विराटनगर । मोरङको लेटाङमा लगाइएको कर्फ्यु बिहीबार बिहान ६ बजे (भोलि) देखि हटाइने भएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बुधबार साँझ एक सूचना जारी गरेर बिहीबार बिहानदेखि कफ्र्यु हटाउने जानकारी दिएका हुन् ।
लेटाङको शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रामाथि दुव्र्यवहार गरेको विरोधमा आइतबार लेटाङमा प्रदर्शन भएको थियो । प्रदर्शन उग्र बनेपछि प्रहरी र स्थानीयबासीबीच झडपसमेत भएको थियो । सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको आक्रमकारीले छुरा प्रहार गरेर ज्यान लिएका थिए ।
घटनापछि मोरङ प्रशासनले सुरक्षाको कारण दर्शाउँदै लेटाङमा कफ्र्यु आदेश जारी गरेको थियो । नेपाल प्रहरीले लेटाङ घटनाको छानबिनका लागि प्रहरी मुख्यालय काठमाडौं, १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन गरेको छ।
घटनामा प्रहरी र सर्वसाधारण गरी २८ जना घाइतेसमेत भएका थिए। मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार प्रहरी मुख्यालयको अपराध अनुसन्धान महाशाखासहितको संयुक्त टोलीले घटनाको छानबिन थालेको छ। प्रदेश १ प्रहरी कार्यालयका एसएसपी राजेन्द्र चौधरीको नेतृत्वमा छानबिन समिति बनाएको छ।
बुधबारसम्ममा दुई दर्जनभन्दा बढी सर्वसाधारणलाई जिल्ला प्रहरी विराटनगरमा ल्याएर प्रहरीले सोधपुछ गरिसकेको छ। ‘नियन्त्रणमा लिएर ल्याउने र सोधपुछ गर्ने क्रम जारी छ,’ एसपी जिसीले भने, ‘त्यसैले अहिलेसम्म कतिलाई नियन्त्रणमा लिइयो भन्ने अवस्था छैन।’

