कांग्रेसले प्रदेश १ संसदीय दलका नेतालाई भन्यो, ‘समाजवादीलाई मुख्यमन्त्री दिनु’

विराटनगर । प्रदेश १ को मुख्यमन्त्री नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लाई दिने सहमति भएको विषयमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले प्रदेश १ कांग्रेस संसदीय दललाई जानकारी दिएको छ ।

कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले आफूलाई आधिकारिक निकायबाट फोन आएको र समाजवादीको नेतृत्वमा सरकारमा जानुपर्ने जानकारी आएको बताए । ‘गठबन्धन कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफलमै थियौं,’ कोइरालाले भने, ‘केन्द्रबाट फोन आयो र समाजवादीले छोडेन सोही अनुसार गर्नु भन्ने निर्देशन भयो ।’

कोइरालाले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गठबन्धनमा छलफल हुने बताए । ‘पार्टीले माथिबाटै जानकारी गराएपछि सोही अनुसार हामीले छलफल र वार्ता सुरु गर्छौं,’ कोइरालाले भने, ‘प्रदेश प्रमुखको विषयमा भने पार्टीले अहिलेसम्म के गर्ने भन्ने विषयमा ठोस जवाफ दिएको छैन ।’

आजमात्रै प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिनेगरी बालुवाटारमा गठबन्धनको शीर्ष नेताले सहमति जुटाएका थिए । सोही सहमति अनुसार अब प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

दुबै प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार छ । प्रदेश १ मा भीम आचार्य भदौ १० र बागमतीमा अष्टलक्ष्मी शाक्य २ भदौमा मुख्यमन्त्री भएका थिए ।

तर ९ भदौमा एमाले विभाजन भएसँगै दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् । मुख्यमन्त्री आचार्यले भोलि २२ भदौमा विश्वासको मत लिने प्रस्ताव राख्दैछन् भने शाक्यले २४ असोजमा विश्वासको मत लिने छिन् । कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाको बहुमत भएकाले दुबै प्रदेशमा नयाँ सरकार बन्ने छ ।

बिहिबार, २१ असोज, २०७८, साँझको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर