विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरुले भोग्दै आएका विद्युत समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ ।
मोरङ व्यापार संघले बिहीबार नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई समस्याहरुलाई आठ बुँदामा सूचीकृत गर्दै समस्या समाधान गर्न माग गरेको हो । संघका अध्यक्ष प्रकाश मुन्दडाले प्रबन्ध निर्देशक घिसिङ र प्रदेश १ कार्यालयका निर्देशक समक्ष सुझाव पत्र बुझाएका हुन् ।
अध्यक्ष मुन्दडाले प्रस्तुत गरेका सुझावमा मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तरगत कटहरी गाउँपालिका सहित आसपासका क्षेत्रहरुमा ३३ केभिएलाइन जडान रहेतापनि विद्यूत आपूर्तिमा ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित विद्यूत आपूर्तिको समस्याले उद्योग सञ्चालन गर्न कठिनाई भएको, उत्पादन कटौती गर्न वाध्य भएको, उपकरण र कच्चा पदार्थ नोक्सान हुने गरेको भन्दै विद्युतकै कारण अर्बौंको नोक्सानी भइरहेको भन्दै गुणस्तर सुधारमा यथाशिघ्र ध्यान दिन आग्रह गरिएको छ ।
यस्तै विद्युत महशुल दर सोलार भन्दापनि महंगो भएकोेले घटाउनु पर्ने भन्दै त्यसले स्वदेशी उद्योगहरु को सम्बद्र्धनमा बल पुग्ने सुझाव संघले राखेको छ । सोलारबाट उत्पादित विद्युतलाई पनि खपतमा ल्याएर सहुलियत दिनुपर्ने, विद्युतको प्रशारणमा हुने नोक्सानी कम गर्न प्राविधिक सुधार गर्ने तर्फ तत्काल कदम चाल्न पनि संघले आग्रह गरेको छ ।
स्वदेशी उत्पादनको खपतलाई प्रोत्साहन गर्न मोरङ व्यापार संघले चलाएको ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई व्यवहारमा लागु गरी प्रवद्र्धन गर्न पनि आग्रह गरेको छ । साथै संघले, ठेक्का प्रकृयालाई सहज र सरल बनाउनु पर्ने, प्राधिकरणले उपभोक्ताहरुको मिटरबाट नियमित तथ्यांक संकलन गरेपनि छुटको नाममा एकमुष्ट अशुल गर्ने परिपाटी बन्द गर्नुपर्ने, र मिटर रिडिङमा कर्मचारीहरुको लापरवाही र त्रुटीको भार उपभोक्तालाई थोपर्ने प्रवृत्ति अन्त्य गरिनुपर्नेमा संघले प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।