सहमति नभए एक्लै चुनावमा जाने एकीकृत समाजवादी मोरङको घोषणा

विराटनगर । गठबन्धन दलहरुबीच सहमति कायम नभए नेकपा एकीकृत (समाजवादी ) मोरङले एक्लै निर्वाचनमा जाने घोषणा गरेको छ ।

सो पार्टीको जिल्ला कमिटीले विराटनगर महानगरबाहेकका सबै स्थानीय तहमा उम्मेद्वार टुंगो लगाएको पनि जनाएको छ ।

शुक्रबार विराटनगरमा सम्पन्न जिल्ला पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले उम्मेद्वार टुंगो गरेको हो । ‘विराटनगर महानगरमा केन्द्रबाटै सहमति भइसकेका कारण हामीले निर्णय गर्ने कुरा भएन,’ जिल्ला प्रचार विभाग प्रमुख एवम् उपसचिव वसिम आलमले भने ‘महानगरबाहेक सबै तहमा उम्मेद्वार टुंगो लगाएका छौं । गठबन्धनमा सहमति नभए हामी एकल उम्मेद्वारी दर्ता गर्नेछौं ।’

उनका अनुसार गठबन्धन दलहरुबीच सहमति प्रयास जारी रहेको छ तर सहमति नभए एक्लै चुनावमा जाने निर्णय बैठकले गरेको हो । कुन तहमा कसको नाम टुंगो लागेको हो भन्ने चाहिँ उनले खुलाएनन् । ‘हामी उम्मेद्वारी दर्ता गर्ने दिन उम्मेद्वारहरुको बारे जानकारी दिनेछौं,’ उनले भने ‘गठबन्धन नभए एक्लै भए पनि निर्वाचनमा जाने निश्चय भएको छ ।’
समाजवादीको बैठकले पोलिटब्यूरो सदस्य महेश रेग्मीको नेतृत्वमा ७५१ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी र केन्द्रीय सदस्य भीम बस्नेतको नेतृत्वमा ५५१ सदस्यीय महानगर निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बैठकमा केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत, मोरङ इन्चार्ज हर्कमान तामाङ लगायतका नेताहरु सहभागी थिए ।

शुक्रबार, ०९ बैशाख, २०७९, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर