संघीय गणतन्त्रको रक्षाको जिम्मेवारी मधेशीको काँधमा : अध्यक्ष यादव

विभिन्न पार्टी परित्याग गरी सयौ नेता कार्यकर्ता जसपा प्रवेश

जनकपुर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेशी जनताको काँधमा रहेको बताएका छन् ।

जसपा नेपाल महोत्तरीद्वारा लोहारपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले जनआन्दोलन र मधेश विद्रोहको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी मधेशीको काँधमा जिकिर गरे ।

केपी शर्मा ओलीले संघीयता र गणतन्त्र मास्न गरेको प्रयासलाई आफुहरुले असफल तुल्याइ सकेको भए पनि खतरा अझै कायम रहेको भन्दै यादवले गणतन्त्रको रक्षाको लागि आफूहरु सदैब सजग रहेको बताए ।

पहिलो मधेश विद्रोहबाट सुरु भएको संघर्षको यात्रा अझै जारी रहेको यादवको भनाइ थियो । अध्यक्ष यादवले आवश्यकता परे पुनः सडक संघर्षमा उत्रने चेतावनीसमेत दिए ।

कार्यक्रममा जसपा कार्यकारणि सदस्य राजकिशोर यादवले मुलुकमा अझै कायम रहेको विभेदकारी राज्य सत्तालाई ढालेर समतामुलक राज्य निर्माणका लागी जसपा सदैब तयार रहेको बताए ।

कार्यक्रममा जसपा कार्यकारिणी सदस्य एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित वर्गको सम्मानको लागि जसपा प्रतिवद्ध रहेको बताए । राष्ट्रिय संरचनामा सबैभन्दा समावेशी पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी नै उत्पीडित वर्गको भरोसाको एकमात्र केन्द्र रहेको उनको दाबी थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी महोत्तरी निर्वाचन क्षेत्र नं. २ का सयौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई अध्यक्ष यादवसहितका नेताले अविर माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

सोमबार, २० मंसिर, २०७८, रातीको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर