प्रदेश १ मा चुनाबी तालमेलको लागि कार्यदल गठन

विराटनगर । प्रदेश १ मा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलको बैठकले वडा तहसम्मै सहमति गरेर चुनावमा जाने निर्णय गरेको छ । सुनसरीको इटहरीमा शनिबार बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गरेका निर्णयहरुमा गठबन्धनलाई तलसम्म कार्यान्वयन गर्नका लागि वडा तहसम्मै निर्वाचन संयन्त्र बनाएर गठबन्धनलाई प्रभावकारी बनाउने र प्रदेश गठबन्धनलाई सहज बनाउन प्रदेशमा कार्यदल बनाएर काम गर्ने निर्णय गरेको छ । कार्यदलमा सबै दलका प्रदेशस्तरीय शीर्ष नेता सहभागी हुनेछन् ।

सबै जिल्लामा सम्मानजनक गठबन्धन र तालमेललाई विशेष जोड दिने, अन्य दलहरुसँग पनि गठबन्धनका लागि आव्हान र वार्ता गर्ने निर्णय बैठकले गरेको छ । गठबन्धनबाहेकका दलहरु राप्रपा र संघीय लिम्बुवान राष्ट्रिय मञ्चलगायतसँग पनि तालमेलको लागि छलफल गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिवकुमार डाँगीले जानकारी दिए ।

बैठकमा गठबन्धनको मोडल कस्तो हुने भन्ने विषयमा सुझाव दिन कार्यदल निर्माण भएको छ । कार्यदलमा कांग्रेसबाट प्रदेश सभापति उद्धब थापा र महामन्त्री उमेश थापा, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लिङ र उपाध्यक्ष उमेश थापा छन् ।

बैठकले प्रदेशका प्रमुखहरु रहेको अनुगमन संयन्त्र पनि निर्माण गरेको छ । यो अधिकारसम्पन्न अनुगमन समिति हो । ‘गठबन्धन भित्रका पार्टीहरुले गठबन्धन विरोधी कुरा गर्नु नहुने, उम्मेद्वारी दर्ता भइसकेपछि त्यसको विरुद्धमा जानेहरुलाई नियन्त्रण गर्ने काम पनि सो संयन्त्रले गर्नेछ,’ डाँगीले भने । अहिले जिल्ला भन्दा तल गठबन्धनको विषयमा छलफल नगर्ने निर्णय भएको पनि उनले बताए ।

बैठकमा नेपाली कांग्रेसबाट प्रदेश १ सभापति उद्धब थापा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, नेकपा (एकीकृत समाजवादी)का प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत तथा अध्यक्ष बलदेव चौधरी र जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लिङ सहभागी थिए ।

सबै जिल्लामा छलफल सुरु
गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका प्रदेश सभापति उद्धब थापाले कसरी तालमेल गर्ने, कहाँ कसले प्रमुख, उपप्रमुख, वडा कता लिने भन्ने कुराको विषयमा छलफल प्रारम्भ भएको बताए । उनले १ नम्बर प्रदेशका सबै जिल्लामा पनि सोही हिसावले छलफल सुरु भएको जानकारी दिए । केन्द्रको निर्णय अनुसार प्रदेश १ का सबै तहमा गठबन्धनको विकल्प नभएको उनको भनाइ थियो ।

धनकुटामा संयन्त्र निर्माण
धनकुटामा भने गठबन्धन चार दलले जिल्लामा संयन्त्र निर्माण गरेर वडा सदस्यसम्मका उम्मेद्वारकै नामावली एक हप्ताभित्र तयार पर्ने निर्णय गरेको छ ।

शुक्रबार धनकुटामा बसेका चार दलको बैठकले यस्तो निर्णय गरेको नेकपा माओवादी केन्द्रका नेता हेमराज भण्डारीले जानकारी दिए । ‘हामीले धनकुटामा वडातहसम्मै गठबन्धन गरेर जाने निर्णय गरिसकेका छौं,’ भण्डारीले भने, ‘जिल्लाका दलका अध्यक्ष तथा सभापतिहरु सम्मिलित संयन्त्र निर्माण भएको छ, त्यसले एक हप्ताभित्रमा सबै पालिकाका उम्मेद्वारको नाम लिष्ट बुझाउने छ ।’

मोरङमा चार दलको बैठक
मोरङमा रहेका गठबन्धन दलमध्ये नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच विराटनगरस्थित होटल स्टर्न स्टारमा शुक्रबार छलफल भएको छ । माथिको निर्णयलाई कसरी कार्यान्वयन गरेर जाने भन्ने विषयमा प्रारम्भीक छलफल भएको नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले जानकारी दिए ।

बैठकमा कांग्रेसका तर्फबाट मोरङ सभापति डिकबहादुर लिम्बू, माओवादीबाट मोरङ संयोजक विजय विश्वास, सचिव प्रकाश पौडेल, नेकपा एकीकृत समाजवादीका तर्फबाट रेग्मीसहित मोरङका अध्यक्ष चन्द्रवीर राई तथा जनता समाजवादीका तर्फबाट मोरङका अध्यक्ष राजकुमार यादवलगायतको उपस्थिति थियो ।

‘बैठकले छिट्टै अर्को बैठक बस्ने र सहमति गरेर निर्वाचनमा जाने विषयमा छलफल भएको छ,’ नेकपा एकीकृत समाजवादीका नेता रेग्मीले भने, ‘मोरङमा चार दलीय गठबन्धन हुने निश्चित भयो ।’ छलफल झण्डै २ घण्टा चलेको थियो । बैठकमा बोल्ने दलका नेताहरुले गठबन्धन गर्ने विषयमा आ–आफ्ना पार्टीभित्र पनि छलफल गर्ने र सहमतिका साथ आउनुपर्ने बताएका थिए ।

सुनसरी जिल्लामा पनि गठबन्धन दलबीच छलफल सुरु भएको माओवादी नेता शिवकुमार डाँगीले बताए । झापामा पनि आज चार दलीय गठबन्धनबीचको छलफल हुन लागेको बताइएको छ ।

चैत्र १९, २०७८, दिउँसोको ०३:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर