विराटनगर । गत आइतबार मोरङको लेटाङमा एक जना प्रहरीको ज्यान जाने गरी भएको घटनाको मुख्य कारण ‘एमपी सर’ अर्थात् मनोजप्रसाद पौडेलविरुद्ध ०७३ सालदेखि नै विद्यार्थीले उजुरी गरेको पाइएको छ ।
पौडेलका विरुद्धमा विद्यार्थीहरुले पहिलो पटक ‘विगत समयको समस्या फेरि दोहोर्याइएको बारे’ भन्ने विषयमा २०७३ साल जेठ २३ गते शिक्षा विकास मावि लेटाङमा प्रधानाध्यापकलाई उजुरी दिएका थिए ।
त्यसबेलै उक्त निवेदन विद्यालय व्यवस्थापन समितिको बैठक, शिक्षक बैठकमा पेश गर्ने तोकआदेश प्रधानाध्यापकले दिएको देखिन्छ । ‘उपरोक्त सम्बन्धमा यसै विद्यालयमा पढाउँदै आइरहनु भएको शिक्षक मनोज पौडेलज्यूको विगतको समयमा भएको गल्ती फेरी दोहोर्याइएको जानकारी हजुरसामू पेश गर्दछु । उक्त समस्यालाई बुझी प्रधानाध्यापकले त्यही अनुसार आफनो विचार राखी दिई न्याय नपाएको विद्यार्थीहरुलाई न्याय दिलाई दिनुहुन विनम्रसाथ हार्दिक अनुरोध गर्दछु,’ विद्यार्थीहरुले त्यसबेला प्रधानाध्यापक डिल्लीराम ओझालाई दिएको पत्रमा उल्लेख छ ।
सोही पत्रको विषयमा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष नरबहादुर श्रेष्ठ तथा प्रधानाध्यापकसहित शिक्षक र विद्यार्थीसमक्ष आरोपी शिक्षक पौडेलले आउने दिनमा गल्ती नगर्ने भनि कागज समेत गरेका छन् । ‘उपर्युक्त विद्यार्थीसमेत राखी छलफल सोधनी गर्दा छात्राहरुबाट हामीलाई मनोज सरबाट यौन हिंसा भएकै हो भनि किटानी दिएको र उक्त कार्य मबाट गल्ती भएकोले अब उप्रान्त मबाट यस्तो महिला यौनजन्य हिंसाको गल्ती कहिल्यै दोहोर्याउने छैन, यदि मबाट कुनै किसिमको यस्ता गल्ती दोहोर्याएमा विद्यालयले गरेको कारबाही प्रति मेरो मन्जुर छ भनि निम्न विवरणको व्यक्तिहरुको रोहबरमा मेरो मञ्जुरी साथ सही गरिदिएँ,’ पौडेलले गरेको कायलनामामा उल्लेख छ ।
यसअघि पनि उक्त घटना दोहोर्याएको भनि विद्यार्थीले ०७३ जेठमै उजुरी दिएको घटनायताका विवरण स्कुलमा फायल बनेर बसेको छ । तर, निवेदन हुनुअगाडिदेखि नै शिक्षक पौडेलले छात्राहरुलाई यौन दुव्र्यवहार गर्ने गरेको निवेदनको भाषाले बताउँछ ।
निवेदन दिने र यौन दुव्र्यवहारको शिकार हुने छात्राहरुमा कक्षा ४ देखि कक्षा ७ सम्मका छन् । गते चैत ४ गते पनि शिक्षक पौडेलले कक्षा ७ मा अध्ययन गर्ने एक छात्राको घरमा होली खेल्ने निहुले एक्लै भएको बेला पुगेका थिए । ‘उपरोक्त सम्बन्धमा मिति २०७८/१२/३ गतेका दिन मलाई मेरो सरले मेरै घरमा धेरै पटक आएर म माथि नराम्रो दृष्टिले हेर्नुहुन्थ्यो । तर, ४ गते शुक्रबारको दिन मेरो घरमा कोही नभएको बेला पानी खाने निउँ पारेर किचनमा पसेर म माथि हातपात गर्नुभयो । मलाई मात्र नभएर मेरो कक्षाको सम्पूर्ण साथीहरुलाई पनि नराम्रो दृष्टिले हेर्नुहुन्छ । त्यसैले हामीलाई न्याय चाहियो । हामीसहेर बस्ने छैनौं,’ ती छात्राले प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रलाई दिएको निवेदनमा उल्लेख छ ।
सोही विद्यालयमा १० कक्षामा अध्ययनरत विद्यार्थी सुस्मीता राईको भनाइमा पनि मनोज पौडेलले छोरा मान्छेलाई र छोरी मान्छेलाई गर्ने व्यवहार फरक हुने गरेको बताइन् । उनले आफू ८ कक्षामा अध्ययन गर्दा पनि सरले आफ्ना साथीहरुलाई त्यसखालको दुव्र्यवहार गर्ने गरेको सम्झिइन् ।
शिक्षा बाल विकास क्लवको उपाध्यक्ष समेत रहेकी सुस्मीताका अनुसार त्यस दिन पनि शिक्षकलाई जागिरबाट निकाल्ने र कानून अनुसार कारबाही हुनुपर्ने विद्यार्थीले माग गरेका थिए । ‘त्यसक्रममा विद्यार्थीबाहेक अन्य नचिनेका मान्छेहरु आएर झन् ठूलो घटना भयो,’ उनले भनिन् । मुख्य दोषि शिक्षक पौडेल नै रहेको विद्यालयका प्रधानाध्यापक मिश्रको भनाइ छ । ‘हामीले त विद्यार्थीले कम्प्लेन गरेपछिदेखिका फायल नै बनाएर राखेका छौं, विद्यालय नमूना बनाउने गरी काम भइरहेको छ, यसखालका घटना हुनुहुँदैन भनेर हामीले मनोज सरलाई खुब सम्झायौं,’ उनले भने, ‘त्यस दिन त कारबाहीको दायरामा ल्याउने तयारी स्वरुप छलफल भएको थियो, एक्कासी नसोचेको परिणाम निस्कियो ।’ घटनामा संलग्न भनिएका शिक्षक पौडेल अहिले प्रहरी नियन्त्रणमा छन् ।
विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने शिक्षक पौडेलमाथि कारबाहीको माग गर्दै लेटाङमा गत आइतबार भएको झडपमा परी उदयपुरकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । घटनामा परी मोरङका प्रहरी प्रखुम एसपी जनार्दन जिसीसहित २५ प्रहरी र ७ जना स्थानीय घाइते भएका छन् । प्रहरीले अहिलेसम्म घटनामा संलग्न भनेर एक दर्जन बढीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ भने लेटाङमा आइतबार रातीदेखि लागेको निषेधाज्ञा आजदेखि केही खुकुलो पार्ने तयारी गरेको छ । लेटाङको अवस्था सामान्य बनाउन प्रहरी र स्थानीय लागेका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।