विराटनगर । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने विषयमा छलफल गर्न आज पनि संसदको बैठक बस्दैछ । यसअघि नाम र राजधानीको विषयमा सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समितिले संसदमा प्रतिवेदन पेश गरिसकेको छ ।
आइतबार बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य परमेश्वर साहले प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा नामाकरण र स्थायी राजधानीमा दलीय सहमति हुन नसकेको उल्लेख छ ।
प्रदेशसभामा राजधानीको दुई वटा प्रस्तावमध्ये बीरगंजलाई राजधानी बनाउनुपर्ने बताउँदै आएका बारा र पर्साका सांसदले जनकपुर अहिले नै अत्यधिक महँगो रहेको र राजधानी भएपछि झनै महँगो बन्ने टिप्पणी गरेका छन् । बारा र पर्साका सांसदले दिएको यस्तो प्रतिकृयाको धनुषाका सांसदले प्रतिउत्तर दिएका छन् ।
प्रदेशको नामाकरण र राजधानीको बिषयमा आज छलफल सकिएपछि मतदान प्रक्रियामा लैजाने तयारी प्रदेश सभाले गरेको छ । प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ जसपा र माओवादी तथा विपक्षी दल लोसपाले मधेश प्रस्ताव गर्दा कांग्रेसले मिथिला–भोजपुरा प्रस्ताव गरेको छ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गर्दा कांग्रेसकै सांसद राजेश्वर साहले मध्यमधेश प्रस्ताव दर्ता गराएका छन् ।
राजधानीका लागि जनकपुरधाम र वीरगंजको प्रस्ताव दर्ता भएको छ । दलहरुले आफ्नो अडान राख्दा पनि कसैसँग दुई तिहाइ छैन । कुल १ सय ४ सांसद रहेको प्रदेशमा जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको ८, एमालेको ८ र नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद छन् ।
मधेश प्रस्ताव दर्ता गराउने जसपाका ३९, लोसपाको १६ र माओवादीका ८ गरी ६३ सांसद पुग्छन् । यसमा एक मात्र सांसद रहेको नेपाल संघीय समाजवादीले पनि समर्थन गरेका छन् । तर नाम पारित गराउन दुई तिहाई बहुमत अर्थात् ७० सांसद चाहिन्छ । जो कसैसँग पनि छैन ।
प्रदेशको नाम मिथिला भए उत्तम हुन्छ।