विराटनगर । प्रदेश १ काचार दलीय गठबन्धनले आफूहरुबीच सहमति हुन नसकेका पालिकामा कुनै पनि हालतमा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।
सुनसरीको इटहरीमा आज बसेको बैठकमा एमालेसँग सहकार्य नगर्ने बरु गठबन्धन दलहरुबीचमै अर्को गठबन्धन गर्न भने खुल्ला गर्ने निर्णय गरेको हो ।
प्रदेश १ माओवादी केन्द्रका उपाध्यक्ष शिव कुमार डाँगीले दिएको जानकारी अनुसार हालसम्म खोटाङ, भोजपुर र पाँचथरमा गठबन्धनबीचमा भागबण्डाको टुंगो लागिसकेको छ ।यस्तै भोलीसम्ममा धेरै जिल्लामा भागबण्डा मिलिसक्ने उनले बताए ।
उनका अनुसार हालसम्म मिलेका जिल्लाको र नमिलेका जिल्लाको रिपोर्ट केन्द्रमा पठाउने पनि प्रदेशस्तरीय गठबन्धनका संयन्त्रले निर्णय गरेको छ । मिलेका जिल्लामा तत्काल उम्मेद्वारको टुंगो लगाएर चुनावमा जान पनि बैठकले कार्यकर्तालाई निर्देशनदिएको छ ।
‘एमाले बाहेकका गठबन्धन भित्रकै दलहरुसँग गठबन्धन गरेर स्वस्थ प्रतिस्पर्धा गर्न पाउने निर्णय भएको छ,’ डाँगीले भने, ‘मिलेका जिल्लामा उम्मेद्वार खडा गरेर चुनावमा होमिने र नमिलेको रिपोर्ट पनि केन्द्रलाई पठाएका छौं ।’
प्रदेश १ मा गठबन्धन दलमा नेपाली कांग्रेस, नेकपामा ओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी रहेका छन् ।
अन्यदल राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि गठबन्धन दलसँगै सहकार्य गर्ने जनाएको छ ।