झापामा एमालेको स्थानीय तहको उम्मेदवार निर्वाचनबाट तय ,धेरै मत ल्याउने तीन जना सिफारिस

विर्तामोड । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका विभिन्न स्थानीय तहबाट एमालेले निर्वाचतनबाट सम्भावित उम्मेद्वारको नाम सिफारिस गरेको छ ।

कमिटिको निर्वाचनबाट हरेक पालिकामा कम्तीमा एक महिलासहित तीन जनाको नाम प्रमुख र उपप्रमुखको लागि सिफारिस गरिएको छ ।
सबैभन्दा धेरै मत पाउने तीन जनाको नाम सिफारिस गरिएको झापा एमालेका अध्यक्ष दिपक कार्कीले जनकारी दिए । त्यसका लागि हरेक पालिकाका पार्टी सदस्यहरुले मतदान गरेका थिए ।

अध्यक्ष ओलीको गृहनगर दमक नगरमा प्रमुख पदमा अहिलेकी उपप्रमुख गीता अधिकारीसहित ३ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुने अन्यमा प्रदेश कमिटि सदस्य अम्बिका खनाल र होमबहादुर थापा छन् । एमालेले हालका प्रमुख रोमनाथ ओलीको भने नाम सिफारिस गरेको छैन । दमकको उपप्रमुखमा एमालेले अध्यक्ष ओलीका स्वकीय सचिब इन्द्र भण्डारी, लीला दाहाल र निर्मला पाठकलाई सिफारिस गरेको छ ।

झापाका केही पालिकामा एमालेले शुक्रबार निर्वाचन गरेको थियो । विर्तामोडको मेयरका लागि भएको मतदानमा बहालवाला उपप्रमुख पवित्रा महतारा प्रसाईले सबैभन्दा बढी मत ल्याएर पहिलो भएकी छन् । दोस्रो नम्बरमा प्रदेश सांसद एकराज कार्की र तेस्रो नम्बरमा विर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको नाम सिफारिस भएको छ ।

मेयरका लागि बहालवाला मेयर ध्रुव शिवाकोटी, उपमेयर प्रसाई, प्रदेश सांसद कार्की, उमानाथ ओली र वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला आकांक्षी थिए । मेयर सिवाकोटी भने सिफारिसमै परेनन् ।

विर्तामोडको उपप्रमुखमा देवराज कार्कीले सबैभन्दा बढी मत ल्याए । दोस्रो नम्बरमा भीमा शिवाकोटी र तेस्रो नम्बरमा गणेश पोखरेलको नाम सिफारिस भएको छ । शिवाकोटी र पोखरेल दुवै पत्रकार हुन् ।

मेचीनगरको मेयरका लागि भएको मतदानमा प्रदेश १ का सांसद गोपाल बुढाथोकी, निलकण्ठ तिवारी र मिना पोखरेल उप्रेतीको नाम सिफारिश भएको छ । मिना पोखरेल उप्रेती बहालवाला उपप्रमुख हुन् ।

अर्जुनधारा नगर कमिटीले मेयरका लागि नगर अध्यक्ष बलदेव गोम्देनलाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमाले नगर कमिटी अध्यक्ष समेत रहेका गोम्देनलाई सर्वसम्मत उम्मेद्वारका रुपमा सिफारिस गर्ने निर्णय भएको हो ।अर्जुनधारामा वडाध्यक्षसमेत रहेका गोम्देनसहित मेयर पदमा बहालवाला उपमेयर कमला आचार्य, कमल गुरागाई र देवीमाया भट्टराईले आकांक्षा व्यक्त गरेका थिए ।

भद्रपुर नगरपालिकामा असारु राजबंशी, चन्द्रा श्रेष्ठ र कालीचरण बस्नेतको नाम अग्रस्थानमा सिफारिश भएको छ । उपप्रमुखमा कौशिला अधिकारी, हरि तिम्सिना र विनोद पोखरेलले बढी मत पाएका छन् । झापा एमाले सचिव शिव ढुंगेलका अनुसार अन्य पालिकाहरुमा पनि उम्मेद्वार सिफारिश प्रक्रिया जारी छ । केही दिनभित्रै सिफारिश टुंग्याउने उनले बताए ।

चैत्र २८, २०७८, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर