गठबन्धनबीच बढ्दै खटपटः मोरङमा दलहरुबीच सहमति जुटेन

विराटनगर । नेपाली कांग्रेसले निर्वाचनमा गठबन्धन गर्ने विषयमा स्थानीय तहहरुमै सहमति खोज्नुपर्ने अडान राखेपछि शनिबार मोरङका गठबन्धन आबद्ध दलहरुको बैठक विनानिश्कर्ष सकिएको छ ।

नेपाली काँग्रेसभित्र गठबन्धनको विपक्षमा रहेका डा.शेखर कोइराला पक्षको पकड रहेको मोरङ काँग्रेसले जिल्ला तहबाट गठबन्धन गर्न नसक्ने बताएपछि चुनाबी तालमेलबारे छलफल गर्न बसेको गठबन्धनमा आबद्ध चार दलको बैठकमा सहमति नजुटेको हो ।

यसअघि मोरङमा काँग्रेस एकलौटी अगाडि बढ्न खोजेको आशंकासहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै छलफल चलाएका थिए । तीन दलले शनिबारको बैठकमा पनि काँग्रेस गठबन्धनको लागि तयार हो कि हैन भन्ने धारणा स्पष्ट पार्नुपर्ने बताएका थिए ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिव गणेश उप्रेतीका अनुसार काँग्रेसका नेताहरुले गठबन्धनबारे जिल्लाबाट निर्णय गर्नसक्ने अवस्थामा आफूहरु नरहेको भन्दै पालिकालाई नै त्यो जिम्मा दिनुपर्ने बताएका थिए । काँग्रेसबाहेक तीन दलका नेताहरुले भने जिल्लाबाटै प्याकेजमा गठबन्धन गर्नुपर्ने बताउँदै त्यसलाई काँग्रेसले नमान्ने हो भने गठबन्धनबाट अलग भएको घोषणा गर्नुपर्नेमा जोड दिएका थिए ।

काँग्रेसले केन्द्रको गठबन्धनको स्पिरिट अनुसार सकारात्मक निकास निकाल्न नचाहेकोले सहमति जुट्न नसकेको बैठकमा सहभागी एक नेताले बताए । स्थानीय पालिकाहरु गठबन्धनको लागि सकारात्मक रहेको अवस्थामा पनि काँग्रेसभित्रको आन्तरिक शक्ति संघर्षको कारण कोइराला पक्षमा रहेको जिल्ला नेतृत्व त्यसप्रति अनिच्छुक देखिएको उनको भनाइ छ ।

तीन दलले जिल्लाबाटै प्याकेजमा सहमति जुटाउनुपर्ने अडान राख्दै त्यसको सहमति केन्द्रबाट लिन काँग्रेसलाई आग्रह गरको छन् । अबको बैठकमा काँग्रेसले त्यसबारे स्पष्ट धारणा लिएर आउने र गठबन्धन गर्ने कि नगर्ने यकिन हुने नेताहरुले उप्रेतीले बताएका छन् ।

नेपाली काँग्रेसका मोरङ सचिब मोदराज घिमिरेले गठबन्धनको आवश्यकता रहेको काँग्रेसले बुझेको बताउँदै गठबन्धनको मोडालिटीबारे सहमति खोजी भइहरेको बताए । उनले आफूहरु गठबन्धनको विपक्षमा नरहेको बताउँदै मोडालिटीबारे सहमति खोज्न केन्द्रसँगको परामर्शपछि अर्को बैठक बस्ने बताए । शनिबार नै नेपाली काँग्रेसले १७ वटै पालिकाका सभापतिहरुसँग गठबन्धनका विषयमा सुझवलिँदै छलफल चलाएको थियो । त्यस छलफलमा अघिल्लो निर्वाचनमा हारेका पालिकाबाहेकका नेताहरुले तालमेल गरेर जाँदा चुनाव जित्न सकिने सुझव दिएको सचिब घिमिरेले जानकारी दिए । तर, गठबन्धनका अन्य दलहरु सबैतिर गठबन्धन बनाएरै जानेगरी एकमुष्ठ निर्णय गरौं भन्ने प्रस्ताव आएकोले त्यस विषयमा दुईतीन दिनभित्र केन्द्रसँग समन्वय गरेर कुन मोडालिटीमा जाने भन्ने टुंगो गर्नुपर्ने भएको उनले बताए ।

बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डल, प्रदेश सचिब गणेश उप्रेति र जिल्ला संयोजक विजयकुमार विश्वास सहभागी थिए । यस्तै नेपाली काँग्रेसबाट जिल्ला सभापति डिगबहादुर लिम्बू र सचिब मोदराज घिमिरे, नेकपा एीकृत समाजवादीबाटछ प्रदेश सचिव महेश रेग्मी र जिल्ला अध्यक्ष चन्द्रबीर राई, जसपाबाट जयराम यादव, राजकुमार यादव र भुराज राई बैठकमा बसेका थिए ।

यसअघि काँग्रेसबाहेक गठबन्धन आबद्ध तीन दलको बैठकले काँग्रेस इमान्दार भएर नआए विकल्प खोज्ने निर्णय गरेको थियो । मोरङमा कांग्रेसको कोइराला समूहले निक्कै दम्भ देखाएको भन्दै तीन दलले उसलाई एक्ल्याउन जस्तोसुकै विकल्प खुल्ला गर्ने निर्णय गरेको बताइएको छ ।

मोरङमा मात्र नभएर प्रदेश १ मै काँग्रेसले गठबन्धनप्रति इमान्दारिता नदेखाएको अन्य दलले आरोप लगाएका छन् । नेकपा (माओवादी केन्द्र)का प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङले कांग्रेसले गठबन्धनको विषयलाई महत्व नदिएको बताए । उनले गठबन्धन भनेको लिने र दिने दुवै भएपनि कांग्रेसले आफूलाई मात्रै केन्द्रीत गर्न खोजेको बताए ।

कांग्रेस प्रदेश १ का सभापति उद्धब थापाले स्थानीय तहलाई नै गठबन्धन गर्ने नगर्ने विषयमा अधिकार दिएको बताएका छन् । कतै गठबन्धन हुने र कतै नहुने हुनसक्ने उनको भनाइ छ ।

चैत्र २६, २०७८, रातीको ०८:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर