विराटनगर । नेकपा एमाले १ नम्बर प्रदेश कमिटीले स्थानीय कमिटीबाट सिफारिस गरिएका मेयरका आकांक्षीको नाम काटेको छ भने सिफारिस नै नभएका व्यक्तिको नाम केन्द्रीय कमिटीलाई पठाएको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको नाम प्रदेश कमिटीले हटाएको छ भने विराटनगर महानगरपालिकाको मेयरमा महानगर कमिटीले सिफारिस नै नगरेका जीवन घिमिरेको नाम सिफारिस गरिएको छ ।
विराटनगरको मेयरका लागि महानगर कमिटीले सिफारिस गरेका नामको अन्तिममा जीवनको नाम केन्द्रमा पठाइएको प्रदेश कमिटीका एक पदाधिकारीले जानकारी दिए । सागर थापा, परशुराम बस्नेत, बाबुराम कार्की, महेश भट्टराई र रामलाल साहको नाम महानगर कमिटीले सिफारिस गरेको थियो ।
प्रदेश कमिटीले सुझावको रूपमा १ नम्बर प्रदेशका पूर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेको नाम पनि सिफारिस गरिएको प्रदेश कमिटी सचिव चिन्तन पाठकले बताए । उपमेयरको उम्मेदवारका लागि शिल्पा कार्की, विमला दाहाल र अन्जु उपाध्यायको नाम सिफारिस गरिएको छ ।
इटहरीमा नगरबाट सिफारिस भएर आएका चौधरीको नाम हटाएर ४ जनाको नाम केन्द्रीय कमिटीमा पठाइएको छ । नेकपा एमाले इटहरी उपमहानगर कमिटीले सिफारिस गरेकामध्ये ४ जनाको नाम मात्रै केन्द्रमा सिफारिस गरिएको सचिव पाठकले बताए ।
प्रदेश कमिटीले उपमेयर लक्ष्मी गौतम, प्रदेश सदस्य रामप्रसाद चौलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम सिफारिस गरेको उनले बताए । नगर कमिटीले सिफारिस गरेका द्वारिकलाल चौधरी र रेवती घिमिरेको नाम प्रदेशले हटाएको छ ।
उपमेयरका उम्मेदवार छनोटका लागि संगिता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस गरिएको छ ।
धरानको मेयरका उम्मेदवारका लागि मोतीराज सुनुवार, मञ्जु भण्डारी, विजय राई र मनोज मेन्याङ्बोको नाम सिफारिस गरिएको छ । नगर कमिटीले ११ जनाको नाम सिफारिस गरेकोमा तीमध्ये ७ जनाको नाम काटिएको छ ।
नगरले सिफारिस गरेका रमेश बस्नेत, किशोरकुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला, तीर्थ मास्केको नाम प्रदेश कमिटीले हटाएको छ ।
प्रदेश कमिटीले उपमेयरमा पदम इस्बो, लहरुमाया जिमी, सविता राई, सुशीला पहाडीको नाम सिफारिस गरेको छ ।