काँग्रेस मोरङमा गुटगत गतिविधि बढ्दै

काँग्रेस मोरङमा गुटगत गतिविधि बढ्दै

विराटनगर ।स्थानीय तहको आसन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा दुई फरक धारणा विकास भइरहेको मोरङ काँग्रेसमा गुतगत गतिविधि बढेको छ । जिल्ला पार्टीको योजना बीनै संस्थापन पक्षले डा. शेखर कोइराला पक्षधर युवाहरुलाई सहभागी नगराई तरुण दलको क्षेत्रीय भेलाहरु गरेर गुटगत गतिविधि बढाएको आरोप कोइराला पक्षधरले लगाएका छन् ।

आइतबार विराटनगरमा तरुण दलको मोरङ क्षेत्र नम्बर ४ स्तरीय भेला आयोजना गरिएको थियो । काँग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यतामा भएको भेलामा काँग्रेस विराटनगर महानगरका सभापति दीपक चापागाईँले केन्द्रीय नेताहरुले नै गुटगत गतिविधि गरेको आरोप लगाउँदै आफू पक्षधर युवाहरुलाई भेलास्थलबाट बाहिर निकाले । भेलामा शुभकामना मन्तव्य राख्ने क्रममा उनले प्रश्न गरे ‘जुन क्षेत्रको तरुण दलको भेला आयोजना भएको छ त्यहाँका सभापतिको उपस्थिति किन भएन ?, त्यस क्षेत्रका थुप्रै तरुण दलका जिल्ला सदस्यहरुको उपस्थिति पनि मैले देखिरहेको छैन । चुनावको बेलामा पार्टीलाई हित नहुने गरी किन यस्ता गुटगत गतिविधि गर्नुप¥यो ?’ उनले चुनावको मुखमा यस्ता गतिविधिले काँग्रेसलाई फाइदा नहुने भएकोले सबै गम्भीर बन्नुपर्ने बताए ।

काँग्रेस संस्थापन पक्षले आइतबार विराटनगरमा तरुण दलको दोश्रो क्षेत्रीय भेला आयोजना गरेको थियो । यस अघि संस्थापनले मोरङ क्षेत्र नम्बर ३ को सुन्दरहरैंचामा यस्तै भेला आयोजना गरेको थियो । त्यहाँ पनि डा. कोइराला पक्षधर युवाहरु अनुपस्थित रहे ।

पार्टीमा कोइराला पक्षधर समूहले गुटगत गतिविधि गर्ने गरेको आरोप लगाउँदै आएको संस्थापन पक्षनै गुटगत गतिविधिमा सक्रिय देखिएको बताइएको छ । महानगर सभापति चापागाईँले भने ‘अरुलाई गुटको राजनीति ग¥यो भनेर उहाँहरु आरोप लगाउनु हुन्छ तर आफैं यस्ता भेलाहरु गर्दै हिडिरहनु भएको छ, यो गतिविधिले गुटबन्दीलाई प्रश्रय गर्छ कि गर्दैन भन्ने प्रश्न उठेको छ ।’

नेपाली काँग्रेसले तरुण दल, नेपाल विद्यार्थी संघ लगायतका भातृ संगठनहरु केही समय अगाडि भंग गरिसकेको छ । पालिका र वडा तहमा भेला आयोजना गरेर तदर्थ समितिहरु गठन गर्न पार्टीले निर्देशन दिएको भएपनि पालिकाहरुले अहिलेसम्म भातृसंगठनका तदर्थ समितिहरु नबनाएको चापागाईँले बताए । उनले भने ‘अब हामी तदर्थ समितिहरु बनाउँछौं, उहाँहरुले भेला गर्न थालेपछि हामी आधिकारिक कमिटीहरु त्यतिकै बस्ने कुरा कसरी हुन्छ ।’

आइतबार विराटनगरमा आयोजना भएको क्षेत्र नम्बर ४ को तरुण दलको भेलामा कोइराला पक्षधर युवाहरु बहिस्कार गरेर बाहिरिए पनि संस्थापन पक्षका युवाहरु भेलामा सहभागी बने । उनीहरुलाई काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्