विराटनगर । श्रीमान्बाटै श्रीमतीको हत्या, छोराले बुबाको हत्या, आमाको हत्या, दाजुले भाइ मारेजस्ता समाचारका श्रृङ्खला आइरहँदा तथ्याङ्कले पनि आफन्तबाटै मारिनेहरूको संख्या प्रदेश १ मा बढिरहेको देखाएको छ ।
प्रहरीको तथ्यांक अनुसार श्रीमान, श्रीमती, दाजु, भाई, बुबा, छोरा, छोरी, भतिज, ससुरा, ज्वाईं, सासु, बुहारी, आमा, सालो, भेना, भान्जा, माइजु, जेठान, देउरानी र दिदी हत्यामा संलग्न देखिन्छन् ।
प्रदेश १ प्रहरी दिएको तथ्याङ्क अनुसार आर्थिक आर्थिक वर्ष २०७५-७६ मा आफन्तबाटै मारिनेको संख्या ३५ थियो । आ.ब. ०७६-७७ मा उक्त संख्या बढेर ३७ पुग्यो । आर्थिक वर्ष ०७७-७८ मा यो संख्या अझै बढेर ५५ पुग्यो । चालू आर्थिक वर्ष २०७८-७९ को माघसम्मको तथ्याङ्क हेर्दा यो अझै बढेको छ । माघ महिनासम्ममा प्रदेशमा आफन्तबाटै ३६ जनाको हत्या भइसकेको छ ।
फागुन महिनामा मात्रै पनि धरानको जंगलमा भेटिएको दिनेश भण्डारीको शव होस् वा संखुवासभाको सुमन दर्जीको हत्या होस्, आफन्त नै संलग्न भेटिएका छन् । फागुन २ गते झापाको भद्रपुरमा अमरबहादुर तामाङले चक्कु प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेको थिए । गत माघ १८ गते मोरङको पथरी शनिश्चरेका कमल श्रेष्ठले आफ्नै आमाको हत्या गरेका थिए ।
यो किसिमको घटना पहिलेभन्दा धेरै नै बढेको प्रहरीको भनाइ छ । कारण के हो भनेर धेरै मानिसले सोधिरहेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी बताउँछन् । ‘यो कोभिडको बेलामा मानिसहरु आइसकेपछि घटना बढेको छ’ उनले भने, ‘पहिलो कुरा त मानिस सुरुमा बेरोजगार भए, तनाव त्यहाँबाट सुरु भयो । रेमिट्यान्स आउन बन्द हुँदा सामाजिक संजाल धेरै एक्टिभ भएकोले त्यसबाट पनि अपराध बढेको छ ।’
कोभिडको बेला घटना भएको स्थान वा हुनसक्ने सम्भावित स्थानमा गएर प्रहरीले जनचेतना जगाउने खालका कार्यक्रम पनि गर्न सकेन । अझै पनि चुनावको चहलपहल सुरु भएका कारण त्यतातिर कम ध्यान जाने अवस्था छ । प्रहरीका अनुसार अधिकांश घटना सम्पत्तीकै कारण भएको देखिन्छ ।
‘घरभित्रकै दाजुभाई काट्नुपर्ने कारण अंशको कारण भयो, यसअगाडि दाजुभाई भेट भएका थिएनन्, दाई घर आउँदा भाई विदेश हुन्थ्यो, परिवारको अन्य सदस्यहरु बाहिर हुनसक्थे,’ डिआईजी बिसीले भने, ‘कोभिडको समयमा लकडाउनमा बसेका विदेशबाट आएपछि श्रीमतीको चर्तिकला श्रीमान्ले देख्यो, श्रीमतीले श्रीमान्को चर्तिकला देख्यो । त्यसकारण पनि हत्याका घटना भएका छन् ।’ कोभिडपछिको लकडाउनमा बाहिर भएका परिवारका सदस्य केन्द्रित भएको, बेरोजगार भएर घरमै बस्दा डिप्रेसन र नैराश्यता बढेपछि अपराधमा परिणत भएको उनलको भनाइ छ ।
यस खालका घटना न्यूनीकरण गर्नका लागि प्रहरीले आफ्नो पनि कमजोरी रहेको स्वीकार गरेको छ । ‘अबका दिनमा हामीले जनचेतनामूलक कार्य अगाडि बढाउने सोचेका छौं,’ बिसीले भने, ‘नेपाल सरकारले पनि बेरोजगारी समस्या हटाउन ध्यान दिनुपर्छ, हामीले पनि त्यस्ता घटनाहुने स्थानहरुमा प्रहरी–समुदाय साझेदारीमा जनचेतनामुलक कार्यक्रम गरेर अगाडि बढ्ने योजना बनाएका छौं ।’
सामाजशास्त्री, मानवशास्त्री तथा स्नातकोत्तर क्याम्पसका उपप्राध्यापक डिल्ली प्रसाई व्यक्तिवाद र भोगविलाशले आफन्तबीचमा झैझगडा भइरहेको बताउँछन् । उनले आधुनिकीकरणको प्रभाव, सामाजिक संजालको नक्कलको परिपाटीले पनि नेपाली समाजको सामाजिक संरचनामा क्षति पुर्याइरहेको बताए ।
‘अहिलेको चरण भनेको मानिस कसरी बढीभन्दा बढी चिनिने, कसरी बढी सम्पत्ती कमाउने र कसरी भोगविलाश गर्ने भन्ने व्यक्तिवादी सोचाईमा अगाडि बढिरहेको छ,’ उनले भने, ‘अहिले पारिवारिक नियन्त्रण प्रणाली पनि गुम्दै गइरहेको छ ।’ विगतको तुलनामा अहिले मानवीय सम्बन्धमा पनि क्षयिकरण भइरहेको उनको भनाइ छ ।
आर्थिक प्रलोभन, शारिरीक हिंसा, अर्काको बहकाउलगायत कारणले हत्याका श्रृङ्खला बढिरहेको छ प्रसाईंले बताए । आफन्तबाटै हत्याका घटना हुनुमा मनोसामाजिक पाटो पनि रहेको उनको भनाइ छ । वैदेशिक रोजगार, बेरोजगारी, सामाजिक संजालको भुलभुलैया, अपराधिक घटनालाई सामान्य रुपमा बुझ्नु, परपुरुष, परस्त्रीसँगको सम्बन्ध, आर्थिक लेनदेन, अंशबण्डा जस्ता कारणले अपराध निम्त्याएको उनले बताए ।
सम्पत्तीकै लोभमा मोरङको पथरीमा बृद्धा आमालाई छोराले हत्या गरे । आमाछोराको जन्मसिद्ध नातामा पनि हत्यासम्म जान सक्छ र ? भन्ने विषय अहिलेको गम्भीर विषय हो । ‘श्रीमान श्रीमतीको सम्बन्ध भनेको सम्झौताको नाता हो, त्यसमा खटपट हुनसक्छ । तर, आमाछोरासम्म जानु भनेको चाहिं कहालीलाग्दो घटना हो,’ प्रसाईले भने ।
पछिल्ला घटनाले मानिसभित्र संवेदना गुम्दै गएको हो कि जस्तो पनि लाग्ने प्रसाई बताउँछन् । रोजगारीको अवस्था सिर्जना गर्ने, सामाजिकीकरणको प्रक्रियालाई स्कुलमा पाठ्यक्रममै समावेश गरेर अध्ययन अध्यापन गराउने, जिविकोपार्जनको अवस्थालाई ध्यान दिने, दण्डहिनताको अवस्थालाई पनि अन्त्य गर्नेगरी अगाडि बढे यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।

