एमाले विराटनगरको प्रतिबद्धता पत्र सार्वजनिक

‘नयाँ बोतलमा पुरानै रक्सी !’

विराटनगर । नेकपा एमाले विराटनगरले सय बँुदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । बुधवार एक कार्यक्रम आयोजना गरी एमाले महानगर कमिटीले प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।

महानगरले सार्वजनिक गरेको घोषणा पत्रमा समृद्ध विराटनगर बनाउने खास कुनै नयाँ योजना छैनन् । प्रतिवद्धतापत्र उही पुरानै शैली र ढर्रामा झाराटार्ने ढंगले तयार पारिएको छ । औद्योगिक सहरका रूपमा चिनिएको विराटनगरलाई खास महत्व दिएको छैन । नेपाल सरकारको सुख्खा बन्दरगाह सम्बन्धी योजनालाई नै आफ्नो योजनाको रुपमा अथ्र्याउने प्रयत्न गरेको छ ।

उज्यालो विराटनगर अन्तर्गत घोषणा पत्रमा दुई वर्षभित्रमा मुख्य सडकहरूमा सौर्य सडक बत्ती जडान गर्ने उल्लेख गरेको छ । जबकी नेपालमा विद्युत पर्याप्त उपलब्ध हुने भएकोले सौर्य बत्तिमा लगानी गर्न सरकारले निरुत्साहित गर्दै आएको छ ।

महानगरका मेयरका उम्मेदवार सागर थापाले स्थानीय स्रोत साधनको उचित प्रयोग गर्ने बताउदै आएका छन् । तर, एमालेको प्रतिवद्धता पत्रमा भने निर्यातलाई भन्दा आयातलाई प्रवद्र्धन गर्ने तर्फ ध्यान दिएको पाइन्छ । अहिले भइरहेकै कामलाई प्राथमिकतामा राखेर एमालेले घोषणा पत्र जारी गरिएको छ । कृषिमा उपकरण मल बिउ, औषधि आदिमा सरकारले अहिले पनि सहुलियत दिइरहेको विषयलाई नै घोषणा पत्रमा समावेश गरिएको छ । यस्तै कृषि सिंचाइमा प्रयोग हुने विद्युतमा सरकारले विगतदेखि सहुलियत दिँदै आएको भएपनि एमाले प्रतिवद्धतापत्रमा भूमिगत पानी तान्नका लागि प्रयोग हुने विधुत सिंचाइ मिटरमा छुट दिने भनि उल्लेख गरिएको छ । कृषि र उत्पादन क्षेत्रमा सञ्चालन गर्ने नयाँ विषयहरु प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छैन ।

संघीय र प्रदेश सरकारले सञ्चालन गरिरहेका कार्यक्रमलाई नै निरन्तरता दिने सोच र योजनाभन्दा बाहिर नयाँ प्रतिवद्धता नभेटिएको भन्दै गठबन्धन दलका एक नेताले भने ‘यो नयाँ बोतलमा पुरानै रक्सी’ मात्र हो ।

मोरङको बैजनाथपुरमा अलपत्र अवस्थामा रहेको खेल ग्रामलाई निर्माण गर्ने उल्लेख गरिएको छ । प्रदेश सरकारले निर्माण गर्ने भनिएको उक्त खेल ग्रामलाई महत्वव दिएर निर्माण गर्ने उल्लेख गरिएको छ । ३ वर्षसम्म एमालेकै नेतृत्वको प्रदेश सरकारले निर्माण गर्न चासो नदिएको योजना महानगरको बुताबाट अघि बढ्नेमा आश्वस्त हुने अवस्था छैन ।

प्रतिवद्धता पत्रमा विराटनगर बजार क्षेत्रलाई तारमुक्त बनाउने, सहरी सौन्दर्यीकरणका लागि टेलिफोन केवल इन्टरनेटका तार जमिनमुनि बिछ्याउने, गरिबीको रेखामुनि रहेका नागरिकलाई सुगर, प्रेसर, थाइराइड लगायतका दीर्घ रोगको औषधी निःशुल्क उपलब्ध गराउने, विराटनगरका सबै वडामा महानगर स्वास्थ्य केन्द्र स्थापना गरी नगरबासीका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा तथा आधारभूत औषधी उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ । विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली निःशुल्क उपलब्ध गराउने लगायतका योजनालाई समेत अगाडि सारेको छ ।

कार्यक्रममा एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरे, प्रदेश अध्यक्ष तुलसी न्यौपाने, केन्द्रीय नेताहरू लालबाबु पण्डित, विनोद ढकाल लगायतको उपस्थिति थियो ।

बुधबार, १४ बैशाख, २०७९, साँझको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर