विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्यको हत्या सम्बन्धी मुद्दामा अन्तिम सुनुवाई सकिएको छ । आज फैसला आउने बताइएको छ ।

प्रतिवादी पक्षका कानुन व्यवसायी र वादी नेपाल सरकारतर्फका कानुन व्यवसायीको प्रतिरक्षा तथा प्रतिउत्तर बहस न्यायाधीश भरत लम्सालको इजलासमा सकिएको अब फैसलाको तयारी भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जङ्ग राणाले जानकारी दिए ।

दशैंअघि मुद्दाको किनारा लगाउने तयारी अदालतले गरेकोले आज मुद्दाको फैसला हुनेछ । दशैं बिदाका कारण बुधबारदेखि काम बन्द हुने भएकाले अदालतले आजै मुद्दाको फैसला गर्ने जनाएको छ ।

मुद्दाको अन्तिम सुनुवाइका क्रममा सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबू पोखरेलले बहस गरेका थिए । उनीहरुले दाबी बमोजिम प्रतिवादीहरुलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

मुद्दामा मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई बनाइएको छ । उनीसहित मुद्दामा ७७ प्रतिवादी रहेकोमा ५५ जना पक्राउ परेका थिए भने २२ जना अझै फरार छन् । फरार रहेकाको हकमा मुद्दा मुल्तवीमा रहनेछ ।

गोरेको समूहले दुबईबाट तस्करी गरेर २०७४ साल माघ ९ गते साढे ३३ किलो सुन काठमाडौं ल्याएकोमा उक्त सुन गायब भएपछि त्यसको खोजी गर्ने क्रममा २०७४ फागुन १८ गते सनमको हत्या भएको थियो । सुन तस्करको भरिया रहेका सनमको हत्यामा गोरेको प्रत्यक्ष संलग्नता रहेको भिडियो पनि सार्वजनिक भएको थियो ।

हत्यापछि भारततर्फ सनको शब लैजाने प्रयास गरिरहेको अवस्थामा प्रहरीले विराटनगरबाट बा १२ च ५९६३ नम्बरको स्कोरपिओमा शव बरामद गरेको थियो । त्यतिबेला गोरका चालक एवं सहयोगीहरु मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्की पक्राउ गरेका थित । सो प्रकरणको अनुसन्धान गर्ने क्रममा प्रहरीले विभिन्न मितिमा ३८ क्विन्टल सुन तस्करी भएको तथ्य फेला पारेको थियो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीले तस्करले सुन भित्राउँदा सहयोग गरेको अभियोग छ । नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, तत्कालीन एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल, हवल्दार अम्बरबहादुर थापा मगर, विष्णुबहादुर खड्कालगायत मुद्दामा प्रतिवादी छन् । मुद्दा चलाइएका प्रहरी अधिकारीमध्ये खत्री र राउत अहिलेसम्म थुनामै छन् ।

अभियोग अनुसार भुजुङ गुरुङ, डेबिट छिरिङ वाङ्गेल घले, हरिशरण खड्का, बेनु श्रेष्ठ तस्करीको सुनका लगानीकर्ता हुन् । गोरे समूहका मुख्य व्यक्ति श्रेष्ठकै ‘डिजाइन’मा सुन तस्करी हुने गरेको पत्ता लागेको थियो । सनमको हत्यामा खड्काको अप्रत्यक्ष संलग्नताको दाबी गरिएको छ ।
चेतन भनिने चेतनाथ भण्डारी, रामकुमार तिवारी, सुनील श्रेष्ठ, गीता श्रेष्ठ गोरेको समूहमा आवद्ध प्रतिवादी हुन् । नेपाल ल्याइसकेपछि हराएको सुन पत्ता लगाउने, त्यसका लागि गिरोह खटाउने र त्यो कुरो बाहिर लैजान नदिने विशेष जिम्मेवारी गोरेको समूहले भण्डारीलाई नै सुम्पिएको थियो ।

प्रतिवादीहरु कपिलराज पुरी, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, अम्मरमान ढंगोल, राजन थापा, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत र सम्वीरप्रसाद तोलाङ्गे तथा हेमन्त गौतम सुन तस्करीमा प्रयोग गरिँदै आएको थाइ एयरलाइन्सका कर्मचारी हुन् । तस्करी गरेर जहाजमार्फत ल्याइएको सुन विमानस्थलबाट बाहिर निकालेर गोरेको समूहलाई जिम्मा लगाउने भूमिकामा उनीहरु थिए ।

सुन व्यापारी आरके भनिने राजेन्द्रकुमार शाक्य, शैयद अकबर साह र मदन सिलवालले गोरेको समूहसँग तस्करीको सुन खरिद गरेको आरोप छ । तक्लु भनिने पुन्यप्रसाद लामा र एलबी भनिने लालबहादुर मगर तस्करीको सुन विमानस्थलबाट बाहिर निकाल्ने भूमिकामा देखिएका छन् ।
बाला दाइ भनिने बालकृष्ण खड्का र मोतीराम श्रेष्ठ गोरे समूहका सहयोगी हुन् । प्रमोदकुमार श्रेष्ठ र भोजे मामा भनिने भोजराज भण्डारी सुन विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने काम गर्थे । चाचाजी भनिने महावीरप्रसाद गोल्यान तस्करीको सुन भारत पु¥याउँथे ।

विनोद अधिकारी सुन तस्करीमा संलग्नता पुष्टि भएपछि दोस्रो पटक पूरक अभियोग दर्ता गरिएका अभियुक्त हुन् । तेस्रो पूरक अभियोगमा प्रभातकुमार अग्रवाल, विमल पोद्धार, आरडी राजु भनिने राजकुमार दारुका र डब्लु भनिने इम्तियाज उद्धिमलाई प्रतिवादी बनाइएको छ । मुद्दामा प्रतिवादी बनाइएकी नीरु भनिने नर्वदा खरेल गोरेकी पत्नी हुन् भने दुवईका ट्राभल्स एजेन्सी सञ्चालक ठाकुरप्रसाद ढुङ्गाना र अर्का अभियुक्त रोशन भनिने गुप्तलाल भुसाल नेपालतिर तस्करीको सुन पठाउने भूमिकामा देखिएका छन् ।

अनुसन्धान अनुसार गोरेको सवारी चालक रहेका लाक्पा शेर्पा र भारतीय नागरिक राजन कुमार तस्करीको सुन भारततिर ‘सप्लाई’ गर्न गिरोहलाई सघाउँथे । माधव भनिने मदन घिमिरे उर्लाबारीका व्यापारी सनमको हत्या हुनुअघि घटनास्थल पुगेको खुलेको छ । सनमको हत्यामा प्रयोग गरिएका सामग्री गोरेको समूहलाई उनैले बिक्री गरेका थिए ।

जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो । मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४०० रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी छ ।