विराटनगर । मोरङको लेटाङमा एक जना महिला प्रहरीको हत्या आरोपमा पक्राउ पर्नेको संख्या २० पुगेको छ । मोरङ प्रहरीले यस घटनामा एक जना महिलासहित २० जनलाई पक्राउ गरेको हो ।

पहिलो चरणमा ९ र पछि थप ११ जना गरि प्रहरीले मोरङ अदालतमा २० जनालाई ‘कर्तब्य ज्यान मुद्दामा’ म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ अदालतले जानकारी दिएको छ ।

चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षिय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा संलग्न भएको लेटाङ नगरपालिका ५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्र कान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्षीय प्रदिप राई, सोही वडाकी १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय संंजय मगर रहेका छन् ।

यस्तै मिक्लाजुङ्ग गाउँपालिका २ घर भइ लेटाङ ५ का २० वर्षीय कृष्ण विक, लेटाङ ५ का संजीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, सुनिल लिम्बू, प्रलाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान गर्दै हत्यामा संलग्नलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । ‘अहिलेसम्म २० जनालाई पक्राउ गरिएको छ,’ उनले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’

महिला प्रहरीको ज्यानै जाने गरि भएको लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन भएको छ । ‘हिंसात्मक झडपको घटनाको अनुसन्धानको लागि संयुक्त रूपमा अनुसन्धान सुरू भएको छ,’ उनले भने, ‘अनुसन्धान गर्दै पक्राउ गरिने र सोधपुछ हुने क्रममा जारीनै रहेको छ ।’

प्रहरीले यस घटनामा संलग्नलाई पक्राउ गरि घटनाको अनुसन्धान गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । ‘घटना घटाएपछि आरोपी फरार भएका छन् । उनीहरू जंगलमा रहेको हुनसक्ने भएकोले प्रहरीले लेटाङ्ग, केराबारी र मिक्लाजुङ्गसँगै उत्तरी क्षेत्र सर्च अभियान पनि सुरू गरेको छ,’ घटनाको अनुसन्धान गर्दै आएका प्रहरी अधिकृतले भने, ‘अहिले आरोपी भाग्न नपाहोस भनेर जंगलसहित जिल्ला नाकासहित चारै तिर प्रहरी परिचालन गरिएको छ ।’ अहिले यस घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारूङसहितका प्रहरीका अधिकारीहरूले अनुसन्धान गर्दै आएको छ ।

यस घटनाको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानविन समिति गठन गरेर छानविन पनि सुरु गरेको छ । समितिमा एसएसपीसहित एक जना डिएसपी, इन्सिपेक्ट र दुई जना असाइ रहने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरूणकुमार बिसीले जानकारी दिए । छानविन समितिले अनुस्न्धान पूरा गरेपछि प्रदेश प्रहरी कार्यालाइ प्रतिवेदन बुझाउँछ ।