विराटनगर । स्वास्थ्य पूर्वाधारले फड्को मार्दै अगाडि बढेको विराटनगरस्थित कोशी अस्पतालभित्र सुविधासम्पन्न स्त्री रोग तथा प्रसुति विभागको छुट्टै भवन संचालनमा आएको छ । अमेरिकी सेनाको सहयोगमा निर्माण भई एक साता अगाडि हस्तान्तरण भएको प्रसुति विभागको भवन आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले उद्घाटन गरेका हुन् ।
१२ करोड रुपैयाँ लागतमा निर्मित प्रसुति भवनमा ७१ शय्या रहेको छ । नयाँ बनेको भवनमा विरामी राखेर प्रसुतिको सेवा आरम्भ भएको छ । नयाँ भवनबाट सामान्य र जटिल प्रसुति तथा शल्यक्रिया, सुरक्षित गर्भपतन र स्त्रीरोग सम्बन्धीको सम्पूर्ण सेवाहरु संचालनमा आउने स्त्री रोग तथा प्रसुति विभागका प्रमुख डा.अन्जु देवले जानकारी दिइन् ।
अस्पतालले यसअघि जीर्ण भवनबाट अस्पतालले प्रसुति सेवा दिँदै आएको थियो । नयाँ सुविधासम्पन्न भवन बनेपछि उपचारमा सहजता हुने डा.देवले बताइन् । ‘यसअघि जीर्ण भवनमा कष्टकर तरिकाले सेवा दिनुपर्ने बाध्यता थियो, नयाँ भवन बनेपछि बिरामीलाई उपचरामा सहज हुनेछ,’ उनले भनिन्, ‘अस्पतालमा अहिले दैनिक २० देखि ३० जनासम्मको प्रसुति हुने गरेको छ ।’
अस्पतालमा प्रदेश १ र २ तथा भारतको विहार प्रदेशसम्मका बिरामीहरु सेवा लिन आउने गरेका छन् । सुविधासम्पन्न भवनमा स्त्री रोग तथा प्रसुति सेवा सुरु भएपछि बिरामीको उपचार गर्न धेरै सहज हुने उनको भनाइ छ । उनका अनुसार कोशी अस्पतालमा वर्षमा ९ देखि १० हजार जनाको प्रसुति हुने गरेको छ ।
उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले कोशीलाई सुविधा सम्पन्न अस्पताल बनाएर देशको नमूना अस्पतालको रुपमा विकास गरेर अगाडि बढ्ने बताए । भौतिक पूर्वाधारले सम्पन्न बनाउँदै प्रयाप्त जनशक्तिको व्यवस्थापन गरेर गुणस्तरीय सेवा प्रदान गरेर देशको नमूना अस्पताल बनाउने सरकारको योजना रहेको उनको भनाइ छ ।
मन्त्री खतिवडाले फागुन १ गतेदेखि देशभरी सर्वसाधारणलाई लगाउन सुरु गरिएको कोभिड १९ विरुद्धको ‘बुस्टर डोज’ खोप अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताए ।
प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले कोशीलाई प्रदेश १ को गौरवको अस्पतालको रुपमा विकास गरेर अगाडि बढ्नुपर्ने बताए । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै यस प्रदेशको गौरवको अस्पतालको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारी अस्पताललमा विपन्न समुदायका बिरामी आउने भएकोले गुणस्तरीय सेवा प्रदान गरि बिरामीको मन जित्नुपर्ने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले देशभरीमा कोशी अस्पताल तेस्रोमा आउने भएकोले यस अस्पतालले गुणस्तरीय सेवा दिएर अगाडि बढनुपर्नेमा जोड दिइन् ।
प्रत्येक वर्ष ९ देखि १० हजारको प्रसुति गराउने अस्पताल कोशी पर्ने भएकोले थप सेवा बिस्तार गर्दै बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्नुपर्ने बताइन् । स्त्री रोग तथा प्रसुति विभागमा ८ जना विशेषज्ञ चिकित्सक रहेका छन् । सेवा प्रवाहसँग थप स्वास्थ्य जनशक्ति परिचालन गर्ने अस्पताललका सुपरिटेन्डटेन्ड मेसु डा.चुमनलाल दासले जानकारी दिए ।
दुई तलाको संरचना रहेको प्रसुति विभागको निर्माण कार्य २०७७ असार अन्तिम सातादेखि सुरु भएको थियो । इतिहास बोकेको अस्पतालले अहिले १७ वटा सेवा प्रदान गर्दै आएको उनले बताए । ६ वटा पब्लिक हेल्थको सेवाहरु पनि सुचारु छ ।
सुपर स्पेसियालिटी हस्पिटल बनाउन लागिपरेको मेसु दासले बताए । ‘अहिले पूर्वाधारहरु धमाधम भइरहेको छ,’ उनले भने, ‘यो बन्दै गरेको भौतिक संरचनाहरु सुपर स्पिेसियालिटी हस्पिटलको लागि हो ।’
फोटो छ ।