विराटनगर । सुरक्षित वैदेशिक रोजगारीका लागि सरकारले व्यवस्थापन गरेको दाबी बारम्बार दोहोरिने गरेको छ । तर, अनेकौं नाममा नेपाली कामदार ठगिने क्रम भने जारी नै छ ।
विराटनगर–१८ का ३१ वर्षीय सुरेश यादव एक त्यस्तै पात्र हुन्, जो दलालको फन्दामा परेर ठगिए । आकर्षक तलब र सेवा सुविधाको लोभमा वैदेशिक रोजगार एजेन्टबाट उनी ठगिएका हुन् ।
एक वर्षअघि मासिक १५ सय रियाल पारिश्रमिक आउने भन्दै उनलाई एजेन्टले दुबई पठाउने बताएका थिए । त्यही लोभमा उनले १ लाख ५० हजार रुपैयाँ काठमाडौंका एजेन्ट विप्लव लामालाई बुझाए । सुपर मार्केटभित्र कामको लागि दुबई पुगे पनि । यो एक वर्ष अघिको कुरा हो ।
जब उनी दुबई पुगे, त्यहाँ न उनले काम पाए न रोजगारदाता कम्पनीको सम्पर्क ।
डेढ लाख रुपैयाँ बुझाएर कामका लागि विरानो देश पुग्नासाथ उनी उल्टै यातना खेप्न बाध्य भए । त्यहाँ एउटा कोठामा थुनिएर बस्नुपरेको उनले बताए । ‘दुबई पुगेपछि एउटा कोठामा लगेर राख्यो । कम्पनीको मान्छे भन्दै एक जना आएर पासपोर्ट पनि लिएर गयो । त्यसपछि त्यो मान्छे आएन,’ उनले भने, ‘सात महिनासम्म बन्द कोठामा थुनिएपछि विभिन्न संघसंस्थाले पहल गरेर नेपाली दुतवासको सहयोगमा स्वदेश फर्किएँ ।’ पैसा कमाएर परिवारको गर्जो टार्ने साँचेर र रोजगारीमा गएका यादव उल्टै ऋणको बोझमा परे ।
स्वदेश फर्किन पनि १ लाखभन्दा बढी रकम परिवारले पठाइदिनुपर्यो । ‘खाना र आउन घरबाट १ लाख पठाएपछि स्वदेश आइपुगें,’ उनले सुनाए । वैदेशिक रोजगारीमा ठगिएकाहरुलाई निःशुल्क कानुनी सहयता प्रदान गर्दै आएको पिपुल फोरमले विराटनगरमा सोमबार आयोजना गरेको कार्यक्रममा रोजगारीको क्रममा ठगिएको गुनासो सुनाउने सुरेश मात्र थिएनन् ।
मोरङ जहदाका ३२ वर्षीय सुरेन्द्र यादवको पीडा पनि सुरेशको जस्तै थियो । उनी पनि रोजगारीकै लागि दुबई पुगेका थिए । उनले दुबई पुगेर काम पाएनन् । बरु बन्द कोठामा सात महिना थुनिनुपर्यो ।
अहिले दुबै युवाले वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा जाहेरी दिएका छन् । ‘विदेश पठाए पनि रोजगारीमा नलगाएपछि पैसा फिर्ता माग्दा विभिन्न धाकधम्की दिए, भौतिक, सामाजिक रूपमा पनि असुरक्षित भयौ,’ सुरेन्द्रले भने, ‘वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन कार्यालय मोरङमा धाउँदा पनि अझै न्याय पाइएको छैन ।’ वैदेशिक रोजगारीको क्रममा ठगिएका युवाहरुले विभिन्न निकायहरुमा जाँदा पनि न्याय पाउन ढिलो भएको गुनासो गरेका छन् ।
मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ । एकै व्यक्तिबाट धेरै जना ठगिएका उजुरी आउने क्रम बढेको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । रोजगारीको क्रममा ठगिएको उजुरी आए वैदेशिक रोजगार ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरेर कारवाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
कार्यक्रममा पिपुल फोरमका सल्लाहकार तथा अधिवक्ता सोमप्रसाद लुइँटेलले कोभिड १९ का कारण रोजगार गुमाएका वा तलब सुविधा नपाइ स्वदेश फर्केका आप्रवासी कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपूर्ति प्रदान गरिनुपर्ने बताए । पिपुल फोरमले वैदेशिक रोजगार पीडितलाई २०७८ असार मसान्तसम्ममा २३ हजार ७ सय ४२ जनालाई निःशुल्क कानूनी सहायता प्रदान गरेको जनाएको छ ।
निःशुल्क कानूनी सहायतामार्फत कामदार र उनीहरुको परिवारले ९५ करोड ३२ लाख ४५ हजार ४ सय ४४ रुपैयाँ क्षतिपूर्ति पाएको पिपुल फोरमले जनाएको छ । कोभिड १९ पछि वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका विभिन्न ८ वटा खाडी मुलकबाट ५ लाख ७२ हजार ५ सय ७१ जना स्वदेश फर्किएको कोभिड १९ संकट व्वस्थापन केन्द्रको अभिलेखमा देखिन्छ ।
समस्यामा परेकामध्ये दुबईबाट अलपत्र भएर स्वदेश फर्किएका बढी छन् । त्यहाँबाट १ लाख ६० हजार ४७० जना स्वदेश फर्किएका छन् ।

