विराटनगर । मोरङको लेटाङमा हिंसात्मक झडपमा हत्या गरिएको महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या आरोपमा १५ जना विरूद्ध बुधबार ‘कर्तब्य ज्यान’ मुद्दामा मुद्दा दर्ता भएको छ ।
पक्राउ परेका ६२ मध्ये १५ जनालाई जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जन्मकैदको माग दाबी लिएर मोरङ अदालतमा ‘कर्तब्य ज्यान’ मुद्दामा अभियोग दर्ता गरेको हो ।
कर्तब्य ज्यान मुद्दमा कान्छा भन्ने कृष्ण विश्वकर्मा, डम्बर बहादुर कार्की, विषेश मगर, सन्तोष कुँवर, राजकुमार भन्ने कुमार बहादुर खोक्रेल, कपिल नेपाली, समिर राई, मनकुमार महरा, अनिल विश्वकर्मा र लेखा बहादुर मगरलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । कर्तब्य ज्यान मुद्दमा अभियोग दर्ता गरेका मध्ये पाँच जना प्रतिवादी फरार छन् । उनीहरूलाई पनि फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरेको उनले बताए । फरारको नाम गोप्य राखिएको छ । तीन दिन सार्वजानिक बिदा भएकोले प्रतिवादीहरूको बयान आइतबारदेखि हुने उनले बताए ।
कर्तब्य ज्यान मुद्दामा १० जना प्रतिवादीको हकमा भने जिल्ला सरकारी वकिलको कार्यालयले सो मुद्दा नचलाउने निर्णाय गरेको छ । भविन भन्ने जस्विन तामाङ, श्रवण यादव, अर्पण परियार, राम कुमार राई, अमृत खेवा लिम्बु, रुपेश राना मगर, सुरज अधिकारी, चन्द्र तामाङ, पासाङ तामाङ्ग र रूपेश खड्का भन्ने प्रलात खड्काको दाबी नपुगेको कारणले उनीहरूलाई कर्तब्य ज्यान मुद्दामा अभियोग नचालउने निर्णाय गरेको अभिगोपत्रमा उल्लेख छ । कर्तब्यमा मुद्दा नलाएका प्रतिवादीहरूलाई अर्भद्र व्यवहारको मुद्दामा प्रतिवादी बनाएको छ ।
कर्तब्य ज्यानमा मुद्द नचलाएका सहित यो घटनामा पक्राउ परेका मध्ये ५१ जनालाई अभद्र व्यवहारको मुद्दा चलाएको छ । अभद्र्रमा ५१ मध्ये १५ जना नावलक छन् । नावलको हकमा मोरङ अदालतको बाल इजालशबाट आदेश हुन्छ भने उमेर पुगेको सवालक ३६ जनाको जिल्ला प्रशासन कार्यालय मोरङबाट आदेश हुने गरेको छ । नाबालक १५ जना प्रतिवादीको मंगलबारदेखि शिशिरराज ढकालको इजालशमा बयान सुरू भएको छ । बुधबारसम्म १० जना प्रतिवादीको बयान सकिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । बाँकी रहेका पाँचको आइतबार हुने उनले बताए ।
यस घटनामा एक जना बालकलाई कर्तब्य ज्यान मुद्दामा दर्ता गरेको थियो । मंगलबार थुनछेक बहसपछि अदालतले अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । १४ वर्षीय बालकलाई न्यायाधीश शिशिरराज ढकालको बाल इजलासले अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो ।
लेटाङ–५ मा गत चैत ६ गते भएको घटनामा महिला प्रहरी जवान २६ वर्षीया श्रेष्ठको हत्या भएको थियो । घाँटीमा धारिलो हतियार प्रहार गरेर उनको हत्या गरिएको दाबी प्रहरीको थियो । तर विराटनगरस्थित कोसी अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टले श्रेष्ठको हत्या गोली प्रहारबाट भएको पुष्टि गरेको हो । पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘फायर आम इन्जुरी’ लेखिएको छ ।
हिंसात्मक झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । तर महिला प्रहरीको शरीरमा भेटिएको गोली प्रहरीले प्रयोग गर्ने हतियारसँग ‘म्याच’ नखाएको बताइएको छ । सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार प्रहरीले गोली हान्ने व्यक्तिलाई पक्राउ र हतियार बरामद गरेको छैन ।
लेटाङ–५ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयमा अध्ययरत छात्रालाई शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि विद्यार्थी र अभिभावकले प्रदर्शन गरेका थिए । प्रदर्शन उग्र बनेर हिंसात्मक झडपमा परिणत भएको थियो । शिक्षक पौडेललाई पक्राउ गरेर फर्कदै गरेको प्रहरी टोलीमाथि आक्रमण हुँदा श्रेष्ठ मारिएकी हुन् ।
प्रहरीका अनुसार झडपका क्रममा गोली चलेको थियो । प्रदर्शनकारीले प्रहार गरेको गोली लागेर श्रेष्ठको मृत्यु भएको प्रहरी दाबी छ । प्रहरीले गोली चलाउने व्यक्तिको पहिचान हुन बाँकी रहेको जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनाको अनुसन्धान गर्ने समय सकिएका कारण सरकारी वकिल कार्यालयमा अनुसन्धानको मिसिल बुझाइएको जानकारी दिए । अझै पनि घटनाको अनुसन्धानलाई भने जारी राखिएको उनको भनाइ छ । हतियार र गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेपछि पूरक अभियोग लैजाने प्रहरीको तयारी छ ।