विराटनगर । दुग्ध विकास संस्थानले नेपालीहरुको ठूला चाडपर्वको मुखैमा घ्यूको मूल्य बढाएको छ । डिडिसीले प्रतिकिलो ५० रुपैयाँका दरले मूल्य बढाएको हो ।
किसानसँग खरिद गर्ने दूधको मूल्य यथावत रहेको, विद्युत महशुललगायत लागत बढ्नेगरी कुनैपनि तत्वमा फेरबदल नआएको अवस्थामा आयोजनाले घ्यूको मूल्य बढाउँदा उपभोक्ताहरु प्रभावित भएका छन् ।
डिडिसीले प्रतिकिलो घ्यूको मूल्य ९५० रुपैयाँबाट बढाएर एक हजार रुपैयाँ पु¥याएको हो । यो मूल्य निजी क्षेत्रले उत्पादन गरी बजारमा बिक्री गर्दै आएको घ्यूको तुलनामा धेरै हो । निजी क्षेत्रका डेरी उद्योगहरुले अहिले पनि प्रतिकेजी ८५० देखि ९०० रुपैयाँसम्ममा गुणस्तरीय घ्यू बिक्री गर्दै आएका छन् ।
दुग्ध वितरण आयोजना विराटनगरका प्रमुख गणेश यादवले घ्यूको मूल्यमा प्रतिकेजी ५० रुपैयाँको दरले वृद्धि भएको जानकारी दिएका छन् । उनले घ्यू बाहेक नौनी, दही, दूध, तथा अन्य उत्पादनहरुको मूल्य भने यथावत रहेको बताए ।
दुग्ध विकास संस्थानले उपभोग्य समय सकिएको बटर बिक्री गरेर जनस्वास्थ्यमा खेलवाड गरेको भन्दै सर्वत्र आलोचना भएको केही समयमै घ्यूको मूल्यमा ५ प्रतिशत भन्दा बढीले वृद्धि गरेको हो ।