विराटनगर । केन्द्रीय नेतृत्वबीच महानगर र उपमहानगरपालिकामा गठबन्धन बनाएर चुनावमा जाने सहमति भएपनि विराटनगर महानगरपालिकामा गठबन्धन दलहरुबीच छलफल अगाडि बढ्न सकेको छैन ।
‘नेतृत्व टुंगो लागेपछि वडाहरुको तालमेल टुंग्याएर जान ढिला गर्न हुँदैन भनेर हामीले पहल गरिरहेका छौं तर काँग्रेस सम्पर्कमा आउनै चाहिरहेको छैन,’ नेकपा माओवादी केन्द्र विराटनगरका अध्यक्ष नविन पौडेलले भने ‘विराटनगरमा काँग्रेस एक्लै जान खोजिरहेको छ ।’ बिहानदेखि निरन्तर प्रयत्न गरेपनि काँग्रेस छलफलका लागि तयार नभएपछि गठबन्धनका बाँकी राजनीतिक दलहरुले गठबन्धनलाई छुट्टै ढंगले लैजान अन्तिम तयारी थालेका छन् ।
विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले प्रमुख र जनता समाजवादी पार्टीले उपप्रमुख लिने गरी केन्द्रीय तहमा सहमति भएको छ । विराटनगर महानगरमा पाँच दलीय गठबन्धनमा आवद्ध भएका चार राजनीतिकको मात्र उपस्थिति भएकोले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले भने वडाहरुमा उम्मेदवारी पाउने छन् । तर, वडाको विषयमा छलफल बढ्न नसकेपछि केन्द्रीय गठबन्धन कायम राखेर वडामा छुट्टै गठबन्धन बनाउने कि प्रमुख र उपप्रमुखसहित सबै वडामा तीन दलीय गठबन्धन बनाएर जाने भन्ने विषयमा तीन दलबीच रणनीति बनाउन साँझ बैठक बोलाएको छ ।
मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको मिति नजिक आइसकेकोले कार्यकर्ताहरुले वडाहरुको भागबण्डा मिलाउन ढिला नगर्न दबाब दिइरहेका छन् । वडाहरुको भागबण्डा सकिएपछि दलहरुले आन्तरिक तयारी गरेर उम्मेदवार टुंगो लगाउनु पर्ने भएकोले काँग्रेस बाहेकका दलहरुले हतार गरिरहेका छन् । तर, काँग्रेस छलफलमा बस्न आनाकानी गर्नुलाई बाँकी दलहरुले वडातहमा गठबन्धन गर्न काँग्रेस अनिच्छुक रहेको अर्थमा लिएका छन् ।
वडाहरुको तालमेलको विषयमा छलफल गर्न काँग्रेस तयार नभएको र उपमेयरमासमेत उम्मेदवारी दिने तयारी काँग्रेस महानगरले गरिरहेको सूचना आफूहरुलाई आएको माओवादी केन्द्र महानगरका अध्यक्ष पौडेलले बताए । ‘केन्द्रीय तहमा सहमति भएपनि काँग्रेस महानगर समिति मेयर र उपमेयर दुबैमा उम्मेदवारी दिने तयारीमा छ’ पौडेलले भने ‘बिहानदेखि छलफल गरौं भनेर हामीले पहल ग¥यौं तर, उहाँहरु हाम्रो आन्तरिक कुरा टुंगिएकै छैन भन्दै छलफलमा आउन तयार हुनुभएको छैन ।’ बिहीबार बिहानैदेखि गठबन्धनमा आवद्ध दलका महानगरका नेताहरुले काँग्रेसका नगर सभापति दिपक चापागाईंलगायतका नेताहरुसँग सम्पर्क गरेका थिए । चापागाईंले काँग्रेसमा कुरा मिलिनसकेको र कुरा मिलेपछि मात्र छलफलमा बस्न उपयुक्त हुने जवाफ दिने गरेको बताइएको छ । चापागाईं केही दिनदेखि काठमाण्डौमै छन् ।
नेपाली काँग्रेसबाट महानगर प्रमुखको आकांक्षी तथा मोरङ उपसभापति नागेश कोइरालाले केन्द्रीय सहमति कार्यान्वयन गरेर जानुपर्ने प्रतिक्रिया दिएका छन् । ‘केन्द्रले सहमति गरिसकेपछि त्यसलाई कार्यान्वयन गरेर जानुपर्छ,’ उपसभापति कोइरालाले भने ‘गठबन्धन गर्ने भनिसकेपछि तयारी गर्नुपर्छ र छलफल अघि बढ्छ ।’