विराटनगर । दश वर्षे जनयुद्धका क्रममा राज्य पक्षबाट बेपत्ता पारिएका माओवादी नेता कुबेर आपागाईं फर्किने सम्भावना नरहेको भन्दै परिवारका सदस्यहरुले सांस्कृतिक परम्परा अनुसार उनको अन्तिम संस्कार गरिएको छ । बेपत्ता पारिएको १८ वर्षपछि परिवारले उनको अन्तिम संस्कार सुरु गरेका हुन् ।
आपागाई परिवार आइतबार विराटनगर ३ स्थित घरमा भेला भएर झापाको कन्काई माई नदीमा गई बेपत्ता भएका कुबेरको कुशको शव बनाएर धार्मिक तथा सांस्कृति परम्परा अनुसार सतगत गरेको दाजु हरि आपागाईंले जानकारी दिए । दाहसंस्कार पछि विराटनगर ३ स्थित घरमा १३ दिने काजकिरियाको काम सुरु गरिएको छ । बुवा तुलसीप्रसाद आपागाईं काजकिरियामा बसेका छन् ।
‘द्वन्द्वमा राज्यले बेपत्ता बनाएको मेरो छोरो अब फर्केर आउने आशा हामीमा रहेन,’ बुबा तुलसीले भने ‘शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दापनि राज्यले हामीलाई न लास देखायो न सास नै फिर्ता ग¥यो, त्यसैले अब हाम्रो छोरो जीवित छैन भन्ने निष्कर्शमा हामी पुग्यौं र परम्परा अनुसार काजकिरिया गर्ने निर्णय लिएका हौं ।’ द्वन्द्वमा बेपत्ता भएकाहरुको खोजी गरी अवस्था सार्वजनिक गर्न सरकारले पटक पटक वेपत्ता आयोग बनाएको भएपनि त्यसले कुनै निश्कर्ष दिन नसक्दा बेपत्ता परिवारहरु लामो समयसम्म तड्पेर बस्नु पर्ने अवस्था बनेको उनको गुनासो छ । ‘परिवारका सदस्य गुमाएका हामी र हामीजस्ता अरु धेरैजना आफन्त आउँछन् कि भन्ने आशमा तड्पिएर बसिरहेका छन् तर यसप्रति राज्य संवेदनशील भएन, जनयुद्ध गर्ने पक्षले पनि पीडितलाई न्याय दिलाउन जति प्रयत्न गर्नुपथ्र्यो त्यो गर्न सकेको छैन,’ बुबा तुलसीले भने ‘राज्यले जे हो त्यो कुरा भनिदिनु पर्छ, द्वन्द्वमा बेपत्ता भएको हुँदा धेरैजना जीवित छैनन् भन्ने नै बुझाइ हो तर त्यो भनिदिएर न्यायको अनुभूति गराउन राज्य पछि हट्न हुँदैन ।’
देश परिवर्तनका लागि भनेर संघर्षमा लागेको छोरा गुमाएको स्मरण गर्दै बुबा तुलसीले भने ‘जनताका लागि परिवर्तनका लागि र देशका लागि भनेर छोराले जीवन उत्सर्ग ग¥यो, देशमा राजनीतिक परिवर्तन पनि भयो, त्यसैले देशका लागि लड्नेहरुलाई राज्यले सम्मान गर्ने, उनीहरुको योगदानको कदर गर्ने र सहिद र वेपत्ता परिवारका सदस्यहरुको जीवन यापनमा सहयोग गर्ने काममा कन्ज्युसाँई गर्न हुँदैन, । राज्यलाई जिम्मेवार बनाउनु पर्छ ।’
तत्कालीन अवस्थामा राज्य पक्षले विराटनगरबाट पक्राउ गरेर आपागाईंलाई २०६० साल असोज १० गतेदेखि बेपत्ता बनाएको थियो । मोरङको उर्लाबारीमा २०३७ साल असार १ गते जन्मिएका कुबेर २०५४ सालदेखि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा संगठित भएका थिए । जनयुद्धमा आवद्ध भएर भूमिगत भएका उनी तत्कालीन समयमा एरिया कमिटी सदस्य तथा मजदुर विशेष जिल्ला कमिटीका सचिवको जिम्मेवारीमा रहेर काम गर्दैगर्दा विराटनगरबाट पक्राउ परेका थिए । पक्राउसँगै उनलाई बेपत्ता पारिएको थियो ।
जनयुद्धको नाममा पार्टिमा भएका हुनेखानेहरुले आफ्नो परिवर्तन गरे तर देश र जनताका लागि केही गरेनन । जनताका छोराछोरिहरुलाई बुर्जुवा शिक्षाको काम छैन भनेर झुटको खेती गरेर युद्धमा होमिन वाध्य पारे तर वास्तविक परिवर्तन भएन मात्र आफ्नो लागि भने राम्ररी व्यवस्था गरे ।त्यसकारण जनताका छोराछोरिहरुलाई झुक्याएर आफ्नो परिवर्तन मात्र गर्ने र युद्धमा जान वाध्य पार्नेहरुलाई कठघरामा उभ्याउन सक्नुपर्छ र उभ्याउनु पर्छ ।