मोरङमा दुई नक्कली डाक्टर पक्राउ

विराटनगर ।  इजाजत बेगर क्लिनिक संचालन गरि आफुलाई चर्चित डाक्टर भन्दै विरामीको स्वास्थ्य माथि खेलवाड गर्दै मनलाग्दी उपचार गर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बेलबारी र पथरीमा अवैध रूपमा क्लिनिक संचालन गरि आफुलाई डाक्टर भन्दै मनलाग्दी रूपमा विरामीको उपचार गर्ने दुई जना भारतीयलाई पक्राउ गरेको हो ।

प्रहरीले भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला रानिगन्ज पानसाली पन्चायत बस्ने २७ वर्षिय पर्सनजित बर्मन र पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला देवीगन्ज ग्रामपन्चायत बस्ने २९ वर्षिय  सनोड मण्डललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका वर्मनले मोरङ पथरी शनिश्चरे नगरपालिका १ फिलिम हल लाईन स्थित श्री राम पाईल्स क्लिनिक संचालन गरेका थिए ।

यस्तै मण्डलले सुन्दरहरैचा नगरपालिका ३ स्थित गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक संचालनमा ल्याएका डिएसपी श्रेष्ठले बताए । उनीहरूले बिगत एक वर्षदेखि पथरी र गछियामा क्लिनिक संचालन गरेको पाएको प्रहरीले जनाएको छ ।

‘उनीहरूले चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र उपचार गर्न कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईजाजत पत्र समेत प्राप्त नगरेका पाइएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘यसरी नक्कली डाक्टर बनेर उपचार गरेको पाइएपछि पक्राउ गरिएको हो ।’

भारतीय नागरिक बर्मन र मण्डलले आफुलाई चर्चित डाक्टर हुँ भन्दै औषधी उपचार गरी ठगी तथा स्वास्थ्यमा समेत खेलवाड गरेको भन्दै यहाँका स्थानियले प्रहरीलाई सूचना दिएका थिए ।

सोही सूचनालाई आधार मानि प्रहरी ग्राहक बनेर क्लिनिक पुग्दा खुल्लेआम विरामीको स्वास्थ्य परीक्षण गर्दै गरेको भेटेपछि उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । प्रहरीले उपचारमा प्रयोग गरिएको सामाग्री पनि बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई कारवाहीको लागि मोरङ प्रहरीले अदालतमा म्याद थप गरि मेडिकल काउन्सिलसँग आवश्यक समन्वय समेत गरेको प्रहरीले जनाएको छ ।

मङ्गलबार, १३ बैशाख, २०७९, रातीको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर