कर्मचारीको बद्नियतले लाखौं राजस्व गुम्दै : व्यापारीलाई कारवाही, कर्मचारीलाई उन्मुक्ति

पटक–पटक कर्मचारीको बद्नियत देखिँदा पनि भन्सार प्रशासनले भने कर्मचारीमाथि कारवाही गर्न मात्रै होइन, छानविन गर्न समेत चाहेको छैन

विराटनगर । विराटनगर भन्सारका कर्मचारीको बद्नियतपूर्ण कार्यशैलीले लाखौं राजस्व गुमेका घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन् । तर, अहिलेसम्म सार्वजनिक भएका यी घटनाका दोषी कर्मचारीले भने उन्मुक्ति पाउँदै आएका छन् ।

यसअघि दुई महिनाको बीचमा दुई पटक लाखौं राजस्व छलेर सामान भारतबाट नेपाल भित्र्याएको पाइएको थियो । अहिले फेरि त्यस्तै घटना दोहोरिएको छ । कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा न्यून मूल्यांकन गरेर सामान भित्र्याउने दुई वटा व्यापारिक फर्म कारवाहीमा परेपछि यो घटनाको रहस्य खुलेको हो । यद्यपि व्यापारिक फर्ममाथि कारवाही भए पनि त्यसमा संलग्न भन्सार कर्मचारीहरु भने अहिलेसम्म जोगिएका छन् ।

पटक–पटक कर्मचारीको बद्नियत देखिँदा पनि भन्सार प्रशासनले भने कर्मचारीमाथि कारवाही गर्न मात्रै होइन, छानविन गर्न समेत चाहेको छैन । ‘पटक–पटक यस्तो गल्ती भेटिएको छ,’ भन्सार स्रोतले भन्यो ‘यदि चिफ साबले चाहने हो भने छानबिन हुनसक्छ । तर, उहाँले अहिलेसम्म यता चासो दिनुभएको छैन ।’ यसबारे विराटनगर भन्सार प्रमुख शिवप्रसाद भण्डारीलाई बुझ्न खोज्दा उनी सम्र्पकमा आउनै चाहेनन् ।

भन्सार कार्यालयदेखि निस्किएको सामानमा न्यून मूल्यांकन र ‘भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’ (भीसीटीएस) पनि नगरेको भेटिएपछि विराटनगरको शिवम मोर्टस पार्टस र मारुती हार्डवेयरलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले कारवाही गरेको हो । भिसिटिएस नगरी सामान आयात गर्ने फर्मलाई ३ लाख र न्यून मूल्याकंन गरी भन्सार छली गरेको कसुरमा ३ लाख १८ हजार रुपैयाँ जरिवाना गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दिपक खड्काले जानकारी दिए ।

जसमध्ये न्यून मूल्यांकन गरेर सामान आयत गर्ने मारुती हार्डवयेरलाई १ लाख ८० हजार र शिवम मोर्टस पार्ट्सलाई १ लाख ३८ हजार रुपैयाँ जरिवान गरिएको उनले बताए । असोज १३ गते साँझ भीसीटीएसमा गाडी नम्बर उल्लेख नगरी भन्सार जाँचपास गरेर यार्डबाट निस्किएको ३४ लाख मूल्यको कपडा, मोटर्सको पार्टपूजा र हार्डवेयरको सामान लोड गरिएको वीआर ३८ डी ३२४३ नम्बरको ट्रयाक्टरलाई सशस्त्र प्रहरीको रानी सीमा आउट पोस्ट (बिओपी) ले नियन्त्रणमा लिएको थियो । त्यसबेला ट्रयाक्टर चालक पंकज यादव पनि पक्राउ परेका थिए । एक साताभन्दा बढी लगाएर राजस्वले गरेको अनुसन्धानपछि भन्सार एजेन्ट गुलाफ साह र उनका प्रतिनिधि मन्टु साहले भीसीटीएस र आयात गरेको सामानको न्यून मूल्याकंन गराएर ल्याएको खुलेको हो ।

भन्सार एजेन्ट साह भन्सारका कर्मचारीलाई सेटिङ गरेर न्यून मूल्यांकन गराई राजस्व छली गर्न माहिर देखिएका छन् । भन्सारमा आएको मालवस्तुको जाँचपास र मूल्याकंन भन्सार अधिकृतले गर्दछन् । विराटनगर भन्सारमा आठ जना भन्सार अधिकृत छन् । राजस्वले कारवाही गरेको पत्र पनि विराटनगर भन्सार कार्यालय विराटनगरलाई पठाएको खड्काले जानकारी दिए ।

तीन साता अघि पनि भन्सार परिसरबाटै अवैध रूपमा सामान भित्र्याउने भन्सार एजेन्ट कृष्ण थापा र सामान आयात गर्ने फर्म पूर्णकृष्ण ट्रेडर्सलाई ५५ लाख रुपैयाँ धरौटी लिएर भन्सारले दुई महिनाका लागि निलम्बन गरेको थियो । यसरी भीसीटीएस नम्बर उल्लेख नगरी लाखौं मूल्यको सामान आयात गर्दा कम मूल्यांकन गरिने र भन्सार कर्मचारीसँग मिलेर राजस्व छली हुने गरेको राजस्व अनुसन्धानका अधिकारीहरूको भनाइ छ । भीसीटीएस प्रणालीअन्तर्गत इन्टरनेटबाटै व्यावसायिक फर्मले सामान ढुवानी कसरी गर्छन् भन्ने जाँच गरिन्छ ।

यो प्रणालीमा सामान ढुवानी हुनुभन्दा अघि के, कहाँ, कति, ढुवानीलगायत सबै विवरण प्रविष्ट गर्नुपर्ने नियम छ । ढुवानीको सुरुको बिन्दु र अन्तिम बिन्दुसम्म विभागले ट्रयाकिङ गरिरहेको हुन्छ । राजस्व चुहावटको सम्भावना कम गरेर राजस्व प्रशासनमा सुधार ल्याउने उद्देश्ले २०७६ साल साउन १ देखि अनिवार्य रूपमा भीसीटीएस लागू गरिएको थियो । सामान पुग्नुभन्दा अगाडि अनगोइङ र पुगेपछि डेलिभरीको सूचना अनलाइनमै प्राप्त हुन्छ ।

यसअघि साउन पहिलो साता पनि विराटनगर भन्सार कार्यालयका कर्मचारी र एजेन्ट मिलेमतोमा १८ लाख रुपैयाँ राजस्व छली गरेको पुष्टि भएको थियो । राजस्व अनुसन्धान कार्यालय इटहरीले कपडा र विभिन्न सामान बोकेका दुई ट्रयाक्टर नियन्त्रणमा लिएर अनुसन्धान गर्दा १८ लाख राजस्व ठगी भएको पुष्टि भएको थियो । राजस्व छली गरेको आशंकामा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काको नेतृत्वमा आएको टोलीले विराटनगरबाट विभिन्न सामग्री बोकेका को २ त ६८११ र बीआर५०जी ५०५३ नम्बरका ट्रयाक्टर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रारम्भीक चरणको अनुसन्धानदेखि भन्सार एजेन्ट प्रतिनिधि अकबर अलीले आयात गरेको सामानमा १४ लाख मूल्य बराबर कम मूल्यांकन र ४ लाख रुपैयाँ मूल्य बराबरको सामान भन्सार नै नतिरी ल्याएको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ । यसअघि अलीका एजेन्ट राजकुमार रौनियारले गत वैशाखमा एउटै प्रज्ञापनपत्रमार्फत दुई पटक १८–१८ लाख मूल्यका कपडा भारतबाट आयात गरेर भन्सार महसुल नतिरी भारतीय नम्बर प्लेटको बीआर ३८ जीए २६०६ पिकअप भ्यानमार्फत भन्सार परिसरबाट बाहिर निकाल्दा प्रहरीले पक्राउ गरेको थियो ।

बिहिबार, २१ असोज, २०७८, साँझको ०५:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर