विराटनगरमा दोहोरिएला त विगतको श्रृंखला ? गठबन्धन नभए कांग्रेसलाई कठिन

विराटनगर । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन चहलपहल बढ्दै छ । सत्ता गठबन्धन दलहरु र एमालेबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको निर्वाचनबाट विराटनगरको नेतृत्वबारे पनि बहस सुरु भएको छ ।

नेपाली कांग्रेसको स्थापना कालदेखिको बिरासत बोकेको विराटनगरलाई काँग्रेसले आफ्नो आधार क्षेत्र मान्ने गरेको छ । तर, विगतका धेरै निर्वाचनमा उ यहाँ पराजित बनेको छ ।

पिताजी स्व.कृष्णप्रसाद कोइराला, उनका छोराहरु स्व.विपी कोइराला, स्व.मातृका प्रसाद कोइराला, स्व.गिरिजाप्रसाद कोइरालादेखि हालका कांग्रेस नेता शेखर कोइरालासम्मको लिगेसी विराटनगरमा छ । अर्कोतिर कम्युनिष्ट नेताहरु मनमोहन अधिकारी, मदन भण्डारी, भरतमोहन अधिकारीसम्मको राजनीतिक थलोको रुपमा विराटनगरलाई चिन्दछन् । नेकपा एकीकृत समाजवादीका नेता माधबकुमार नेपाल पनि यहाँ जोडिएका छन् ।

हालसम्म विराटनगरमा भएको स्थानीय तहको निर्वाचनमा दुई पटक कम्युनिष्ट (ले र २ पटक कांग्रेसले जित निकालेको छ । २०४३ सालको निर्वाचनमा जनपक्षीय बामपन्थी उम्मेद्वार ध्रुवनारायण श्रेष्ठले चुनाव जितेका थिए । २०४९ सालमा कांग्रेसका उम्मेद्वार अशोक कोइराला विजयी बनेको विराटनगरमा २०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल विजयी बने । २०७४ सालका स्थानीय तहमा भने पुनः कांग्रेसका उम्मेद्वार भीम पराजुली विजयी बने ।

विराटनगरको रोचक विगत एउटा निर्वाचनमा जितेको पक्ष अर्को निर्वाचनमा पराजित भएको छ । २०७४ को निर्वाचितमा विजयी भएका काँग्रेसका पराजुलीले महानगरको नेतृत्व गर्न नसकेको आलोचनाबीच धेरैले त्यो विगत सम्झिएका छन् । २०७४ को निर्वाचनको बेलाको पराजुलीको आकर्षक छवि व्यक्तित्व कांग्रेसका अन्य व्यक्तिमा एकातिर छैन भने अर्कोतिर पराजुली पनि विश्लेषकबीच अक्षम र नेतृत्व दिन असफल व्यक्तिको रुपमा चित्रित भएका छन् ।

२०७४ को मतको हिसाब

२०७४ सालको निर्वाचनमा काँग्रेस एक्लै चुनाब लड्दा एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक तथा माओवादी केन्द्र र मधेसी जनअधिकार फोमर गठबन्धन गरेर प्रमुख र उपप्रमुख पदमा लडेका थिए । वडामा दलहरुको गठबन्धन नभएकोले वडामा प्राप्त गरेको मतलाई दलको मत मान्न सकिन्छ ।

त्यो निर्वाचनको मतपरिणाम अनुसार सबै वडाध्यक्षको मत जोड्दा कांग्रेसको १६ हजर ७६६ हुन्छ, एमालेको १६ हजार २१८, संघीय समाजवादी फोरमको १० हजार ९३२, माओवादी केन्द्रको ८ हजार र राप्रपाको ४ हजार २९१ छ । ४ हजार ४५२ मत प्राप्त गरेको फोरम लोकतान्त्रिक काँग्रेसमा समाहित भइसकेको छ ।

विराटनगरमा कांग्रेसले ८ वटा वडा जितेको छ भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेद्वारले १ वडा जितेका छन् । त्यसबेला कांग्रेसबाट प्रमुख पदका उम्मेद्वार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बन्दा एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३२१ र माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेद्वार बनेका उमेशकुमार यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए ।

यस पटक के होला ?

विराटनगरमा अघिल्लो चुनाबके तुलनामा १९ हजार ३८१ मतदाता थप भएका छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार मतदाताको संख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १४२ जना पुगेको छ ।

२०७४ सालको निर्वाचनयता काँग्रेस र लोकतान्त्रिक फोरम एकीकृत भएका छन् भने एमाले र माओवादी केन्द्रको एकता भई विभाजन पनि भएको छ । एमाले फुटेर नेकपा एकीकृत समाजवादी पन िबनेको छ ।

मतको रुझान हेर्दा विराटनगरका मतदाता बामपन्थी र कांग्रेस निकट बराबर छन् । २०७४ सालको निर्वाचनमा बामपन्थी मत २४ हजार २१९ हुँदा कांग्रेस र राप्रपाको मत २६ हजार १५१ थिउो । जनता समाजवादीको १० हजार ९३२ ।

बामपन्थीहरुबीचको बेमेलले कांग्रेसलाई सहज बनेको विराटगरमा एकीकृत समाजवादीले पनि एमालेको करिब ३ हजारदेखि ३५ सयसम्म मत काट्नसक्ने अनुमान स्वयम् एमाले नेताहरुले गरिरहेका छन् । समाजवादीका नेताहरु भने ५ हजार मत प्राप्त गर्ने दावी गर्छन् ।

नेकपा विभाजन र लोकतान्त्रिक फोरम आफूमा समाहित भएको कारण विराटनगरमा काँग्रेसलाई सहज मानिएको छ । तर, कांग्रेसमा अहिले वडा तहदेखि नै झाँङ्गीएको देउवा र कोइराला प्यानलले एकअर्कामा भोट क्रस हुने सम्भावना रहेको धेरैको भनाइ छ । राप्रपासँग तालमेल गरेर सशक्त उम्मेद्वार दिए एमालेले चुनाबमा कडा टक्कर दिने संभावना छ ।

राप्रपा मोरङका अध्यक्ष माधव आचार्यले आफूहरुलाई उपमेयर दिए एमालेसँग तालमेल हुनसक्ने बताउँछन् । यद्यपि हालसम्म पार्टीले एक्लै लड्ने तयारी गरिरहेको उनको भनाइ छ । एमाले विराटनगरका अध्यक्ष सागर थापाले पनि एमाले एक्लै चुनाव लड्ने तयारी गरिरहेको बताउँछन् । कांग्रेस पनि चुनावी गठबन्धनको विषयमा छलफल नभएको बताउँछ । कांग्रेस विराटनगरका सभापति दीपक चापागाईले अहिलेसम्म आफूहरु एक्लै लड्नेगरी तयारीका साथ लागिरहेको बताए ।

माओवादी केन्द्र, जनता समाजवादी तथा नेकपा एकीकृत समाजवादी भने गठबन्धन गरेरै चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् । उनीहरूले केन्द्रबाटै ठोस निर्णय आउने भन्दै कुरिरहेका छन् ।

विराटनगरका कांग्रेस निकट पत्रकार अनन्तराज न्यौपानेले भीम पराजुलीको काम गराइका कारण कांग्रेसलाई आगामी निर्वाचनमा कठिन हुने दाबी गरे । ‘पराजुलीको पर्फमेन्स राम्रो भएन, उनै उम्मेद्वार हुँदा कठिन हुने नै भयो, अर्को उम्मेद्वार हुँदा पनि त्यसको असर गर्छ नै,’ उनले भने, ‘हरेक स्थानीय चुनावमा मतपरिणाम ठिक विपरीत आउने गरेको छ, यसपटक पनि त्यस्तै भयो भने अनौठो नमाने हुन्छ ।’

चैत्र २०, २०७८, बिहानको ११:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर