मेरो प्रदेशको नाम ‘कोशी–किरात’

 लीलाबल्लभ घिमिरे

कुरा ७ वर्षअघिको हो, जब हाम्री छोरीको नाम राख्ने कुरा चल्नथालेको थियो । एलीजाजी र मबीच निकै लामो समय बहस चल्यो । छोरीको नाम के राख्ने भनेर । हामी दुईबीच नामको सुची बनाउने काम भयो । धेरै वटा नाम लेखिए । सुनेका जानेका मात्र हैन नेपाली शब्दकोषमा भएका धेरै नाम हामीले कपीमा उतारेका थियौं । त्यसमा धेरै नाम धार्मिक थिए । केही नाम ख्याती कमाएका व्यक्तित्वहरुको कपी गरिएको थियो । तैपनि हामीबीच छोरीको नाममा सहमति जुट्न सकेन । त्यसपछि नातिनीको नाम राख्ने जिम्मा हजुरबाको हातमा पुग्यो । तर, हजुरबाले भनेको नाममा पनि श्रीमान् श्रीमतीको सहमति जुट्न सकेन । त्यसपछि फेसबुकमार्फत छोरीको नाम के राख्दा ठिक होला भनि सार्वजनिक सूचना गरियो । हाम्रो अग्रज, मान्यजन, साथीभाई, इष्टमित्रहरुवाट करिब ५ सय वटा नाम फेसबुकमा आए । ती नाममा पनि हामी दुईबीच सहमति हुन सकेन ।

हामीले सुची बनाएकोमध्ये एउटा नाम मलाई मन परेको थियो ‘पारामिता’ । तर, त्यो नाममा एलीजाजीको सहमति भएन । निकै लामो समयसम्म छोरीको नाममा हामी अल्मलिएका थियौं । अन्त्यमा एलिजाजीको एउटा प्रस्ताव आयो, छोरा भएको भए तपाईले राखेको नाममा मेरा लागि स्वीकार्य हुन्थ्यो, छोरी भएकाले म नाम राख्छु । त्यसलाई मान्नुपर्छ । मैले सहमति जनाए । स्कूलमा भर्ना गर्न छोरीको नाम राख्नैपर्ने थियो । त्यसपछि उनले हाम्री छोरीको नाम राखिन ‘स्तुति’ ।

हो, मलाई थाहा छ । मेरो छोरीको नाम राख्न त त्यति सकस परेको थियो भने प्रदेशको नाम राख्ने कुरा पक्कै पनि सहज छैन । तर, अब नराखी धर पनि छैन् । चार वर्ष वित्दा पनि हाम्रो प्रदेशले नाम पाएको छैन । सत्ताका लागि लुछाचुडी गर्ने हाम्रा राजनीतिक दलहरुले चार बर्षमा तीन जना मुख्यमन्त्री बनाउन भ्याए । तर, प्रदेशको नाम राख्न भ्याएका छैनन् । एक बर्षपछि जनतासँग भोट माग्न जानुपर्छ होला । त्यसबेला के भन्दै जाने ? जनतालाई फेरि नाम राख्नका लागि एक पटक भोट हालिदिनु परो भन्ने कि नाम राखेर जाने ? यसबारे दलहरु गम्भीर हुन आवश्यक छ ।

तीन वर्षसम्म प्रदेशमा नेकपा नाम गरेको राजनीतिक दलको सरकार थियो । उसको प्रदेशसभामा दुईतिहाईभन्दा बढि मत थियो । तर, त्यसबेला प्रदेशको नाम राख्ने इच्छाशक्ति किन आएन वा के बाधक बन्यो थाहा छैन । आज प्रदेश २ ले आफ्नो नाम ‘मधेस’ राखिसकेको छ । प्रदेश २ भन्ने वित्तिकै हामी र हाम्रा प्रदेशका नेताहरु बेग्लै विचारले हेर्ने र खसालेर बोल्ने बानी सबैमा छ । तर, आज प्रदेश २ ले देशका सातैवटा प्रदेशभन्दा हरेक कुरामा संघीयतालाई बलियो बनाउने गरी काम गरिरहेको छ । त्यसतर्फ सबैले एकपटक सोच्ने बेला आएको छ ।

हुन त अब हाम्रो प्रदेशले नाम पाउन निकै मुस्किल छ । ९३ जना संसद रहेको हाम्रो प्रदेशसभामा अहिले सत्ता गठवन्धनको मतसंख्या मुस्किलले ५० हो । प्रदेशको नाम राख्न दुईतिहाई अर्थात ६१ जना सांसदको समर्थन आवश्यक छ । सत्ताबाट बाहिरनु परेको पीडालाई एमालेले नामकारणमा बदला लिन्छ भन्ने अनुमान सबैको छ । हिजो एमालेकै मुख्यमन्त्री शेरधन राई र भीम आचार्य हुँदा गर्न नसेकेको काम अहिलेका मुख्यमन्त्री राजेन्द्र राईको पालामा भयो भने त्यसको जस एकीकृत समाजवादी, कांग्रेस, माओवादी केन्द्रले मात्र हैन संघीय समाजवादीदेखि लिम्बुवानसम्मले लिन्छन् भन्ने हिसाब एमालेको हुनसक्छ । यदि त्यसो भयो भने हाम्रो प्रदेशको नामाकरण हुनेछैन ।

तर, एमालेले छाती ठूलो बनायो भने असम्भव भने छैन । फेरि नाम के राख्ने भन्ने बारेको विवाद सबै दलहरुमा पक्कै छ । त्यसको उदाहरण मेरी छोरीको नाम राख्नसमेत सहमति जुटाउन गाह्रो परेको स्मरण छ । हामी त्यहि समाजमा छौं । त्यसैको उपज हाम्रो प्रदेशसभा पनि हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाम्रो प्रदेशको नाम कोशी राख्न प्रधामन्त्री हुँदा नै निर्देशन दिएको कुरा बाहिर आइसकेको छ । कोशी मात्र नाम राख्दा पहिचान समेटिदैन । त्यसैले कोशी–किरात राख्दा सबैको जित हुन्छ जस्तो लाग्छ । लिम्बुवान, सगरमाथा, मकालु जस्ता धेरै नाम चर्चामा छन् । तर, हामीलाई प्रदेश दुई बाध्यात्मक अवस्थामा पु¥याएको छ । अब हामीले जातीय पहिचान भुल्नु हुदैन । संघीयताको मुल मर्म पनि त्यहि हो जस्तो लाग्छ ।

त्यसैले हाम्रो प्रदेशको नाम अब कोशी–किरात राखेर अघि बढ्ने छलफल चलाउनु आजको आवश्यकता हो । सरकारको नेतृत्व गरेका दलहरुले यसको अगुयाइ गर्नुपर्छ । अब पनि खुट्टा कमाउने हो भने जनताले भोट हाल्ने बेलामा हात कमाउनेछन् । सबैलाई चेतना भया ।

आइतबार, ०९ माघ, २०७८

प्रतिक्रिया

  1. मननयोग्य , पठनिय समय सापेक्ष छ! सबैको एकमतले यहि नाम राख्दा कसैले अप्ठ्यारो वा अर्गेलाइ गर्नु उचित छैन!

  2. प्रदेश १ को नाम सगरमाथा प्रदेश हुनुपर्छ

    माथिको लेख नि ठिकै छ तर माथी लेखिएको एउटा वाक्यांशमा जातीय पहिचन बुल्नु हुन्न भन्दा गलत अर्थ लग्दैन र? नेपाल भहुजातिय देशमा जातीय कुरा उठाउनु कतिको औचित्यपूर्ण होलान् त??

  3. Sabai bhanda Best Koshi Pradesh/Sagarmatha Pradesh rakhda nai sabai bhanda ramro ho ni. Kirat /Bahun/limbuban bhanera matra Purba chinine haina ni. Chinaune ta tyaha bhayeko dharohar ra sampada le ho ni. Kirati harulai kirat pradesh hos bhanne lagnu swabhabik ho ani limbu harulai limbuban, madeshi lai madesh pradesh bahun harulai afnai kai bata hos bhanne lagnu… but desh ho ni haina kasaiko chhora-chhori ya nibash sthan ko name ta haina ni. Yaha basne ta sabai Nepali hun ni. Kina bibhed lyaune kura garney hora. ek sabda kai bhaye thik chha ni jasle purbi Nepal lai chinawos.

प्रतिक्रिया:

सम्बन्धित खवर