प्रदेश २ को नाम ‘मधेस’ मा मतदान हुँदै, प्रस्ताव पारित हुने विश्वास

काठमाडौं । प्रदेश नम्बर २ को नाम ‘मधेस’ राख्नु पर्छ भन्ने प्रस्तावको पक्षमा आज प्रदेशसभा प्रदेश २ को बैठकमा मतदान हुँदैछ । आजै प्रदेशको राजधानी ‘जनकपुरधाम’ कायम गरेको प्रदेशसभा प्रदेश २ को बैठकले आजै नामको पनि टुंगो लगाउने भएको हो ।

बैठकमा पहिलो एजेण्डाको रुपमा प्रदेशको नाम ‘मधेस’ राख्नुपर्छ भन्ने प्रस्तावमा छलफल हुने भएको छ । उक्त प्रस्ताव पारित भए प्रदेश २ को नाम ‘मधेस’ हुनेछ ।

प्रस्ताव दुईतिहाइ बहुमतसहित पारित हुने मधेसवादी दलको विश्वास रहेको छ । यसअघि ‘मधेस’ नाममा कांग्रेस र एमालेको असहमति रहँदै आएको थियो । तर, वर्तमान सत्ता गढबन्धनका आधारमा कांग्रेसले पनि ‘मधेस’ कै पक्षमा मतदान गर्ने मधेसी दलको विश्वास छ । नेकपा माओवादी केन्द्रले यसअघि नै नाम ‘मधेस’ नै हुनुपर्ने पक्षमा छ ।

प्रदेश २ मा जसपाको ३९, नेपाली कांग्रेसको १९, लोकतान्त्रिक समाजवादी पार्टीको १६, नेकपा एकीकृत समाजवादीको १३, नेकपा एमालेको ८, नेकपा माओवादी केन्द्रको ८ र नेपाल संघीय समाजवादी पार्टीको १ प्रदेशसभा सदस्य रहेका छन् ।

प्रदेशको नाम राख्ने सवालमा वर्तमान सत्ता गठबन्धन एकमत हुने हो भने गठबन्धनको मत ७९ हुन्छ । उक्त संख्या दुईतिहाइ हो । तर, कांग्रेस र एकीकृत समाजवादीका सबै सांसदले ‘मधेस’ नाममा मतदान नगर्नेसमेत चर्चा हुने गरेको छ ।

सोमबार, ०३ माघ, २०७८, दिउँसोको ०४:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर