा एमाले विभाजन गर्दै २०६९ मा संघीय समाजवादी पार्टी गठन गरेपछि कुन्ता पनि सोही पार्टीमा आवद्ध भएकी थिइन् । त्यसपछि अशोक राई र उपेन्द्र यादवबीच पार्टी एकता गर्दा उनी पनि एकतापछि बनेको जनता समाजवादी पार्टीमा आवद्ध भइन् । सो पार्टीको विराटनगर समिति सदस्य, जिल्ला समिति सदस्य हुँदै उनी केन्द्रीय सदस्य बनेकी हुन् । आफू राजनीतिकसँगसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहेको बताउँदै उनले आफू सांसद बन्ने विषयमा ढुक्क रहेको बताइन् । ‘बन्द सूचीमा १ नम्बरमा उहाँ हुनुहुन्थ्यो । दोस्रो नम्बरमा मेरै नाम छ । पार्टीले उहाँलाई कारबाही गरेर मलाइ नै पठाउँछ भन्नेमा म विश्वस्त छु,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।