उद्योग संगठन मोरङमा किन आइन् स्वीस राजदूत क्यापेलर ?

विराटनगर । नेपालका लागि स्वीस राजदूत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसँग औद्योगिक दक्ष जनशक्ति उत्पादनमा सहकार्यको सम्भावनाका विषयमा भेटघाट गरेकी छन् ।

उद्योग संगठन मोरङको समिति र स्वीस राजदूतबीच संगठनको सचिवालयमा सोमबार भएको भेटघाटमा स्विटजरल्याण्ड र नेपालबीच हुन सक्ने व्यवसायिक तथा व्यापारिक सम्बन्ध, लगानीको सम्भावना, प्रविधि हस्तान्तरणका साथै संगठनले सञ्चालन गरिरहेको सिप विकास कार्यक्रम लगायतका बिषयमा छलफल भएको हो ।

संगठनले अघि सारेको कार्यक्रमहरुको प्रस्तुति सुनिसकेपछि राजदूत क्यापेलरले स्वीस सरकारले धेरै पहिलेदेखि स्थानीय संस्थाहरुसँग यस्तै कार्यक्रमको अपेक्षा गरेको र आफूले बिगत आठ वर्षको अवधिमा पहिलोपटक उत्कृष्ट कार्यक्रम हेर्न र बुझ्न पाएको प्रतिक्रिया दिएकी थिइन् ।

छलफलका क्रममा उनले संगठनले सञ्चालन गरेको औद्योगिक प्रशिक्षार्थी तालिमको उपादेयताका बारेमा जिज्ञासा राख्दै उद्योगी आफैले प्रशिक्षार्थी छनौट गर्ने व्यवस्था नहुन्जेल यस्तो तालिम उपलब्धिमुलक नहुने भएकोले यस्का लागि पहल गर्न संगठनलाई आग्रह गरिन् ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले राजदुत क्यापेलरलाई संगठनमा स्वागत गर्दै नेपालमा स्विस लगानी भित्र्याउन, प्रविधि तथा ज्ञान आदानप्रदान गर्न, संगठन र स्वीस चेम्बरहरुसँग सहकार्य गर्नका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । अध्यक्ष प्याकुरेलले औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम संगठनको प्राथमिकतामा रहेको भन्दै उद्योगलाई चाहिने जनशक्ति उद्योगले नै तयार गर्ने विषयमा संगठन प्रष्ट रहेको उल्लेख गरे ।

कार्यक्रममा संगठनका बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, कोषाध्यक्ष बिपिन काबरा, कार्यसमितिसदस्य सुरेन्द्र गोल्छा, सञ्जयकुमार अग्रवाल, तारानाथ निरौला, प्रतिभा रिजाल ओली, शौरभ सारडा, सुदिप घिमिरे लगायत स्विस राजदुतावासका वरिष्ठ कर्मचारीहरुकोे सहभागिता थियो ।

सोमबार, १८ असोज, २०७८, साँझको ०५:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर