मोरङमा गठबन्धनबारे काँग्रेस विभाजित

विराटनगर । आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गरेर जाने निर्णय नेपाली काँग्रेसले गरेको भएपनि त्यसको कार्यान्वयमा जटिलता देखिएको छ ।

खासगरि काँग्रेसमा गठबन्धनको विरोध गर्दै आएका डा. शेखर कोइराला पक्षले जिल्ला र पालिका तहसम्मै गठबन्धन नगर्ने तयारी गरेपछि काँग्रेसभित्र पनि विवाद देखिएको छ ।

केन्द्रबाट आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय काँग्रेसले गरेको भएपनि डा.कोइराला त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । उनले काँग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्न नहुने भन्दै गठबन्धन गरेपनि कम्युनिष्टले काँग्रेसलाई मत नदिने बताउने गरेका छन् ।

डा.कोइरालाको जस्तै मत उनीपक्षीय तल्लो तहका कार्यकर्ताको पनि छ । खासगरी कोइराला पक्ष हाबी रहेको मोरङ काँग्रेसको नेतृत्व गठबन्धनप्रति अनुदार छ । सोही पक्षको पकडमा रहेको काँग्रेसको विराटनगर महानगर समिति र सुनवर्षि नगर समितिले गठबन्धन नगर्ने निर्णय गरिसकेका छन् ।

मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रहेका रोहितकुमार कार्की कम्युनिष्ट र काँग्रेसको मत आदनप्रदान नहुने भएकोले गठबन्धन गर्न नहुने बताउँछन् । स्थानीय कार्यकर्ताले पनि गठबन्धन नगर्न सुझाब दिएको उनको दावी छ ।

उता मोरङको रतुवामाई नगरपालिकाका प्रमुख रविन राई र सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिव ढकाल भने पार्टी केन्द्रले निर्णय गरिसकेको र प्रतिगमनको मतियारलाई साईजमा राख्न गठबन्धन गर्नुपर्ने पक्षमा छन् । राईले त गठबन्धन सरकारमा रहेका शक्तिबाहेक पालिकामा रहेका अन्य शक्तिलाई पनि साथमा लिएर जानुपर्ने बताएका छन् । केन्द्रले निर्णय गरिसकेकोले गठबन्धन मान्दिन भन्ने अधिकार कुनैपनि काँग्रेसलाई नभएको उनको भनाइ छ ।

मोरङको उर्लाबारी नगरपालिकाको प्रमुख रहेका नेपाली काँग्रेस प्रदेश १ कमिटिका सहमहामन्त्री खड्ग फागोले गठबन्धन अहिलेको आवश्यकता भएको बताउँदै त्यसको विरुद्ध कुनैपनि काँग्रेसको कार्यकर्ता जान नसक्ने बताए । आफ्नो पालिकामा गठबन्धन हुने बताउँदै उनले काँग्रेसको आन्तरिक निर्वाचनमा पराजित भएकाहरु र उनीहरुको पक्षमा लाग्नेहरु गठबन्धनको विरुद्ध उभिएको दावी गरे ।

‘पार्टी सभापतिलाई असहयोग गर्ने योजनासहित पराजित भएकाहरु गठबन्धनको विरोधमा उत्रिएका छन्’ उनले भने, ‘पार्टीले निर्णय गरिसकेकोले उनीहरुको विरोधको खासै अर्थ हुँदैन । केन्द्रको निर्णय सबैले मान्नुपर्छ ।’

मोरङका १७ स्थानीय तहमध्ये विराटनगरमा एक्लै चुनाब जित्न सकिने काँग्रेसको दावी छ । काँग्रेसको त्यो बुझाई र महानगरको काँग्रेस नेतृत्व कोइराला पक्षीय रहेकोले महानगर समितिले एक्लै निर्वाचनमा जाने निर्णय लिएको हो ।

नेपाली काँग्रेसका मोरङ सचिब मोदराज घिमिरे भने गठबन्धनको आवश्यकता रहेको काँग्रेसले बुझेको बताउँदै गठबन्धनको मोडालिटीबारे सहमतिको खोजी भइहरेको बताउँछन् । उनले आफूहरु गठबन्धनको विपक्षमा नरहेको बताउँदै मोडालिटीबारे सहमति खोज्न केन्द्रसँगको परामर्शपछि अर्को बैठक बस्ने बताए ।

मोरङको सुन्दरहरैंचा, लेटाङ, पथरीशनिश्चरे, उर्लाबारी, रतुवामाई, कानेपोखरीलगायतका स्थानीय तहमा भने गठबन्धन गरेर जानुपर्ने पक्षमा काँग्रेसको स्थानीय नेतृत्व रहेको छ ।

चैत्र २६, २०७८, रातीको ०८:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर