विराटनगर । १८ महिने बालिका बलात्कारपछि हत्या गरेको विरुद्धमा सर्वसाधरणले आज पनि मोरङको गछियामा प्रदर्शन गरेका छन् । उनीहरुले बलात्कारीलाई फासिको सजाय हुनुपर्ने र गाउँमै सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

प्रहरीले भने उक्त माग पुरा गर्न नसकिने बताएको छ । नेपालको संविधानमा फाँसीको सजायलाई निषेध गरेको छ भने गाउँमै सार्वजनिक गरे दोषिहरुमाथि आक्रमण हुनसक्ने प्रहरीको भनाइ छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दुई युवालाई पक्राउ गरेको गरिसकेको छ । प्रहरीले बालिकाको हत्या आरोपमा सुन्दरहरैंचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।

सर्वसाधरणले मोरङको सुन्दरहरैंचाको गछियामा हिंजो पूर्वपश्चिम राजमार्गमा २ घण्टा चक्काजाम गरेका थिए । चक्काजामका क्रममा संचारकर्मी सम्झना राईसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाको नाम पनि प्रहरीले सार्वजनिक गरेको छैन ।

पक्राउ परेकी संचारकर्मी राईले आफूले भिडियो खिचिरहेको र आन्दोलनमा सहभागी पनि नभएको बताइन् । प्रहरीले भने उनीपनि आन्दोलनमा सहभागी भएको दाबी गरेको छ । मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले पक्राउ परेकाविरुद्ध मुद्दा चलाउने तयारी गरेको बताए । ‘अभद्र व्यवहार’मा मुद्दाको तयारी गरिरहेको उनको भनाइ छ । पक्राउ परेकी राई मोरङको उर्लाबारीबाट सञ्चालित पूर्वीकमाण्ड अनलाइनमा काम गर्छिन् ।

भिडियो खिचेकै आधारमा संचारकर्मीलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरुद्धमा भएको प्रेस सेन्टर मोरङ उर्लाबारी शाखाका अध्यक्ष सरोज बस्नेतले बताए । पूर्वी कमाण्ड मिडियाका अध्यक्षसमेत रहेका बस्नेतले संचारकर्मी राईलाई तत्काल छोड्नुपर्ने र मुद्दा हाल्न नहुने बताए ।

पक्राउ परेको उनीहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मन्जिल मुकारुङले जानकारी दिए । संचारकर्मीलाई पनि पक्राउ गरी मुद्दा दर्ता गरेको घटनाप्रति पत्रकारहरुको संगठनले विरोध गरेका छन् ।

घटनाको वास्तविकता के थियो ?

१८ महिने बालिका बलात्कार आरोपमा पक्राउ परेका दुवै जना दाजुभाई हुन् । उनीहरुले नाबालिकालाई पालैपिलो बलत्कार गरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए ।

प्रहरीका अनुसार गत शुक्रबार साँझ साढे ५ घरमा खेल्दै गरेकी बालिकालाई बोकेर घरदेखि १५० मिटर पश्चिम लगेपछि उनीहरुले बलात्कार गरेका थिए । ‘बालिकाको आमा घरमा व्यक्त भएको बेलामा अजयले बालिकालाई चोकोफोन दिएर घटनास्थल बनमारा झाँडीमा लगेको पाइएको छ’ एसपी जिसिले भने, ‘अजयले सुरुमा जवरजस्ती करणाी गरेपपिछ मिथुनले नाबालिकामाथि जबरजस्ती गर्दा बालिकालाई असह्य पीडा भएर रुन थालेपछि दुई वटा ढुङ्गा र बियरको बोत्तलले बालिकाको टाउकोमा प्रहार गरेछन् ।’ बालिका अचेत भएपछि उनीहरु त्यहाँबाट भागेका थिए ।

घरबाट हराएको एक घण्टापछि साढे ६ बजे बालिका अचेत अवस्थामा भेटिएकी थिइन् । उनलाई विराटनगरको नोबेल अस्पतालमा उपचारको लागि भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । पक्राउ परेका अजय विवाहित रहेको र उनको दुई जना श्रीमती रहेको प्रहरीले जनाएको छ । लागूऔषध प्रयोगकर्ता उनका दुवै श्रीमती माइतमा बस्थे भने सुस्त मनस्थितिका मिथुन अविवाहित हुन् । बालिकालाई बलत्कार गर्नुअघि गछिया खोलामा बसेर दुबैले गाँजा सेवन गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार गाँजा सेवनपछि यौन सम्र्पक गर्ने इच्छा जागेको भन्दै अजय बालिकालाई लिन उनको घरमा पुगेका थिए । ‘घरमा खेल्दै गरेको बालिकालाई बोकेर ल्याएपछि दुवै जनाले बलत्कार गरेको खुलेको छ’ एसपी जिसीले भने । बालिकालाई बलात्कार गरेपछि अजय र मिथुन दुवैजनाले स्थानीय भट्टी पसलमा गएर मदिरा सेवन गरेको पाइएको छ । राति अबेरसम्म मदिरा सेवन गरेर उनीहरु सुन्दरहरंैचा ७ मा रहेको मामाघर पुगेका थिए । प्रहरीले दुबैलाई त्यहीबाट शनिबार पक्राउ गरेको हो ।