लोड हुँदैछ...

मेनु

ओमिक्रोनको डरै छैन

ओमिक्रोनको डरै छैन

नेपालमा कोरोनाले भयावह रुप लिएको धेरै भएको छैन । अस्पतालमा भेन्टिलेटर नपाएर बिरामी हजारांैको संख्यामा मृत्युसैयाँमा पुगेका थिए भन्ने कुरा आजको अवस्था हेर्दा पत्याउन गाह्रो होला । त्यस बखत नेपाल विश्वकै उच्च जोखिममा थियो । अवस्था यतिसम्म भयावह भयो कि मानौं कोरोनाले यहाँ मृत्युको बिगुल फुकिरहेको थियो ।

नेपालमा हालसम्म कोरोना कारण मृत्यु हुनेको संख्या ९५८२ पुगेको छ । भारतसँगको खुला सीमानाका कारणले पहिलो र दोश्रो महामारीको तुलनामा अबको सम्भावित महामारी झन् जोखिमपूर्ण हुन सक्छ । कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास ओमिक्रोनको तेश्रो भेरियन्टको महामारी अझ तीब्ररुपमा बढ्न सक्ने र जोखिमको अवस्था बढी हुने दाबी गर्छन् । तर, कोरोना विरुद्धको खोप लगाएपछि भने जोखिम केही कम भएको विज्ञहरुको भनाइ छ । नेपाल भारतबाट मात्र जोखिममा छ भन्ने कुरा भने होइन । विश्वका धेरै देशसँग सिधा सम्पर्क भएका कारण सबैतिरबाट उतिनै जोखिम छ । खुला बोर्डर र बोर्डरको नियमन र सुरक्षा प्रणाली कमजोर भएका कारण भने भारतबाट जोखिमको मात्र बढी भएको हो ।

आजभोलि मानिसहरुको चालचलन र व्यवहार हेर्दा विश्वमा कोरोना छैन कि जस्तो लाग्छ । कोरोनाको संक्रमण अहिले पनि नेपालमा छ र यसबाट मानिसहरुको मृत्यु हुने क्रमपनि जारी छ । तर, मानिसहरुमा डर हराउँदै गएको छ । कोरोनाको जोखिम सकिए जस्तो अनुभूति हुन्छ । मानिसहरुले अचेल मास्क लगाउन छोडेका छन् । मास्कबिनै हाटबजार डुलिरहेका हुन्छन् । कलेज र विद्यालयमा पनि अचेल मास्क लगाएका विद्यार्थी देख्न छोडिएको छ । खोप लगाएपछि कोरोनाको जोखिम छैन भन्ने गलत बुझाइले सुरक्षाका विधिहरु अपनाउन छोडिरहेका छन् । खोप लगाएकै कारण कोरोना संक्रमण नहुने होइन भनेर विज्ञहरुले भनिरहेका कुरालाई हामीले मनन् गरिहेका छैनौं । यस्तो व्यवहारले अब आउने महामारीहरु अझबढी जोखिमपूर्ण हुनसक्ने खतरा हुनसक्छ । जानीबुझी अटेर गर्ने हम्रो बानी र स्वभावमा परिवर्तन नगर्दा अहिलेका भन्दा कयौं बढी मानिसहरुको मृत्यु हुनसक्छ । यो कुरामा कोसी अस्पतालका मेसु दास पनि सहमत नै देखिन्छन् ।

सुरुसुरुमा मानिसहरुमा कोरोनाका सम्बन्धमा गलत धारणा व्याप्त थियो । त्यसले पनि प्रारम्भिक दिनहरुमा कोरोना केही होइन भन्ने भ्रम सिर्जना भयो । त्यसै कारणले क्षतिपनि धेरै भयो । पछि कोरोना विरुद्ध भ्याक्सिन लगाउन थालियो । भ्याक्सिनका विरुद्धमा पनि गलत धारणाहरु जनमानसमा प्रवाह भए । त्यसै कारण सुरुसुरुमा मानिसहरुले भ्याक्सिन लगाउन मानेनन् । त्यही बिचमा कोरोनाको दोश्रो लहर सुरु भयो । त्यसबेला पहिलो भन्दा धेरै क्षति हामीले व्यहोर्नु पर्यो । अबपनि हामी कमजोरी गरिरहेका छौं । यो प्रवृत्तिमा सुधार नगर्ने हो भने हामीले अरु धेरै क्षति व्यहोर्न नपर्ला भनेर भन्न सकिदैन ।

अहिले लापरवाही गर्नेहरु नपढेका मानिसहरु होइन पढेलेखेकाहरु नै धेरै छन् । उच्च शिक्षा अध्ययन गरेका, अझ स्वास्थ्य क्षेत्रकै शिक्षा लिएकाहरु, प्राविधिक शिक्षा लिएकाहरुलेसमेत लापरवााही गर्ने, गम्भीरता नदेखाउने जस्ता कमजोरी गर्नु दुखद् छ । कोरोना विरुद्धको भ्याक्सिन लगाएमा भविष्यमा गर्भवती नहुँने बाँझोपन बढ्ने जस्ता भ्रमपनि छन् । महेन्द्र मोरङ क्याम्पसको बि.ए. प्रथम वर्षमा अध्ययनरत सम्झना आचार्य, रोजीना उप्रेती लगायतका विद्यार्थीहरुले कोरोना विरुद्धको खोप लगाएनन् । उनीहरुमा पनि त्यस्तै भ्रमले काम गरेको थियो ।

त्यसैले हामीले कोरोना संक्रमण केही घटेको समयमा लापरवाहीको मात्रा बढाउँदै गएका छौं । हामीले परिवर्तन गरिसकेको बानी फेरी बदलेका छौं र पुरानै अवस्थामा फर्कने प्रयत्न गरिरहेका छौं । तर हामीले बिर्सेका छौं कि हामीले कमजोरी गर्दा, लापरवाही गर्दा दोश्रो महामारीको कालखण्डमा हामी मुस्किलले मात्र बाँचेका थियौं भनेर । त्यसैले हामी अरु केही समय कमजोरी नगरौं । सामाजिक दुरी अवलम्बन गर्ने, मास्क लगाउने र साधारण सुरक्षाका विधिहरु अवलम्बन गर्ने काममा ध्यान दिउँ । नत्र फेरिपनि हामी जोखिममा पर्नेछौं । त्यतिबेला हामीले मात्र दुःख पाउने छैनौं सारा देशले दुःख पाउने छ । देशको लगानी औषधि उपचार र जनताको जीवन रक्षाकै खातिर खर्च गर्नुपर्ने नराम्रो अवस्था आउने छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Bikash Jha
January 4, 2022 12:26 AM

Good Job

प्रतिक्रियाहरू बन्द छन्।