स्कूल हिँडेकी किशोरीको हत्या, सँगै पढ्ने साथी र उनका दाजु पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ कोशी जनता माध्यमिक विद्यालयमा पढिरहेकी बुद्धचोकीकी १७ वर्षीया कविता सुनुवारको हत्या भएको छ ।

घरबाट ट्युसन पढ्न भनेर हिँडेकी उनको हत्या भएको अवस्थामा शव फेला परेको हो । मंगलबार बिहान ५ बजे उठेर स्कूल हिँडेकी उनको करिब २० मिनेटभित्रै हत्या भएको पाइएको प्रहरीले जनाएको छ ।

एसईईको तयारीमा रहेकी उनी प्रायः साथीहरूसँग स्कूल जाने गरेकोमा मंगलबार एक्लै गएको पाइएको छ । घरनजिकै रहेको जसोधा खोलामा काठमाथि घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।

घटनास्थलनजिकै बाँसघारी रहेको र उनको हत्या बाँसघारीमै भएको हुनसक्ने देखिएको बेलका नगरपालिका ३ का वडाध्यक्ष भरतकुमार मगरले बताए । बाँसघारीबाट घिसारेर केही तल मुडा थुपारिएको चेपमा उनको शव लगेको अनुमान गरिएको छ ।

किशोरीको टाउकोमा ठूलो चोट रहेको र ढुंगाले प्रहार भएको जस्तो देखिने प्रहरीले जनाएको छ । स्थानीय रमेश बस्नेत भैँसीलाई खोलामा लैजाने क्रममा बिहान ६ बजेतिर शव देखेका थिए । त्यसपछि प्रहरीलाई खबर भएको थियो ।

घटनामा शंकास्पद दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कवितासँगै अध्ययन गर्ने किशोरी र उनका दाजु विनोद ढकाल छन् । दुईसँग सोधपुछ गर्दा कुरा बाझिएपछि उनीहरूलाई पक्राउ गरेको उदयपुर प्रहरी प्रमुख सुवास बोहराले बताए । प्रहरीका अनुसार उनीहरुबीच पुरानो मनमुटाब रहेको पाइएको छ ।

वियरको बोत्तल र ढुंगा प्रहार गरेर किशोरीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र ढुंगा पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी छात्राले बिहानै कवितालाई फोन गरेर बोलाएको पाइएको छ । तर, कविता स्कूलतिर जाँदा उनी घरमै थिइन् । पक्राउ परेकी छात्रा आमा र बहिनीसँग बस्थिन् भने विनोदको घर सिक्किम हो । उनी काकाको घरमा बस्दै आइरहेका थिए ।

कबिता अध्ययन गर्ने विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साहका अनुसार ती साथीसँग फोनमा कुराकानी भएपछि कविता घरबाट निस्केकी थिइन् । तर, उनी बिच बाटोबाटै घर फर्किएको पाइएको छ । साहका अनुसार बेलका नगरपालिकाले स्कुलमा अतिरिक्त कक्षा सञ्चालन गरेको छ । स्कुलले बिहान सवा ६ बजे अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ ।

ढुंगा प्रहारबाट कविताको अनुहार क्षतविक्षत छ । उनको अनुहार चिन्न नसक्ने अवस्थामा छ । घटनापछि स्थानीय र विद्यार्थी आक्रोशित छन् । उनीहरूले इलाका प्रहरी कार्यालय रामपुरमा घेराउ गरेका छन् ।

प्रहरीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ । शव पोस्टमार्टमको तयारी भइरहेको छ । विद्यालयका प्रधानाध्यापक शाहले अनुशासित र मेहेनती छात्राको हत्या हुँदा विद्यालय परिवार नै स्तब्ध बनेको बताउँदै घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरे ।

घटनाको अनुसन्धान संघीय प्रहरी इकाई कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय उदयपुरले गरिरहेका छन् ।

चैत्र २२, २०७८, साँझको ०५:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर