विराटनगर । नेकपा माओवादी केन्द्रले चुनावी अभियानलाई अगाडि बढाउँदै मंगलबार विराटनगर १९ मा पार्टी कार्यालय स्थापना गरेको छ । माओवादी केन्द्रले विराटनगरमा रहेको १९ वडामध्ये मंगलबार १४ औं वडा पार्टी कार्यालय उद्घाटन गरेको हो । मोरङ क्षेत्र नम्बर ४ का संघीय सांसद अमनलाल मोदीले वडा पार्टी कार्यालय उद्घाटन गरे ।
पार्टी कार्यालय उद्घाटन गर्दै सांसद मोदीले मजदुर, किसान र तल्लो वर्गको जनताको हितका लागि माओवादी केन्द्रले जित्नै पर्ने बताए । मोरङको क्षेत्र नम्बर ४ बाट संघीय सांसद र प्रदेस सांसद माओवादीले जितेकै कारण इतिहासमै पहिलो पटक त्यस क्षेत्रले विकास देख्न पाएको भन्दै अझै धेरै काम गर्न बाँकी रहेकोले पनि माओवादीले जित्नु पर्ने उनको भनाइ थियो ।
संघीय र प्रदेश सांसद जितेर मात्र जनताका स–साना कामहरु गर्न ंसमस्या हुने अनुभव सुनाउँदै सांसद मोदीले वडा र महानगरमा जित्नसक्दा अझ धेरै काम गर्न सकिने बताए । महानगरको नेतृत्व आफ्नो पक्षमा नहुँदा विपन्न गरिबका लागि ल्याएको विपन्न आवास लगायत कतिपय कार्यक्रमहरु मेयर र वडाध्यक्षले अन्यत्र लगेको गुनासो गरे । यद्यपि सामुदायिक विकासका क्षेत्रमा धेरै काम गरेको भन्दै वडामा जित्ने गरी सबै जुट्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका पूर्वमन्त्री बिजयकुमार विश्वासले जनतामा माओवादीले मात्र विकास गर्छ र जनताको सेवा गर्छ भन्ने विश्वास पैदा भएको भन्दै अब माओवादीको जितलाई कसैले रोक्न नसक्ने बताए । उनले घिनाघाट विराटचोक चारलेन सडक माओवादी जितकै परिणामको रुपमा जनताले लिएको दाबी गरे ।
नेकपा माओवादी केन्द्र महानगरका सह–इन्चार्ज भोगेन्द्र यादवले भूमिहीन सुकुम्बासी, दलित र मजदुरहरुको हित माओवादीले मात्र गर्ने जिकिर गरे । माओवादीले लामो समयदेखि भूमिहीन सुकुम्बासीलाई जग्गा दिएर भूमि समस्या समाधान गर्नुपर्छ भन्ने माग गरिरहेको र अहिले त्यो पूरा हुने चरणमा प्रवेश गरेको बताए । काँग्रेस नेतृत्वको महानगरपालिका गरिब र विपन्नप्रति अनुदार भएकै कारण अहिलेसम्म लालपूर्जा पाइसक्नु पर्ने सुकुम्बासीहरुले जग्गा पाउन नसकेको भन्दै अब माओवादी नेतृत्वमा त्यो काम अघि बढ्ने बताए । माओवादी आन्दोलनले देशमा धेरै परिवर्तन ल्याएको भन्दै अब जनतालाई समृद्ध बनाउन, शिक्षा र स्वास्थ्य गरिब जनताको पक्षमा पार्ने काम बाँकी रहेकोले सबै तहमा माओवादीले जित्नै पर्ने नेता यादवले बताए । कार्यक्रममा बोल्दै सहइन्चार्ज हरि घिमिरेले महानगरको चारै तर्फ माओवादी जिताउने अभियान चलेको र माओवादीले मात्र निमुखा जनताको हितमा काम गर्ने दाबी गरे ।
कार्यक्रममा महानगर सचिव नमिता न्यौपानेले माओवादीले नजित्दासम्म विपन्न वर्गको हक र अधिकार उपभोग गर्ने वातावरण नबन्ने बताइन् । विपन्न वर्गले आफ्नै वर्ग र समुदायको नेता चुन्ने अवसर गुम्न दिन नहुने भएकोले एक पटक स्थानीय तहमा माओवादीको काम हेर्नेगरी निर्णय लिइदिन उनले आग्रह गरिन् ।

