विराटनगर । प्रदेश १ को खासरी झापामा प्रभाब रहेको राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आबद्ध हुने सूचनापछि नेकपा एमालेलाई झस्का परेको छ ।
लिङ्देनबाट अलग भएर कमल थापाले गठन गरेको राप्रपा नेपालसँग चुनाबी गठबन्धन गर्ने सहमति गरेको एमालेलाई झापामा प्रभाबशाली रहेको लिङ्देन नेतृत्वको राप्रपा गठबन्धनमा आबद्ध भए चुनौति हुने स्पष्ट छ ।
नुवाकोटमा शुक्रबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यहि आसय व्यक्त गरे । उनले गठबन्धन भएमा आफ्नो गृहनगरमा एमालेले पराजय भोग्नुपर्ने घुमाउरो रुपमा स्वीकार गरे । उनले भने, ‘मेरै निर्वाचन क्षेत्रमा, मेरै नगरपालिकामा राप्रपाका उम्मेदवारलाई काँग्रेस, माओवादीलगायतले सबैको साझा उम्मेदवार बनाउँदैछन् । यदि स्थानीय तहमा हामीले बहुमत ल्याउन सकेनौं र स्थानीय तहमा बेठीक पार्टीका बेठीक प्रतिनिधि पुगे भने हामीले संसद्मा बहुमत ल्याएर भएपनि जनताको अपेक्षा पुरा गर्छौ ।’
झापाको दमक नगरपालिकामा प्रभाब रहेको राप्रपा गठबन्धन सामेल भएको खबरपछि ओलीले चुनौति महशुस गरेका हुन् । ओलीको गृहनगर दमकमा राम्रो उपस्थिति रहेको राप्रपाले गत स्थानीय तहको निर्वाचनमा गौरिगञ्ज, हल्दिबारी र कचनकबलको नेतृत्व नै जितेको थियो ।
अघिल्लो निर्वाचनको मत विश्लेषणका आधारमा पनि दमक नगरपालिकामा राप्रपासँग सत्ता गठबन्धन मिले एमालेका उम्मेदवारलाई जित्न सहज हुनेछैन । दुई दिन अगाडि सुनसरीको इटहरीमा बसेको गठबन्धन दलको बैठकमा राप्रपाका प्रदेश १ अध्यक्ष राम थापा पनि सहभागी भएर गठबन्धनमा आबद्ध हुने प्रतिबद्धता जनाएका थिए ।
थापाले चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने सहमति भएको बताउँदै तालमेल गरेर जाने निर्णयको माइन्युटमा हस्ताक्षर गरिसकेको बताए । सम्भव भएसम्म पाँच दलीय गठबन्धनसँग तालमेल गर्ने पहल पार्टीले गरेको उनको भनाइ छ ।
त्यसो त झापामा लिङ्देन नेतृत्वको राप्रपासँग तालमेलको प्रयास ओली नगरेका हैनन् । तर, राप्रपाले दमक नगरपालिकाको मेयर पाए मात्र तालमेल गर्ने निर्णय लिएको छ । दमकमा प्रदेश अध्यक्ष थापा नै उम्मेदवार बन्न चाहेका छन् । उनी अघिल्लो निर्वाचनमा पनि निकटतम् प्रतिद्वन्दी थिए ।
२०७४ को निर्वाचनमा माओवादीसँगको गठबन्धनपछि पनि ओलीले आफ्नो सुरक्षाको लागि राप्रपासँग गठबन्धन गरेका थिए । त्यसको लागि झापा क्षेत्र नं. ३ बाट राप्रपाका उम्मेदावर राजेन्द्र लिङ्देनलाई एमालेले सहयोग गरेको थियो । यस पटक भने कमल थापासँग ओलीको निकट सम्बन्ध रहेकोले पनि लिङ्देन नेतृत्वको राप्रपसँग सहज सम्बन्ध बन्न सकेको छैन ।
राप्रपाले सत्तारुढ गठबन्धनसँग तामेलम गरे झापाको दमकमा एमाले पराजित हुने निश्चित जस्तै रहेको स्थानीय बताउँछन् । २०७४ सालको स्थानीय निर्वाचनमा दमकका १० वटा वडामध्ये एमाले एक्लैले ८ वटा जित्दा २ वटाा राप्रपाले जितेको थियो । नगर प्रमुख पदमा एमालेका रोमनाथ ओलीले १० हजार ८०६ मत ल्याएर विजयी बन्दा राप्रपाका थापाले ७ हजार ६५५, माओवादीका उम्मेदवार रेवतराज पुरीले ६ हजार ८९८ र काँग्रेसका ढुण्डीराज भण्डारीले ५ हजार ५३९ मत ल्याएका थिए । राप्रपासहितको गठबन्धन भए एमालेभन्दा दोब्बर मत अगाडि हुने देखिन्छ ।
एमालेले राप्रपालाई उपप्रमुख पद दिएर गठबन्धन गर्नेगरी छलफल गरेको भएपनि सहमति हुन सकेन । मेयरका आकांक्षी रहेका राम थापालाई प्रदेशसभामा जिताउने एमालेले प्रस्ताव राखेको भएपनि उनले मेयरबाहेक सम्झौता नहुने बताएका छन् ।
आफ्नै गृहनगर र अघिल्लो पटक एमालेले नै जितेको मेयर पद राप्रपालाई दिन ओलीलाई पनि सजिलो छैन । राप्रपाले पनि दमकमा गठबन्धन दलहरु कमजोर रहेकोले आफूलाई मेयर दिएर तालमेल हुने अपेक्षा गरेका छन् । त्यसकै लागि उनी गठबन्धनको बैठकमा सहभागी भएका हुन् ।
थापालाई मेयरको उम्मेदवार बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय भने भइनसकेको गठबन्धन आबद्ध दलहरुले बताएका छन् । यद्यपी सहकार्य गरेर जाने सहमति भएपछि त्यो संभावना रहेको एक नेताले बताए । राप्रपालाई दमकको मेयरमा सहयोग गर्ने र अन्यत्र राप्रपाले गठबन्धनलाई सहयो गर्नेगरि छलफल भइरहेको बताइएको छ ।