पुस्तकहरुको चाङमा एउटा पुस्तक छ–‘समयको बयान’ कवितासंग्रह । पुस्तकका सर्जक हुनुहुन्छ पत्रकारितासमेत गर्दै आउनु भएका यो समयका शक्तिशाली कवि मीनकुमार नवोदित श्रेष्ठ । ४२ वटा मर्मस्पर्शी, प्रयोगवादी, अग्र्यानिक र शक्तिशाली कविताहरुको संगालोको रुपमा ‘समयको बयानले’ साबिति बयान दिइरहेको छ ।
उसो त मीनजीको कवित्व अगाडि नै मुखरित भैसकेको छ, प्रमाणित गर्ने आवश्यकता नै छैन । झरीले रुझेको गाउँका भोलाभाला गाउँलेहरुसँग उहाँले उहिल्यै साक्षात्कार गरिसक्नु भएको छ । कुरुप समय देखेर दिक्क हुँदै उहाँ यसो भन्नुहुन्छ ।
‘कुरुप समयको शय्यामा
यतिबेला छट्पटाइरहेछ
रोगले ग्रस्त बूढो पृथ्वी
उपचार गर्न नसकेपछि
गालामा हात राखेर
प्रयोगशालाको कुनामा
झोक्राइरहेछ विज्ञान ।’
श्रमिक र इमान्दारहरुको पक्षमा काव्यशब्द मार्फत वकालत गर्नुहुने कवि आफैँले चुनेर सत्तारोहण गराएको शासकसँग क्रुद्ध हुनुहुन्छ ।
‘शासक सधैँ भगवान हुन खोज्छ
हरेक दिन
भगवानलाई जस्तै पुजून् भन्छ
साँझ–बिहान धुपबाती गरुन् भन्छ
सडक किनारमा लस्करै उभिएर
शिर झुकाएर नमस्कार गरुन् भन्छ
भक्तजनले झैँ
प्रशंसाको भेटी चढाऊन् भन्छ
भोकभोकै बसेर आफ्नै भजन गाऊन् भन्छ
घरको भित्ताभरि
आफ्नै तस्बिर टाँगून् भन्छ ।’
एक चिन्तनशील कविको रुपमा हामी मीनजीलाई देख्नसक्छौँ । कविताको विषय छनोटमा उहाँभित्रको ज्ञान निकै फराकिलो र विवेकी देखिन्छ । आकाशमा जून देखिँदा आफ्नी आमालाई सम्झिने कवि सशरीर शहरमा भए पनि त्यही आफू जन्मिएको ग्रामीण परिवेशमा बाँचिरहेको आभास हुन्छ । सुख र दुःख, हाँसो र आँसु, सत्य र असत्यको बीचमा आफन्तहरुसँग रमाइरहँदा कतै यो पृथ्वीको नै बिनास त हुने होइन भन्ने गहिरो पीर छ कविलाई ।
‘पृथ्वीलाई काँधमा बोकेर
मलामी जाने कोही रहने छैनन्
त्यही रातदेखि खोजी हुनेछ
मान्छेविहीन अर्काे पृथ्वीको ।’
आम मानिसहरुजस्तै कवि मीनजीमा पनि भावनाहरु जन्मिन्छन् । त्यसैले उहाँ दिक्क भएर कहिले भगवानको खोजीमा निस्किनु हुन्छ त कहिले आफ्नो प्रेमिल विगतलाई सम्झिएर प्रेमिकाको अनुहार र याद परेली र मुटुमा राखेको बयान दिनुहुन्छ । बाको गौरवले भरिएको झोला बोकेर आफ्नो अन्तिम इच्छा सार्वजनिक गर्नुहुन्छ ।
खोटाङको बतासेमा आजभन्दा ४० बर्ष अगाडि जन्मिएर आफ्नो कर्मथलो विराटनगरलाई बनाउनु भएका मीनजीको परिचयका लागि केही लेखिरहनु पर्दैन । उहाँको निरन्तर कर्मले उहाँलाई स्थापित गरेको छ । मलाई लाग्छ उहाँको कवितासंग्रहभित्र जब तपाईं पस्नुहुन्छ , धेरै कविताभित्र तपाईँले आफू स्वयंलाई पाउनु हुनेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।