लोड हुँदैछ...

मेनु

महिला प्रहरीको हत्या प्रकरणमा ९ जना पक्राउ

महिला प्रहरीको हत्या प्रकरणमा ९ जना पक्राउ

विराटनगर । मोरङको लेटाङमा महिला प्रहरी जवानको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । आइतबार मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको छुरा प्रहारबाट मृत्यु भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नौ जनलाई पक्राउ गरि कर्तब्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले सुनिल लिम्बु, पासाङ तामाङ, अश्विन तामाङ्ग, सञ्जीव प्रधान, कान्ता लामा, युनिश कट्टेल, प्रलात खड्का र श्रवण यादवलाई पक्राउ गरेको छ ।

पक्राउ परेका ९ जनालाई मोरङ प्रहरीले कर्तब्य ज्यान मुद्दामा मोरङ अदालतमा ५ दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरूणकुमार बिसीले जानकारी दिए । चैत ७ गतेदेखि लागू हुनेगरि पक्राउ परेका ९ जनालाई चैत ११ गतेसम्म अनुसन्धान गर्न मोरङ अदालतले म्याद दिएको छ । अदालतले दिएको म्याद सकिएपछि प्रहरीले पुनः उनीहरूलाई शुक्रबार अदालत म्याद थप गर्न लैजाननेछ ।

पहिलो पटक म्याद थप गरिएका आरोपीहरूलाई प्रहरीले शुक्रबार मोरङ अदालतमा दोस्रो पटक म्याद थप गर्न लैजाने तयारी गरेको छ । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न थप चार जनाविरूद्ध पक्राउ पूर्जी माग गरेको थियो । बिहीबार अदालतबाट पक्राउ पूर्जी जारी भएको छ ।

पक्राउ पूर्जी जारी भएपछि घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भएको छ । लेटाङ्ग घटनामा मृतक परिवारले १९ जना विरूद्ध किटानी जाहेरी मोरङ प्रहरीमा दिएका छन् । सोही आधार र घटनाको अनुसन्धान गर्दै प्रहरीले शंकास्पद व्यक्तिहरु पक्राउ गरेको हो ।

प्रहरीले आरोपीलाई पक्राउ गरि म्याद थप गरेको तीन दिन बितिसक्दा पनि आधिकारिक रूपमा त्यसबारे जानकारी दिएको छैन । महिला प्रहरीको ज्यान जानेगरि भएको लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन भएको छ ।

मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले लेटाङ्गको घटना अनुसन्धानको लागि प्रहरी मुख्यालयको अपराध अनुसन्धान महाशाखासहितको संयुक्त टोली खटिएको बताए । ‘हिंसात्मक झडपको घटनाको अनुसन्धानको लागि संयुक्त रूपमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘यस घटनामा केही व्यक्तिलाई पक्राउ परेका छन् ।’

घटनापछि लेटाङ क्षेत्रबाट प्रहरीले तीन दर्जन बढी स्थानीयलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । अहिलेसम्ममा ४० भन्दा बढी सर्वसाधारणलाई नियन्त्रणमा ल्याएर प्रहरीले सोधपुछ गरिसकेको छ । ‘नियन्त्रणमा लिएर ल्याउने र सोधपुछ गर्ने क्रम जारी छ,’ एसपी जिसीले भने, ‘त्यसैले अहिलेसम्म कतिलाई नियन्त्रणमा लिइयो भन्ने अवस्था छैन ।’

स्थानीयका अनुसार लेटाङ क्षेत्रका लागुऔषध प्रयोगकर्ताहरु प्रहरी टार्गेटमा छन् । लेटाङ तनाव सुरु भएलगत्तैदेखि लागुऔषध प्रयोगकर्ताहरु प्रहरीप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेको जानकारी आएको प्रहरी स्रोतको दाबी छ ।

‘यसअघि आपराधिक पृष्ठभूमि भएका, लागुऔषधका प्रयोगकर्ताहरुमाथि शंका बढी छ,’ स्रोतले भन्यो, ‘उनीहरुलाई ल्याएर सोधपुछ गर्ने क्रम जारी छ ।’ यसअघि लागूऔषधको कारोबारी र प्रयोगकर्ताहरुलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाउँदै आएको थियो । ‘पक्राउ गरि मुद्दा चलाएको रिस फेर्न पनि कारोबारी र प्रयोगकर्ताहरूले प्रहरीलाई निसाना बनाएको देखिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भने ।

प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । शंकास्पद आरोपीहरु जंगलमा रहेको हुनसक्ने भएकोले प्रहरीले लेटाङ्ग, केराबारी र मिक्लाजुङ्गसँगै उत्तरी क्षेत्र सर्च अभियान चलाइहरको छ । मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारूङसहितका प्रहरीको टोली घटनास्थल क्षेत्रमै छ ।

घटनाको छानविनको लागि प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले ५ सदस्यीय छानविन समिति गठन गरेको छ । समितिले पनि काम सुरु गरेको डिआइजी बिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।