विराटनगर । क्यान्सर, टाउकोदेखि खुट्टासम्म शरीरका जुनसुकै भागमा हुने रोग हो। क्यान्सर के कारणले हुन्छ भन्ने ठ्याक्कै थाहा हुन्न।
शरीरमा सेलभित्र एउटा डिएनए हुन्छ। त्यो डिएनए भित्र खराबी पैदा हुन्छ। त्यसले राम्रो शेल पैदा गर्नुको सट्टा नराम्रो खालको सेल पैदा हुन्छ। त्यो सेल आफ्नो तरिकाले बढ्दै जान्छ। त्यसले वरिपरीको भागमा फैलिन्छ। त्यसपछि क्यान्सर हुनसक्छ।
मुखको क्यान्सर हो भने मुखमा घाउ हुने गाँठो हुने केही कुरा निल्न गाह्रो हुने हुनसक्छ। फोक्सोको क्यान्सर हो भने खकारमा रगत आउने श्वास फेर्न गाह्रो हुने हुनसक्छ।
पेटको क्यान्सर हो भने दुप्लाउँदै जाने दिसामा रगत देखिने पेट दुख्ने हुन्छ। यस्ता विभिन्न कारणले क्यान्सरको लक्षण यही हो भन्ने हुँदैन।
अरू रोग जस्तै गरेर क्यान्सरको लक्षण सुरू हुन्छ। त्यो लक्षण बढ्दै गयो भने क्यान्सर होकि भनेर पत्ता लगाउन परीक्षण गर्नुपर्छ। त्यही भएर यही कारणले भन्दा पनि हाम्रो शरीरमा कुनै पनि लक्षण देखियो र त्यो चाहिनेभन्दा अलि बढी समयको लागि भयो भने त्यसलाई क्यान्सर हो कि, भनेर परीक्षण गर्नुपर्छ।
संसारकै तथ्यांक हेर्ने हो भने पुरूषमा हुने अधिकांश क्यान्सरको कारण सूर्तिजन्य पदार्थसँग सम्बन्धित हुन्छ।
नेपाल जस्ता विकासोन्मुख देशमा पाठेघरको मुखको क्यान्सर धेरै देखिन्छ। विकसित ठाउँमा महिलामा स्तन क्यान्सर धेरै हुन्छ।
महिलाभन्दा पुरूषमा धेरै क्यान्सर हुन्छ। पाठेघरको मुखको क्यान्सर खोप लगाएर ठीक हुन्छ स्तन क्यान्सरको पनि उपचार गरेर ठीक हुन्छ।
धुम्रपान मात्रै नहुँदो हो भने ३३ प्रतिशत क्यान्सर कम हुन्छ। धेरैजसो क्यान्सर यही कारण हुन्छ भन्ने छैन तर धेरै बिरामी सुर्तीजन्य पदार्थको सेवनकै कारण हुन्छन्।
नेपालको सन्दर्भमा यो झनै धेरै छ। ठ्याक्कै यति भनेर भन्न सकिँदैन। तर पुरूषमा हुने अधिकांश क्यान्सर फोक्सो र घाँटीका छन्। समग्रमै पुरुषहरुलाई धेरै क्यान्सर फोक्सोको कारण हुन्छ। ७५ देखि ८० प्रतिशतालाई धुम्रपानकै कारण फोक्सोको क्यान्सर हुन्छ।
जति जति स्वच्छताबाट टाढा जान्छौं त्यति धेरै क्यान्सरको समस्या हुन्छ।
क्यान्सरको उपचारभन्दा पनि यसको कारण पत्ता लगाउन जरूरी छ। सुरूको अवस्थामा थाहा पाएमा धेरैजसो क्यान्सर निको पार्न सकिन्छ। धुम्रपान, मदिरापानलाई कम गर्दै लैजानुपर्छ। अर्को कुरा आफू स्वस्थ्य भएको बेलामा समेत समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ।
महिलाले बेला मौकामा पाठेघरको स्तनको स्क्रिनिङ गरेर थाहा पाउन सकिन्छ।
क्यान्सरको उपचार तीन किसिमबाट हुन्छ। एउटा शल्यक्रिया अर्को विकिरण र किमो थेरापीबाट गर्न सकिन्छ। किमो थेरापी पनि धेरै किसिमका छन्।
५-१० वर्षको अवधिमा क्यान्सरको उपचारमा धेरै फड्को मारेको छ। मानिसले क्यान्सरबारे चासो राख्न थालेका छन्। उपचारका लागि अस्पताल खुल्न थालेका छन्। उपचारका प्रविधि थपिएका छन्। तर अझै पनि अपुग छ। अब केही वर्षमा क्यान्सरको उपचारको लागि विदेश जान पर्दैन भन्ने अपेक्षा छ।
-सेतोपाटी