प्रदेश १ : लिम्बुवानद्वारा ८ जिल्लाको ५१ वडा जित्ने दाबी

ताप्लेजुङमा ६ वटा वडा, पाँचथरमा १४ वडा, इलाममा ३ वडा, झापामा १० वडा, मोरङमा ९ वटा, सुनसरीमा ४ वडा, धनकुटामा ३ वडा र तेह्रथुमममा २ वटा वडामा विजयी हुने अनुमान

विराटनगर । गठबन्धन दलमा आबद्ध चार दलबीच भागबण्डा टुंग्याउने विषयमा अन्तिम टुंगो लगाउने तयारी गरिरहँदा प्रदेश १ मा सक्रिय लिम्बुवानी पार्टी संघीय लोकतान्त्रिक मञ्चले पनि ८ जिल्लामा ५१ वडा जित्ने दाबी गरेको छ ।

सो दलले यसअघिको स्थानीय तहको निर्वाचनमा उठाएका ४०८ जना उम्मेद्वार मध्ये १ वडाध्यक्ष र ५ जना वडा सदस्यले जितेका थिए । यस्तै प्रदेशसभाको निर्वाचनमा सो पार्टीले समानुपातिकतर्फ २६ हजार १ सय २३ मत प्राप्त गर्दै १ जना प्रदेशसभा सदस्यमा जित हात पारेको थियो । सोही सदस्यसमेत रहेकी पार्टीकी नेतृ विष्णुमाया तुम्बाहाम्फे अहिले पनि प्रदेश १ मा सामाजिक विकास राज्यमन्त्रीको रुपमा बाहल छिन् । मन्त्री तुम्बाहाम्फेको जिल्ला ताप्लेजुङ हो ।

सो पार्टीबाट इलामको चुलाचुली १ नम्बर वडामा वडाध्यक्षसहित ५ जना विजयी भएका थिए भने ताप्लेजुङको सिरिजंगा गाउँपालिका ६ मा एउटा वडा सदस्य जितेको थियो । सो पार्टीले गत निर्वाचनमा मोरङबाट ६०, झापाबाट ९९, पाँचथरबाट ४३, सुनसरीबाट ३३, धनकुटाबाट १४, तेह्रथुमबाट ४३, ताप्जेलुङबाट ७० र इलामबाट ४६ जना उम्मेद्वार उठाएको थियो ।

अहिले सो पार्टीले ८ जिल्लामा ५१ वडा जित्ने दाबी गरेको छ । ‘हामीले गरेको सर्भेक्षण अनुसार ५१ वटा वडामा जित्ने हाम्रो दाबी छ,’ लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ तथा प्रदेशकी राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले भनिन्, ‘अहिले हामी पनि प्रदेशका हरेक पालिकामा उम्मेद्वारी दिने गरी तयारी गरिरहेका छौं ।’

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आफ्नो दाबी रहेको उनले बताइन् । ‘ताप्लेजुङका ८ वटा गाउँपालिका र एउटा नगरपालिकामा हाम्रो दाबी छ, मेयरमा पनि छ अन्य पदमा पनि हाम्रो दाबी छ,’ उनले भनिन्, ‘फुङ्लिङ नगरपालिकामा त उम्मेद्वार घोषणा गरेर भोट माग्न गइसक्यौं ।’ उनले अरुणपूर्व ९ जिल्लामा मात्रै नभएर तमुवान, मगराँत, दलित, खसानमा पनि उम्मेद्वारी दिने तयारी गरिरहेको बताइन् ।

गठबन्धनका दलहरुको प्रदेशस्तरीय छलफलमा आफूहरुपनि सहभागी रहेको बताउँदै उनले १/२ दिनमा कति लिने कति छोड्ने भन्ने विषयको टुंगो लाग्ने तुम्बाहाम्फेले बताइन् ।

उनका अनुसार ताप्लेजुङमा ६ वटा वडा, पाँचथरमा १४ वडा, इलाममा ३ वडा, झापामा १० वडा, मोरङमा ९ वटा, सुनसरीमा ४ वडा, धनकुटामा ३ वडा र तेह्रथुमममा २ वटा वडामा विजयी हुने अनुमान गरेको बताइन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले किरात खम्बुवान, तामाङसालिङ, शेर्पा, नेवा, मगरात, तमुवान, खसान, थरुहट, मधेश र शिल्पी (दलित) प्रान्त (१० प्लस १) को माग गर्दै आएको छ ।

लोकतान्त्रिक मञ्चले आफूले जित्ने सम्भावित वडाको तथ्यांक यस्तो छ ।

ताप्लेजुङ् (६ वटा वडा)
फुङ्लिङ नगरपालिका ११
पाथिभरा गाउँपालिकाको वडा नम्बर ५
श्रीजङ्गा गाउँपालिका वडा नम्बर ४
शिदिङ्वा गाउँपालिका वडा नम्बर २
आठराइ त्रिभेणी गाउँपालिका वडा नम्बर ४
मेरिङ्देन गाउँपालिका वडा नम्बर १

पाँचथरका (१४ वटा वडा)
याङ्वरक गाउँपालिका वडा नम्बर ४ र ५
हिलिहाङ गाउँपालिका वडा नम्बर ३, ४ र ६
फालेलुङ गाउँपालिका वडा नम्बर ७, १, ३ र ८
फाल्गुनन्द नगरपालिका ५
मिक्लाजुङ्ग गाउँपालिका १, २ र ३
तुम्देवा गाउँपालिका १

इलाम जिल्ला (३ वटा वडा)
चुलाचुली गाउँपालिका १ र २
फाक्फोक थुम गाउँपालिका वडा नम्बर ४

झापा (१० वटा वडा)
बुद्धशान्ति नगरपालिका ४
मेचीनगर नगरपालिका १२
शिवसताशी १, ८, ९, १० र ११
कमल गाउँपालिका वडा नम्बर ३ र ४
दमक नगरपालिका ५

मोरङ (९ वटा वडा)
उर्लाबारी नगरपालिका वडा नम्बर ९
मिक्लाजुङ वडा नम्बर ३ र ४
लेटाङ नगरपालिका १ र ६
केराबारी गाउँपालिका वडा नम्बर २
पथरीशनिश्चरे नगरपालिका २, ३ र १०

सुनसरी (४ वटा वडा)
कोशी गाउँपालिका ४
इटहरी उपमहानगरपालिका वडा नम्बर ५ र १०
धरान उपमहानगरपालिका ११

धनकुटा (३ वटा वडा)
चौबीसे गाउँपालिका वडा नम्बर १
साँगुरीगढी गाउँपालिका ३
छथर जोरपाटी गाउँपालिका वडा नम्बर ३

तेह्रथुम (२ वटा वडा)
छथर गाउँपालिका वडा नम्बर २
म्याङ्लुङ नगरपालिका वडा नम्बर ८

बिहिबार, ०८ बैशाख, २०७९, दिउँसोको १२:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर