६३ जनाले राजीनामा दिँदा विराटनगरका ५ वडा जनप्रतिनिधि विहीन

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने व्यवस्था भएपछि विराटनगर महानगरपालिकामा दुई दिनमा ६३ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । आसन्न निर्वाचनमा पुनः उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले राजीनामा दिन थालेका हुन ।

बैशाक ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि राजीनामा दिँदा ५ वडा भने जनप्रतिनिधि विहीन भएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतका विराटनगर–४, ५, १७, १८ र १९ नम्बर वडा जनप्रतिनिधि विहीन भएका हुन । ५ वटै वडाका अध्यक्ष र सदस्यसहित सबैले राजीनामा दिएपछि ती वडाहरू जनप्रतिनिधि विहीन भएका हुन । आगामी स्थानीय तह निर्वाचनबाट चुनिएर आएपछि मात्रै यी वडाहरूले नयाँ जनप्रतिनिधि पाउने छन् ।जनप्रतिनिधि विहीन भएपछि जिम्मेवारी वडा सचिवलाई दिने महानगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।

शुक्रवार सम्ममा ६३ जनाले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।सदस्यहरूले राजीनामा  दिने मध्ये १३ जना वडाध्यक्ष रहेका छन् । राजीनामा वडाध्यक्षहरूमा विराटनगर–४ का देवेन्द्र पोखरेल, ५ का मीनकुमार आचार्य, ७ का मधुबाबु तिवारी, ९ का विश्वनाथप्रसाद भगत, १० का माधवराज वाग्ले, ११ का तिर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का झरिलाल महतो, १४ का बलदेव यादव, १५ का अस्लम आलम, १७ का समीर कमर, १८ का (कार्यवाहक अध्यक्ष) राजदेव यादव र १९ का बद्रीनारायण सरदारले राजीनामा दिएको अधिकृत बस्नेतले बताए ।

महानगरपालिकामा बेरुजु देखिएको र फस्र्याैट नभएका कारण विराटनगर–५ का वडाध्यक्ष आचार्यको राजीनामा बिहीबार सनाखत भएको थिएन । बेरुजु फस्र्याैट गरेपछि शुक्रवार उनको राजीनामा सनाखत भएको छ । जनप्रतिनिधिहरूले लिएको पेस्की पर फारक नहुँदा तथा कानुन विपरीत खर्च गरेको पाइएमा बेरुजु देखिने गरेको छ । महालेखा परीक्षणको प्रतिवेदनले उल्लेख गरेको बेरुजु फस्र्याैट नगरी उम्मेदवार हुँदा उजुरी पर्‍यो भने उम्मेदवारी खारेज हुने व्यवस्था रहेको छ ।

शुक्रबार, ०९ बैशाख, २०७९, साँझको ०५:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर