विराटनगर । शिल्पी थिएटरले मोरङको सुन्दरहरैंचा नगरपालिकामा नाटक घर निर्माण गर्न जग्गा प्राप्त गरेको छ । सुन्दरहरैंचा नगरपालिकाले थिएटर निर्माण गर्ने प्रयोजनका लागि ५ कठ्ठा जग्गा शिल्पीलाई उपलब्ध गराएको हो ।
बुधबार शिल्पीलाई थिएटर निर्माण गर्ने प्रयोजनका लागि जग्गाको भोगाधिकार प्रदान गर्ने सम्बन्धी सम्झौता हस्तान्तरण गरिएको छ । नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल र प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद भट्टराईले सम्झौता पत्र शिल्पीका संस्थापक घिमिरे युवराजलाई हस्तान्तरण गरे । त्यसअघि तीनै जनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
शिल्पी थिएटरका निर्देशक घिमिरेले जग्गा प्राप्तिको निर्णयबाट आफूहरु उत्साहित भएको प्रतिक्रिया दिएका थिए । उनले संघीय सरकारको संस्कृति मन्त्रालय र प्रदेश सरकारको संयुक्त सहयोगमा एक वर्षभित्र नाटक घर निर्माण हुने पनि बताए ।
सुन्दरहरैंचा नगरपालिकाले नगरसभाबाट प्रस्ताव पारित गरेर जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । त्यस जग्गामा २५० सिट क्षमताको नाटक घर र ५०० सिट क्षमताको खुला थिएटर बनाउने योजना रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
सांस्कृतिक रूपमा स्थानीय सरकारको निर्णय कार्यान्वयन हुँदा बहुभाषिक, बहुसाँस्कृतिक विषयहरुले प्राथमिकता पाउने र संघीयता र स्थानीय तहका सरकारहरुको प्रभावकारिता अभिवृद्धि हुने निर्देशक घिमिरेले बताए ।