

संखुवासभा । स्थानीय तहको निर्वाचनका लागि सङ्खुवासभाका मतदान स्थललाई तीन तहमा वर्गीकरण गरिएको छ ।संखुवासभाका लागि ८ वटा मतदान स्थललाई अति संवेदनशील सूचिमा राखिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समिति संखुवासभाले ८ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखेको हो ।
सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार जिल्लाका एक सय ३ ओटा मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताको हिसाबले ८ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको बताए । एक सय ३ वटा मतदानस्थलस्थलमध्ये ७९ वटा मतदान स्थल संवेदनशील, १६ वटा मतदान स्थल सामान्य र ८ वटा मतदान स्थल अति संवेदनशील सूचीमा वर्गीकरण गरिएको सहायक प्रजिअ घिमिरेले बताए । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा,यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान स्थल तथा केन्द्र छुटाइएको बताइएको छ । सुरक्षा समितिले ती मतदान स्थललाई अति संवेदनशील सूचीमा परेका मतदान स्थलमा सुरक्षा प्रबन्ध मिलाइने घिमिरेले बताए ।
अति संवेदनशील मतदान स्थलमा ३ हजार ४ सय ३८ जना मतदाता रहेका छन् । जिल्लामा ६० हजार ६ सय ७८ जना पुरुष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेका छन् । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ । अति संवेदनशील मतदान स्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने सहायक प्रजिअ घिमिरेले बताए ।
निर्वाचन आयोगले १० वटै स्थानीय तहका लागि अधिकृत र निर्वाचन अधिकृत तोकिसकेको छ ।