विराटनगर ।जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपीसहित ११ जना प्रहरीको एकै पटक सरूवा भएको छ । दुई डिएसपी र ९ जना प्रहरी निरीक्षकको सरुवा भएको हो ।
मोरङमा ‘क’ श्रेणीका इलाका प्रहरी कार्यालय ७ वटा छन् । तीमध्ये एउटामा डिएसपी (प्रहरी नायव उपरीक्षक) र ६ वटामा इन्स्पेक्टर (प्रहरी निरीक्षक)को नेतृत्व छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि इन्स्पेक्टर नेतृत्वमा छ । प्रहरी प्रधान कार्यालयले चैत २५ गते इन्स्पेक्टर सरुवा गरेको हो । मोरङका इलाका प्रहरी कार्यालयमध्ये पथरीमा डिएसपी तथा उर्लाबारी, रानी, बेलबारी, रङ्गेली, लेटाङ र सिजुवामा इन्स्पेक्टर नेतृत्व रहेको छ ।
सामान्यतया प्रहरी अधिकृतको कार्यकाल एक वर्षको हुन्छ । कुनै ठाउँमा बसेर काम गरेको एक वर्ष पूरा भएपछि सरुवा गर्ने गरिन्छ । एक वर्से कार्यकाल पूरा गरेका इलाका प्रहरी प्रमुखहरुको मोरङबाट सरुवा भएको मोरङ प्रहरीले जनाएको छ ।
अहिले सरुवामा परेका इन्स्पेक्टर गत वर्षको चैत २७ गते विभिन्न प्रहरी युनिट इञ्चार्जको रूपमा सरुवा भएर मोरङ आएका हुन् । प्रहरी प्रधान कार्यालयको सूचना अनुसार इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा सरुवा भएको छ भने उनको स्थानमा डिएसपी वेदप्रसाद गौतम आएका छन् ।
त्यस्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक राजाराम खड्काको जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सरुवा भएको छ भने रानीका प्रकाश राउतको जिल्ला प्रहरी कार्यालय पर्वतमा र बेलबारीका सरोज खनालको जिल्ला प्रहरी कार्यालय संखुवासभामा सरुवा भएको छ । रङ्गेलीबाट अनमोल खड्काको प्रहरी प्रधान कार्यालयमा, लेटाङबाट रोमनराज अर्यालको जिल्ला प्रहरी कार्यालय खोटाङमा र सिजुवाबाट विष्णुबहादुर खड्काको इलाका प्रहरी कार्यालय इटहरीमा सरुवा भएको छ । मोरङ प्रहरीको महिला सेलकी एञ्जिला राईको चितवन सरुवा भएको छ ।
उर्लाबारीमा मिलन थापा, रानीमा महेन्द्र दर्नाल, बेलबारीमा खगेन्द्र धमला, रङ्गेलीमा शैलेश न्यौपाने, लेटाङमा विकास थपलिया र सिजुवामा निलमप्रसाद उप्रेती प्रहरी प्रमुख भएर आएका छन् । उर्लाबारीमा सरुवा भएका प्रहरी निरीक्षक थापा जिल्ला प्रहरी कार्यालय मोरङकै अपराध अनुसन्धान शाखामा कार्यरत थिए ।
मोरङ ट्राफिक प्रमुख चन्द्रबहादुर खड्काको प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा सरुवा भएको छ । खड्काको ठाउँमा प्रहरी निरीक्षक राजकुमार कार्की आएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जिल मुकारुङको पनि सरुवा भएको छ । मुकारुङको ठाउँमा डिएसपी राजन कार्की आएका छन् ।