विराटनगर । एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानविन गरिने प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले घटनाको छानविन हुने बताएका हुन् । ‘यत्रो ठूलो घटना भएको छ, प्रहरी जवानको नै मृत्यु भएको छ, हामी केही न केही छानविन गर्छौं,’ बिसीले भने । बिसीले आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण भएको बताए ।
आउँदै गरेको निर्वाचनलाई टार्गेट गरेर यो घटनामा कुनै राजनीतिक रंग दिइएको हो कि भन्ने प्रश्नमा बिसीले त्यस्तो नभएको बताए । ‘यस घटनामा राजनीतिक रंग दिइनु हुँदैन, यो दुर्घटना हो,’ उनले भने ।
आइतबार दिउँसो भएको उक्त घटनामा परी २५ जना प्रहरी घाइते भएको थिए भने ७ जनासम्म सर्वसाधारण घाइते भएका थिए । घाइतेमध्ये १४ जना प्रहरीहरु निको भएको र बाँकी १ जना प्रहरीको विराटनगरस्थित न्यूरो अस्पतालमा र अरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको बिसीले जानकारी दिए ।
यस्तै घाइते भएका स्थानीय ७ जनामध्ये १ जनाको कोशी र १ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अन्य सामान्य उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । सो घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । सर्वसाधरणको आक्रमणमा परी उनको मृत्यु भएको हो । मृतक श्रेष्ठ ३ वर्ष अगाडि प्रहरी सेवामा भर्ना भएकी थिएन् । उनको घर खोटाङ रहेको प्रहरीले बताएपनि विस्तृत विवरण दिएको छैन ।
लेटाङमा कफ्र्यु आदेश
यसैबीच घटनाले अझै उग्र रुप लिनसक्ने आशङ्का गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ गाउँपालिकामा कफ्र्यु आदेश जारी गरेको छ ।
प्रशासन कार्यालय मोरङले चिसाङ खोला पूर्व, मोरङ्गी खोला पश्चिम, लेटाङको वडा नम्बर ६ को कार्यालय दक्षिण र कमलपुरबाट उत्तर निषेधाज्ञा जारी गरेको हो । बिहान ७ बजेदेखि निषेधाज्ञा क¥फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनामा उल्लेख छ ।
लेटाङ–५ खेरुवाको शिक्षा विकास माविकी छात्रालाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले दुव्र्यबहार गरेको भन्दै विद्यार्थी र अभिभावकले दिनभर विद्यालय परिसरमा नाराबाजी र आगजनी गरेका थिए । सोही क्रममा विद्यार्थी र अभिभावकको आक्रमणमा परी प्रहरी जवान श्रेष्ठको हत्या भएको हो । आइतबार बिहान ११ बजेदेखि अबेर रातीसम्म लेटाङ अशान्त बनेको थियो ।

