विराटनगर । चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको गोली हानेर हत्या भएको खुलेको छ । मृतकको पोस्मार्टम रिर्पोट अनुसार हत्या महिला प्रहरीमाथि धारिलो हतियार नभएर गोली हानेको पुष्टि भएको हो ।
यसअघि प्रहरीले धारिलो हतियार प्रयोग गरेर महिला प्रहरीको हत्या भएको जानकारी दिएको थियो । कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट वाई फाइयर आम इन्जुरी’ उल्लेख छ । प्रहरीले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार महिला प्रहरीको शरिरबाट गोली निकालिएको छ ।
हिंसात्मक झडप हुँदा प्रहरीको तीन वटा हतियारबाट हवाइ फायर भएको थियो । तर, नेपाल प्रहरीको बिधि विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको हतियारबाट निस्किेको गोलीसँग म्याच हुन नसेकेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
मृतक महिला प्रहरीको घाँटीबाट छिरेको गोली पेटसम्म पुगेको पोष्टमार्टममबाट पुष्टि भएको छ । उनको पेटबाट निकालिएको गोली भने आधुनिक हतियारमै प्रयोग हुने गोली भएको बताइएको छ ।
प्रहरीको हतियारसँग महिला प्रहरीले हानेको गोलीको म्याच हुन नसकेकोले गोली प्रदर्शनकारीबाटै चलेको पुष्टि भएको छ । ‘घटना घटेको दिन प्रहरीको तीन वटा हतियारबाट फायर भएको खुलेको थियो’ जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरी शर्मा काफ्ले भने, ‘तर, महिला प्रहरीको शरिरमा भएको गोली प्रहरीको हतियारबाट चलेको पुष्टि भएन ।’
महिला प्रहरीलाई गोली लागेर हत्या भएको गोली भेटिए पनि प्रहरीले हतियार भने फेला पारेको छैन । प्रहरीले घटनामा ६३ जनलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई प्रहरीले अनुसन्धान पूरा गरि प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
पक्राउ परेका १६ जना बालबालिकासमेत रहेकाले जिल्ला सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गर्दैछ । पक्राउ परेकामध्ये १५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई कर्तब्य ज्यान, ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी छ ।
सवालक कति जनालाई प्रतिवादी बनाएर कर्तब्य ज्यान मुद्दामा अभियोग लैजाने भन्ने बारेमा जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय गरिसकेको छैन । ‘बुधबार विहान सावालकको हकमा निर्णय गर्नेछौं र सोही दिन अभियोग अदालत लैजाने तयारी गरेका छौं,’ जिल्ला न्यायाधीवक्ता काफ्लेले भने ।
पक्राउ परेकामध्ये एक बालकलाई अदालतले अभिभावकको जिम्मामा लगाउने आदेश मंगलबार गरेको छ ।