प्रहरीकै मिलेमतोमा औषधि तस्करी !

विराटनगर । प्रहरीको मिलेमतोमा भारतबाट तस्करी गरी ल्याइएको ठूलो परिमाणको औषधि सशस्त्र प्रहरीले इलामबाट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालय सुनसरीबाट खटिएको विशेष टोलीले इलामको सूर्योदय नगरपालिका– २ स्थित लालिखर्क भन्ने स्थानबाट २८ पोका औषधि बरामद गरेको हो ।

भारतबाट तस्करीको माध्यमबाट औषधि भित्रिएको गोप्य सूचनाको आधारमा बाहिनी मुख्यालयबाट खटिएको विशेष टोलीले सोमबार राति स्थानीय काजी गोलेको ग्वाली घरमा लुकाएर राखेको औषधि बरामद गरेको डिआइजी कमल गिरिले जानकारी दिए । बरामद गरिएको १५ प्रकारका औषधिलाई करिब ४० लाख ४१ हजार ३५८ रुपैयाँ मूल्यांकन तोकेर मंगलवार पशुपतिनगर भन्सार कार्यालय बुझाइएको डिआइजी गिरिले बताए ।

औषधिको बजार मूल्य करिब ८० लाख ८४ हजार रुपैयाँ बढीको थियो। भन्सारले तोकिएको मूल्य भन्दा आधा मूल्यमा बुझेको बताइएको छ । भन्सारले बुझेको औषधि थप कारबाहीका लागि औषधि विभाग पठाउने जनाइएको छ । बरामद गरिएका औषधि नेपालमा प्रतिबन्धित नभए पनि तस्करी माध्यमबाट नेपाली बजारमा भित्राउने तस्कर समूहको योजना रहेको खुलेको छ । तस्कर समूहले इलामको हिले नाकाबाट सो औषधि भित्र्याएको हो । त्यसपछि बौद्ध धाम, फिक्कल हुँदै झापाका बजारसम्म ल्याउन त्यहाँ लगेर भण्डारण गरेको बुझिएको छ ।

– फाइल तस्बिर

मङ्गलबार, १९ असोज, २०७८, साँझको ०६:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर