विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङको चार किल्ला सीमानाभित्र जारी अनिश्चितकालीन कर्फ्यु केही खुकुलो बनाउँदै जारी राख्ने निर्णय गरेको छ ।
मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णय बमोजिम मोरङ प्रशासनले दिनको ६ घण्टा आवागमन गर्न पाउने छुटसहित कफ्र्यु आदेश जारी राखेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले शान्ति सुरक्षामाथिको चुनौति केहि कम भएको र स्थानीयवासीको सहजताको लागि कफ्र्यु आदेश खुकुलो बनाएको बताए । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम चैत्र ९ गते बुधबारदेखि अर्काे आदेश नभएसम्म बिहान १० बजेदेखि दिनको ४ बजेसम्म र बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
मोरङ प्रशासनको नयाँ निर्णय अनुसार अब बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा र दिनको ४ बजेदेखि बेलुकी ६ बजेसम्म २ घण्टा कफ्र्यु खुकुलो हुनेछ । गएको आइतबार मोरङको लेटाङमा एक सामुदायिक विद्यालयका शिक्षकले १२ वर्षीया छात्रालाई दुव्र्यवहार गरेको घटनापछि उत्पन्न तनाब र झडपमा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको आक्रोशित भिडले हत्या गरेको थियो ।
एक प्रहरीको मृत्यु र एसपीसहित २८ प्रहरी घाइते भएपछि सोमबारबाट मोरङ प्रशासनले अनिश्चितकालीन कफ्र्यु लगाएको थियो । कफ्र्यु आदेशमा केही परिमार्जन गर्दै मोरङ प्रशासनले लेटाङको ३ र ४ को गंगोचोक तथा कमलपुर क्षेत्र, लेटाङ ५ को सम्पूर्ण क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय, पूर्वमा मोरङे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रमा कफ्र्यु जारी राख्ने निर्णय गरेको जनाइएको छ ।

