विराटनगर । अढाई वर्षयता प्रहरी सेवामा सेवारत उर्मिला श्रेष्ठ सेवाकै दौरानमा आइतबार मोरङको लेटाङमा मारिइन् ।
दाजु भुवन पनि प्रहरी सेवामै छन् । विराटनगरको बखरी प्रहरी चौकीमा सहायक निरीक्षक उनी बहिनीको हत्यापछि विह्वल छन् । बोल्न सक्ने अवस्थामै छैनन् । प्रायः सदस्य प्रहरीमै रहेका श्रेष्ठ परिवारका लागि मोरङको लेटाङ तनाव स्वजन गुमाउने दुखद् क्षण बन्यो ।
‘दाई र श्रीमान पनि प्रहरीमै हुनुहुन्छ,’ कोशी अस्पताल परिसरमा सोमबार बिहान प्रहरीहरु भन्दैथिए ‘उहाँहरु कोही बोल्न सक्ने अवस्थामा हुनुहुन्न ।’ आइतबार लेटाङमा उत्पन्न तनावले उग्र रुप लिँदा उर्मिला मारिएकी थिइन् ।
लोकसेवा आयोगको परीक्षामा असफल भएपछि दाजु कार्यरत नेपाल प्रहरीमै भर्ना भएर नागरिकको सुरक्षा गर्ने कसम खाएकी उर्मिला श्रेष्ठले अराजक समूहको आक्रमणबाट ज्यान गुमाइन् । लेटाङ नगरपालिका–५ मा आइतबार साँझ स्थानीयको आक्रमणबाट मारिएकी २६ वर्षीय प्रहरी जवान श्रेष्ठ २०७६ साउन १ गते प्रहरी सेवामा भर्ना भएकी थिइन् ।
छात्रामाथि शिक्षकले बलात्कार प्रयास गरेको घटना बाहिरिएपछि उग्र बनेको लेटाङको अवस्था नियन्त्रणमा लिन प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानीमा कार्यरत श्रेष्ठ ५० जनाको टोलीसँगै लेटाङ पुगेकी थिइन् । बलात्कार आरोपी शिक्षकलाई नियन्त्रणमा लिएर हत्या गर्ने स्थानीयको प्रयासलाई रोक्दै प्रहरीले घटनास्थलबाट उनलाई बाहिर निकालेपछि उर्मिलामाथि आक्रमण भएको थियो ।
बुबा कुमार र आमा सितामया श्रेष्ठ कोखबाट २०५२ कतिक १४ गते खोटाङको बरहापोखरी ४ मा जन्मिएकी उर्मिला उदयपुरको त्रियुगा जनता क्याम्पसबाट बिएस गरेपछि प्रहरी सेवामा प्रबेश गरेकी थिइन् । उनले गएको वैशाखमा उदयपुर घर भएका प्रहरी जवान कुमार श्रेष्ठसँग विवाह गरेकी थिइन् । श्रीमान् इलाममा कार्यरत छन् ।
आउँदो बैशाख १९ मा उनीहरु विवाहबन्धनमा बाँधिएको पहिलो वर्ष पूरा हुँदै थियो । ‘उहाँहरु एकै ठाउँ बस्ने तारतम्य मिलाउने प्रयासमा हुनुुहन्थ्यो,’ कोशी अस्पताल परिसरमा खटिएका उर्मिलाका साथी प्रहरीहरु भन्दैथिए ‘तर, त्यो समय नआई सदाका लागि उहाँहरुले छुट्टिनुपर्यो ।’
इलाममा कार्यरत उनी श्रीमतीको मृत्युको खबरपछि राति नै विराटनगर आइपुगेका छन् । बहिनीको मृत्युपछि दाजु भुवन पनि अर्थचेत अवस्थामा छन् । उर्मिलाका बुवाआमा छोरीको अन्तिम संस्कारका लागि विराटनगर आउँदैछन् । उनको शव कोशी अस्पतालमा राखिएको छ ।
यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका–५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि स्थानीयले अन्धाधुन्द आक्रमण गरेका थिए । शिक्षकलाई नियन्त्रणमा लिएर हत्या प्रयास गर्न खोज्ने समूहसँग आइतबार दिनभर प्रहरीको झडप नै भएको थियो ।
पौडेलमाथि गत शुक्रबार घरमै रहेको १४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । घटनापछि शिक्षक विद्यालयमै पुगेको अवस्थामा पीडित पक्षले कार्वाहीको माग गर्दै निवेदन दिएपनि ढिलो मात्र प्रहरीलाई घटनाबारे जानकारी भएको थियो । लेटाङ ५ का वडाध्यक्ष भीमसुर्य मगरले प्रहरीलाई खबर गरेपछि करिब १ बजे प्रहरी पुग्दा स्थानीयको आक्रोशित भीडले विद्यालय घेरेर आरोपी शिक्षकलाई कुटपिट गरिरहेको थियो । प्रहरीले उनलाई छुटाएर कोठामा राखेको बेला स्थानीयले विद्यालयमै आगजनी गरेका थिए ।
आरोपी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गाउँलेले प्रहरीले उनलाई बचाउन लागेको भन्दै थप आक्रोशित भएको स्थानीयको भनाइ छ । दिउँसो १ बजे नै घटनास्थल पुगेको प्रहरीलाई स्थानीयबासीले दिनभरजसो छेकेका थिए । साँझतिर झडप सुरु भयो ।
विद्यालय तनावग्रस्त बनेपछि प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको थप टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो । त्यसक्रममा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा प्रदर्शनकारीले धारिलो हतियार प्रहार गरेका थिए ।
झडपका क्रममा एक्कासी उर्मिलाले आय्या भनेर चिच्याएको आवाज आएको प्रहरीहरु बताउँछन् । ‘उनले आय्या भनेको सुनेपछि हेरेको घाँटीबाट भलभल रगत आइरहेको थियो,’ प्रहरी स्रोतले भन्यो ‘उनको उपचार पनि हुन पाएन । बाटैमा ज्यान गयो ।’
घटनास्थलमै रत्ताम्मे भएर ढलेकी उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो । राति १०ः५० बजे अस्पतालले मृत घोषित गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नवीन राईले बताए । घटनामा २९ प्रहरी र ७ आन्दोलनकारी घाइते भएका छन् । उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जीसीसहित समेत घाइते भएका थिए । उनको छाती र हातमा चोट लागेको छ । घटनापछि सोमबार बिहान ७ बजेदेखि प्रशासनले लेटाङमा कर्फ्यु आदेश जारी गरेको छ । अर्को निर्णय नभएसम्मलाई कर्फ्यु घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।
उत्तरी मोरङमा एकपछि अर्को बलात्कार र यौन दुव्र्यवहारको घटना लगातार भइरहेका छन् । केही दिनअघि मात्रै डेढ वर्षे बालिकाको बलात्कारले ज्यान लिएको घटना नसेलाउँदै शिक्षकले छात्रामाथि दुव्र्यवहार गरेको घटना बाहिरिँदा स्थानीयबासी उग्र प्रदर्शनमा उत्रिएका थिए । सुन्दर हरैंचाकी डेढ वर्षे बालिकाको हत्या प्रकरणमा स्थानीयबासी आक्रोशित थिए ।
‘न्याय माग्दै सडकमा उत्रिएका सर्वसाधारणलाई गछियामा प्रहरीले दुई दिन हिरासतमा थुनेपछि सर्वसाधारण आक्रोशित थिए,’ लेटाङ नगरका एक जनप्रतिनिधिले भने ‘यहाँ पनि प्रहरीले दोषी बचाउन लाग्यो भन्ने उल्टो बुझाई हाबी भयो । आक्रोशले यस्तो अवस्था ल्यायो ।’


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।