काँग्रेसभित्रको लफडाः सुन्दरहरैचाको मेयरमा फरक–फरक सिफारिस

विराटनगर । आगामी स्थानीय तहको निर्वाचनको लागि मोरङको सुन्दहरहरैचा नगरपालिकामा मेयरको उम्मेदवार बनाउनेबारे नेपाली काँग्रेसको दुई समूहबीच लफडा देखिएको छ ।

मेयरको उम्मेदवार सिफारिस गर्दा डा.शेखर कोइराला पक्षमा रहेका नगर सभापति भक्ति सिटौलाले आफ्नो मात्र नाम सिफारिस गरेपछि विवाद भएको हो ।

फेरि उम्मेदवार बन्ने आकांक्षा राख्दै आएका हालका मेयर शिवप्रसाद ढकालको नाम नै नगर सभापतिले सिफारिस नगरेपछि ढकाल आक्रोशित बनेका छन् । ढकाल संस्थापन पक्षका हुन् । बुधबार नगर सभापतिले आफ्नो मात्र नाम सिफारिस गरेकोमा बिहीबार नगर सचिबले मेयर ढकालसहित चार जनाको नाम सिफारिस गरेका छन् ।

मेयर ढकालसहित नगर सभापति सिटौला, नेताहरू मित्रसेन योन्जन र देवराज तामाङको नाम सिफारिस नगर सचिव होमप्रसाद पोख्रेलले बताए । संस्थापनइतर समूहले भने सचिव पोख्रेलले मेयर ढकालबाट पैसा लिएर किर्ते सिफारिस गरेको आरोप लगाएको छ । गत नगर अधिवेशनमा संस्थापनइतर समूहबाटै निर्वाचित भएका पोखरेलमाथि नगर सभापति सिटौलाले यस्तो आरोप लगाएका हुन् ।

‘नगर समितिको बैठकमा सचिवकै प्रस्तावमा म सर्वसम्मत उम्मेदवार भएको थिएँ’ उनले भने, ‘सचिवले मेयरसँग पैसा लिएर नाम थपेर कांग्रेसलाई बद्नाम बनाउन सिफारिस गरेको सुनेको छु ।’ उनले नगर सभापतिको हस्ताक्षर नभएको सिफारिस मान्य नहुने भएकाले आफू नै एकल उम्मेदवार भएको दावी गरेका छन् ।

मेयर ढकालले भने नगर समितिको बैठक नै नराखी सभापतिले आफ्नो शक्ति देखाएको आरोप लगाएका छन् । नगर समितिको बैठक नै नराखी एकलौटी ढङ्गले सिफारिस गरिएकाले त्यसविरुद्ध जिल्ला, प्रदेश तथा केन्द्रीय समितिमा उजुरी गरेको उनले बताएका छन् । स्थानीय निर्वाचनलाई अन्तरपार्टी निर्वाचनको रुपमा बुझेर साथीहरूले मजाक गरेको उनको टिप्पणी छ ।

नेपाली कांग्रेसको संस्थापनइतर समूहको प्रभाब रहेको सुन्दरहरैंचामा संस्थापन समूह कमजोर छ । नेता डा.शेखर कोइरालाको निर्वाचन क्षेत्रसमेत रहेको सुन्दरहरैचामा यो निर्वाचनमा ढकाललाई टिकट नदिने प्रयासमा सो समूह छ । तर, मेयरको टिकट वितरण गर्ने काँग्रेसको प्रदेश समितिमा भने संस्थापन पक्ष नै हाबी रहेकोले ढकाल नै उम्मेदवार बन्ने दावी काँग्रेस कार्यकर्ताहरुको छ ।

शुक्रबार, ०९ बैशाख, २०७९, बिहानको ११:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर